दुर्गा र मेरो पहिलो भेट उनकै घरमा भएको थियो । ०६० सालमा पहिलोपटक हाम्रो देखादेख भएको हो । झापामा उनको घर हाम्रा लागि सुरक्षित सेल्टर हुने गथ्र्यो । उनका दाजु हामीसँगै थिए । दाजुसँगै घरमा जाँदा उनलाई पहिलोपटक देखेको हुँ । सामान्य चिनजान भयो । बोलचाल खासै भएन । पार्टीको कामले जाने हुँदा पार्टीका कार्ययोजना, विद्यार्थी संगठनका कार्यक्रमका विषयमा छलफल हुन्थ्यो । म झापा जिल्ला विद्यार्थी संगठनका अध्यक्ष तथा केन्द्रीय सदस्य र पार्टीको जिल्ला सदस्य थिएँ । अलि धेरै जिम्मेवारी थियो ।

एकदम जोगिएर हिँड्नुपर्ने, काम गर्नुपर्ने हुन्थ्यो । बिस्तारै उनीसँगको भेट बढ्दै गयो । उनको घरमा आउजाउ गर्ने क्रम पनि बढ्दै गयो । यद्यपि उनीसँग खासै धेरै कुरा हुँदैन थियो । सामान्य के–कसो छ भन्नेभन्दा बढी हुन्नथ्यो । त्यसपछि उनी पनि सक्रिय हुँदै गइन् । कार्यक्रमहरूमा पनि भेट हुन थाल्यो । पहिलाभन्दा अलिक नजिक भएर बोल्न थाल्यौँ । एक–अर्कालाई नजिकबाट चिन्दै गयौँ ।

संगठन र पार्टीकै विषयमा कुराकानी हुन्थ्यो । मलाई उनी जिम्मेवार लाग्थिन् । कामको व्यस्तताले धेरै समयसम्म हाम्रो भेट भएन । त्यसपछि उनले मलाई चिठी पठाइन् । त्यो चिठीमा आफ्नो भावना लेखेकी थिइन् । त्यसवेला थाहा पाएँ, मेरो लागि उनको मनमा प्रेम रहेछ । चिठीमार्फत उनको भावना बुझेँ । र, मलाई पनि कताकता उनीप्रतिको फिलिंग्स यस्तै पो रहेछ भन्ने भयो । त्यसपछि उनलाई भेट्न गएँ । नयाँ जीवन सँगै सुरु गरौँ न त भन्ने भयो । तर, हामीमा चुनौती थियो ।

म तामाङ, उनी ब्राह्मण । हामीबीच धार्मिक, सांस्कृतिक, सामाजिक भिन्नता थिए । परिवारले के भन्लान् भन्ने डर थियो । उनका बुवाआमा अवकाशप्राप्त शिक्षक हुनुहुन्थ्यो । दाइ र हामी एकै पार्टीमा काम गरिरहेका थियौँ । तैपनि मनमा डर थियो । उता मेरो घरमा चाहिँ आमाबुवाले तिम्रो जिन्दगी हो तिमीलाई जे ठीक लाग्छ त्यही गर भन्नु त हुन्थ्यो, तर उहाँहरूको मनमा छोरोले आफ्नै जातको बिहे गरे हुन्थ्यो भन्ने सोच कताकता थियो ।

एक दिन आँट गरेर म उनको घरमा कुरा गर्न गएँ । हाम्रो सम्बन्धको बारेमा आमाबुवालाई भनेँ । हामीले विवाह गर्न चाहेको कुरा भनेँ । उहाँहरू सबैजनाले सहजै स्वीकार गर्नुभयो । अब हामी विवाह गर्ने भयौँ । तर, हाम्रो पार्टी तथा संगठनका पूर्णकालीन सदस्यसँग विवाह गर्दा युवायुवती पूर्णकालीन सदस्य भएको ६ महिना पुगेको हुनुपथ्र्यो । उनी त्यसवेला झापा जिल्ला विद्यार्थी सदस्य मात्र थिइन् । पूर्णकालीन भइसकेकी थिइनन् । त्यसलगत्तै उनी पूर्णकालीन सदस्य भइन् । उनी पूर्णकालीन सदस्य भएको ६ महिनापछि हामीले प्रगतिशील विवाह ग¥यौँ ।

०६० सालमा पहिलोपटक भेट भयो । ०६२ मा भावना साटासाट भयो । ०६३ साल फागुनमा विवाह ग¥यौँ । हाम्रो विवाहपछि मेरो पार्टीगत जिम्मेवारीले गर्दा काठमाडौं आउनुपर्ने भयो । सँगै आयौँ । अहिले हाम्रो विवाह भएको ११ वर्ष भयो । रमाइलोसँग दाम्पत्य जीवन बितिरहेको छ । अहिले हाम्री छोरी नौ वर्षकी भएकी छिन् ।

दुर्गा पनि कर्मचारी संगठनमा सक्रिय छिन् । म विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष भएको छु । एक–अर्कालाई सहयोग गर्छौं । भावना साटासाट भए पनि त्यसवेला घुम्न जाने, सिनेमा हेर्न जाने अवस्था थिएन । एक–अर्कालाई बढी समय दिने भन्ने अवस्था पनि थिएन । श्रीमती, परिवारभन्दा बढी पार्टी र संगठनको काममा समय धेरै बित्थ्यो । त्यसवेलाको संघर्षले नै आज यहाँ छु । त्यो पनि यथार्थ हो । तर, आजभोलि श्रीमती र छोरीका लागि पनि समय मिलाउने गरेको छु । कहिलेकाहीँ घुम्न, सिनेमा हेर्न जान्छौँ । समय मिलेसम्म भान्साको काम र लुगा धुने काममा सहयोग गर्छु । खुसी छौँ । एक–अर्काको काममा सरसल्लाह, सहयोग हुन्छ ।

अध्यक्ष, अखिल क्रान्तिकारी विद्यार्थी संघ

नयाँपत्रिकाबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय