भूमिगत कालमा प्रचण्डलाई काठमाडौंमा आश्रय दिने प्रभात किरण सुवेदी नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेसँगै धादिङको चुनावी परिणाम परिर्वतन हुने विश्लेषण गरिएको छ ।

आफूलाई उद्यमशील युवाका रुपमा चिनाएका प्रभात किरण (शिव) कुनै एक विशेषभन्दा पनि एमाले, माओवदी, राप्रपा तथा नयाँ शक्ति पार्टीका बीच पनि लोकप्रिय मानिन्छन् । धादिङ उद्योग बाणिज्य संधका पूर्वअध्यक्ष सुवेदी खेलकुद क्षेत्रमा पनि सक्रिय थिए । राष्ट्रिय ओलम्पिक कमिटिमा रहेर अनुभव सँगालेका सुवेदी धादिङका युवाबीच निकै रुचाइएका पात्र हुन् ।

आरोप र निन्दाको राजनीति भन्दा पनि उद्यमशीलता र सृजनशीलतामा जोड दिने सुवेदीको शैली र सक्रियताले यतिबेला धादिङमा प्रशंसा बटुलेको छ । जिल्लाभरि नै सुवेदीको व्याक्तित्व र सक्रियताको चर्चा हुन थालेपछि उनको जीत निश्चत भएको विश्लेषण गरिएको छ ।

त्यसो त उनी धादिङ निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा ‘ख’ तर्फ माओवादी नेता शालिकराम जमकट्टेलसँग चुनावी प्रतिस्पर्धामा छन् । रोचक कुरा त के छ भने सँगै जनयुद्ध लडेका र कुनैबेलाका आफ्ना ‘परम मित्र’ माओवादीका जमकट्टेलसँग उनको प्रतिस्पर्धा रहेको छ ।

थप रोचक कुरा यो पनि छ कि भूमिगतकालमा तत्कालीन विद्रोही पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई सुवेदीको गेष्टहाउसमा लैजाने व्याक्ति अरु कोही नभएर उनै शालिकराम हुन् । त्यस्तै, शालिकरामलाई माओवादी धारमा लैजाने व्याक्तिचाहिँ यिनै सुवेदी हुन् । स्कूल–जीवनमा सुवेदी जमकट्टेलभन्दा ३ ब्याज सिनियर थिए ।
उतिबेला सँगसँगै युद्ध लडेका यी दुई योद्धाहरू अहिले एकअर्का विरुद्ध अलग–अलग दलबाट चुनावी मैदानमा उत्रिएका छन् । सुवेदी स्थानीय चुनावभन्दा केही समय अघि मात्रै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । मिलनसार स्वभावका सुवेदी उम्मेदवारी दिएको क्षेत्रमा मात्र होइन जिल्लाभरि नै लोकप्रिय मानिन्छन् ।

माओवादीलगायत अन्य दलका कार्यकर्ताहरूको पनि धेरै भोट आउने भएकोले उनको जित्ने सम्भावना धेरै देखिएको छ । सँगैका साथीसँग उम्मेदवारी दिँदा कस्तो अनुभव भइरहको छ भन्ने प्रश्नमा सुवेदीले आफ्नै दाजुभाइ पनि फरक पार्टीबाट उम्मेदवारी दिन सक्ने बताउदै भने, ‘उम्मेदवारी दिँदैमा मित्रता सकिँदैन नि !’ उनले उद्यमशीलता र सिर्जनशीलताका लागि उम्मेदवारी दिएको बताए ।

यता जिल्लामा माओवादीभित्रै पनि गुटबन्दी गरेको आरोप खेपिरहेको जम्कटेललाई एमालेले साथ दिनेमा शंकैशंकाले सताएको बुझिएको छ । जम्कटेलको आफ्नै टोलका एमाले कार्यकर्ता रामबहादुर पण्डितको माओवादीद्वारा हत्या गरिएको द्वनद्वकालिन विषयलाई जनताले तुषको रुपमा लिएकाले पनि यो शंका ब्याप्त भएको हो । अहिले यी दुबै उम्मेद्वार युवा आकृष्ट गर्न लागिपरेका छन् । उद्यमशीलतामार्फत आफ्नै उद्योगद्वारा औद्योगीकरणको विकास गर्न सकिन्छ भन्ने सुवेदी र मजदुर शोषणको कुरा मात्र उठाउने जम्कटेलबीचको प्रतिस्पर्धा रोचक मानिएको छ ।

घटना र विचार बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय