अन्तैबाट निर्देशित छन् गोविन्द र सिटौला

– त्रिभुवनचन्द्र वाग्ले

तनहुँको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका आधिकारिक उम्मेद्वार वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टीका पूर्वमहामन्त्री गोविन्दराज जोशीले वागी उम्मेदवारी दिएपछि मुलुकैभर राजनीतिक तरङ् पैदा भयो । जोशीले आफ्नो राजनीतिक जीवन समाप्त गर्दै यस्तो निर्णय लिनुभयो । यस सन्दर्भमा धेरैको भनाई के छ भने खुमबहादुर खड्का, जोशी, जेपी आनन्द र चिरञ्जीवी वाग्ले भ्रष्टाचारी हुन् तर म समाजका घटनालाई समाज विज्ञानका तथ्य र कारणबाट पुष्टि गर्न रुचाउने भएकाले यसमा मेरो आफ्नै निष्कर्ष छ ।

माओवादीलाई दरबारले संसदीय राजनीतिमा स्पेस दिनका लागि कांग्रेसलाई ‘कर्नर’ पार्नु थियो । त्यसैले कांग्रेसका शक्तिशाली नेतालाई समाप्त गर्न पनि यस्ता प्रपञ्च भएका थिए । यो शृङ्खला गिरिजाबाबुसम्म तान्ने प्रयास भएको थियो । होइन भने आफ्नै पार्टीका मानिसले औपचारिक घोषणा गरेर भ्रष्ट शिरोमणि घोषणा गरिएका र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट एक क्वीन्टल सुन भित्र्याएका भनिएका वामदेव गौतमलाई कुनै कारबाही भएन तर कांगे्रसका खुमबहादुर जस्ता नेतालाई कारवाही गरियो । यसको पछाडि पूरै राजनीतिक कारण थियो, कांग्रेसलाई समाप्त पार्ने ।

यी प्रकरणपछि पनि नेता खुमबहादुर खड्का पार्टी राजनीतिमा सक्रिय हुनुुहन्छ । सक्दो योगदान गर्नुभएको छ । गत अधिवेशनमा पौडेलका विरुद्ध देखिए पनि खड्काले डिरेल भएको कांग्रेसलाई लिकमा ल्याउने प्रयास गर्नुभएको छ । पौडेललाई समर्थन वा विरोध गरेका आधारमा कसैको पनि मूल्याङ्कन गर्न हुँदैन, तर कृष्णप्रसाद सिटौला र गोविन्दराज जोशीहरू पौडेललार्इृ समाप्त गर्ने खतर्नाक एवम् प्रत्युत्पादक अभियानमा पार्टी हितविपरीत जानुभएको छ ।
झापा १ मा उपचुनावमा कसलाई टिकट दिने भनेर गिरिजाप्रसाद कोइरालाले विराटनगर निवासमा सल्लाह गर्दा नोना भाउजु, शेखर कोइराला, अशोक दाइका बीचमा नेता चक्र बाँस्तोलाले भन्नुभएको थियो– ‘गिरिजाबाबु, यो सिटौला कहिल्यै कांग्रेस होइन र हुँदैन पनि ।’ म भगवनामा विश्वास गर्दिनँ तर भगवानले ममाथि स्नेह गर्छन् भने चक्र बाँस्तोला र गिरिजाबाबुको अहिले संवाद गराइदिउन्, अनि दुबैले मूल्याङ्कन गर्नेछन् सिटौला कुन स्तरका कांग्रेस हुन् ।

भक्ति सिटौला, एउटा होनहार युवालाई कृष्ण सिटौलाकै कारण कांग्रेसमा रहन दिइएन । यसरी नै त्यस्तै प्रतिभाशाली नेता विश्वप्रकाश उनै सिटौलाको निरन्तर अमानवीय र अराजनीतिक लखेटाइमा पर्नुभएको छ । अहिले गिरिजाबाबुले देख्न सक्ने भए उहाँले अप्राकृतिक रुपमा अघि बढाएका सिटौला कांग्रेसबाट नै कोइरालाको आस्था धुलाइ गर्न उद्यत रहेको प्रत्यक्ष देख्नुहुन्थ्यो र बोल्न सक्ने भए चक्र बाँस्तोलाले सोध्नुहुन्थ्यो– ‘गिरिजाबाबु, तपाईंका प्रिय पात्र सिटौला कस्ता कांगे्रस रहेछन् ?’ सिटौला कांग्रेस कार्यालयबाट कोइरालाको तस्बिर मिल्ल्काउन उद्यत छन् । गिरिजाप्रसादको सपना र आस्था धुमिल गर्न चाहन्छन् ।

गोविन्दराज जोशीले पञ्चायतकालमा कांग्रेस बचाउन ठूलो योगदान दिनुभएको थियो । उहाँलाई धेरैले ‘जोशी सर’ भन्नुको कारण उहाँ त्यसबेला शिक्षक मात्र हुनुहुन्थेन, कांगे्रस पनि हुनुहुन्थ्यो । विनाशकाले विपरीत बुद्धि भनेझैँ अहिले जोशी सरले आफ्नो उन्नतिभन्दा पनि पौडेलको अवनतिमा आफ्नो उत्थानको सपना देख्नुभएको छ । जोशीले प्रतिनिधिसभामा आउने इच्छा राख्नुसम्मलाई राजनीतिमा अन्यथा भन्न हुन्थेन, तर पौडेल वा गिरिजाबाबुको लिगेसीविरुद्धमा अर्थात् नेपाली कांग्रेसमाथि नै जाइलाग्नुले जोशीप्रति कार्यकर्तामा रहेको क्षीण दया पनि समाप्त भएको छ । नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टीको महाधिवेशनदेखि एउटा निर्देशित, प्रयोजित र कतैबाट हुर्काइएको, पालिएको, पुल्पुल्याइएको ‘अधियाँ’ शक्ति लागिरहेको छ । यसैको शृङ्खला हो तनहुँको क्षेत्र नं. १ को वागी उम्मेदवारी प्रकरण ।

तनहुँ जस्तो क्षेत्रमा कांग्रेसको पराजय भयो भने नेपाली प्रजातान्त्रिक आन्दोलन नै कमजोर हुनेछ । जहाँसम्म पौडेलको कुरा छ उहाँ जनता र मतदाताबीच लोकप्रिय रहेकाले कसैले चाहेर पनि हार्नुहुने छैन । उहाँ आगामी दिनमा पनि कांग्रेस र देशको राजनीतिक विन्दुमा नै हुनुहुनेछ । किसुनजीले चुनाव हारेर पनि नेपाली राजनीतिमा हार्नुभएन । पौडेल अहिले तनहुँको सम्भावना अर्थात भावी प्रधानमन्त्रीका रूपमा देखिनुभएकाले पनि उहाँका विरुद्ध सबैखाले प्रतिक्रियावादीको गठबन्धन हुनु अस्वाभाविक होइन । यसलाई बुझेर वरिष्ठ नेता पौडेलले चौडा छाती, सुस्त संगठन र थप जुझारु नेतृत्वसहित अगाडि बढ्नैपर्छ । उहाँले कतिपय सन्दर्भमा आफ्ना विगतलाई सच्याउनुपर्ने देखिएको छ, खासगरी संगठन र कार्यकर्ता मूल्याङ्कनको सन्दर्भमा ।

वीपीले भन्नुहुन्थ्यो– नेपालमा दरबारपछि कांग्रेसमाथि प्रहार हुनेछ । यो कुरा दरबारले बुझेन र कांग्रेस समाप्त पार्छु भन्दाभन्दै दरबार समाप्त भयो । नेपाली नेताले राजतन्त्र र राजसंस्था बुझेनन् । यस्तो बुझाउने प्रयास गर्नुको सट्टा कांग्रेसलाई मुठार्ने अभियानमा कम्युनिष्टलाई दरबारले पुल्पुल्यायो । माओवादी द्वन्द्वलाई समेत दरबारले सहयोग ग¥यो । नेता पौडेलले सबैभन्दा पहिला ‘माओवादीको परमधाम निर्मल निवास हो’ भनेर शत्रु कमाउनुभएकै थियो । अहिले मुलुकभित्र प्रत्यक्ष राष्ट्रप्रमुखसहितको जङ्गी–जनवादको सपना देखिएको छ । प्रजातन्त्रवादीहरू एकजुट हुनपर्ने वर्तमान अवस्थामा कांग्रेसभित्र मुखिया र खरिदार हैसियतका लेखन्दासहरूले पनि शक्तिकेन्द्र बनाउने मोह राखेका छन् । यिनीहरु भित्रभित्रै र बाहिर अन्य आन्तरिक बाह्य शक्ति कांग्रेस र प्रजातन्त्रको विरुद्धमा देखिएका छन् ।

भारतीय अदालती अभ्यासलाई हेर्ने हो भने गोविन्दराज जोशी निर्वाचनका लागि योग्य हुनुहुन्न । नेपालमा रहेको ‘अन्तिम फैसला’ भन्ने लुप होलबाट बचेर उम्मेद्वार हुन पाउनुभयो भने पनि सबैभन्दा ठूलो अदालत जनता नै हुन् । सबैभन्दा ठूला र अकाट्य न्यायधीश जनता नै हुन् र यस्तो अवस्थामा गोविन्दराजलाई जनताले उचित साइजमा राख्नुपर्ने हुन्छ । (नोट : अवैधानिक करार दिएर जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ ।)

गोविन्दराज जोशीको विगत बारेमा धेरै आलोचना गर्नुपर्ने अवस्था छैन । उहाँ के हो कस्तो हो भन्ने बारेमा मतदाता विज्ञ छन् । जोशीले पनि आफ्नो धराताल हेर्नुपर्छ । मुलुकभर उहाँलाई कसरी हेरिन्छ ? बरु जोशी चुपचाप रहेका भए उहाँमाथि राज्यबाट सुनियोजित रुपमा भएका अन्यायप्रति तनहुँका कांग्रेसीहरु संवेदनशील रहने थिए । यो निर्णयले जोशीलाई राजनीतिक रुपमा समाप्त गरेको छ । यो चुनावको बेला छ । प्रजातन्त्र र अधिनायकवाद उन्मुख जनवादी शैलीको परम्परागत कम्युनिष्ट शासनतिर देशलाई लैजाने शक्तिबीचको चुनाव हो यो । यस्तो अवस्थामा जोशीका समर्थकले पनि गम्भीर भएर सोच्नुपर्छ कि पौडेलको पराजयमा जोशीको विजय हुने होइन ।

पौडेलसँग रहेका गुनासा र असहमति कुनै औपचारिक र आधिकारिक फोरममा बसेर पेट माझामाझ गर्न सकिन्छ । पौडेल विजय हुनभएको यो क्षेत्र नेपाली कांग्रेसका कुनै पनि आगामी पुस्ताका लागि सुरक्षित रहने छ, तर अहिले नै कांग्रेसलाई हराइयो भने, पौडेललाई हराइयो भने कसैका लागि पनि यो क्षेत्र सुरक्षित हुने छैन । कुरो पौडेलको र जोशीको मात्र होइन– तनहुँ, कांग्रेस, प्रजातन्त्र र आगामी सम्भावनाको पनि हो । घटना र विचार बाट सभार

फेसबूक कमेन्ट्स