भावुक हुदै लेखिएको एउटा खुलापत्र फेरी नवराज सिलवाललाइ ! यस्तो छ त्यो पत्र

नवराज सर तपाईंको कथा म लेख्छु । तपाईंले फेसबुकमा कतै भावुक भएर मेरो जीवन यात्राको कथा कसले लेख्छ भन्ने कुरा पढेपछि मैले केही लेख्ने सोच बनाएँ ।

तपाईंको यति लामो जीवनमा घटेका घटनाका बारेमा मलाई केही थाहा छैन । मात्र तपाईंको लामो जीवनको छोटो प्रसंग जुन प्रसंग मसँग, समाजसँग र देशसँग जोडिएर आएको छ, तीबारे सानो आँखीझ्यालले देखेको कुरा लेख्दै छु ।

यो कथा सुरु हुन्छ झन्डै १०/१२ वर्षअघि । त्यसबेला माओवादी जनयुद्धको मैदानमा थिए । त्यस समय तपाईंको एउटा कथा साझा प्रकाशनद्वारा प्रकाशित गरिमामा छापिएको थियो । म पनि त्यस समय साहित्यिक साधना र अध्ययनमा युद्धस्तरमा लागेकी थिएँ । तपाईंले देशप्रेमको भावना ‘कारगिलको युद्ध’ कथामार्फत सशक्त पाराले देखाउनु भएको थियो । तपाईंले पात्रमार्फत देखाउनु भएको देशप्रेमको भावनाले म अति प्रभावित भएँ । त्यस पात्रलाई जीवित बनाउन मैले अर्को कथा विनिर्माण गरी लेखे । यसरी तपाईंसँग छोटो साहित्यिक सम्बन्ध गाँसिएको थियो ।

तपाईंको विषयमा मलाई खासै केही ज्ञान थिएन । एउटा कथाकार र नेपाल प्रहरीको अधिकृत भन्ने मात्र थाहा थियो । एकपल्ट एउटा साहित्यिक कार्यक्रममा हाम्रो सानो भेट भयो । त्यस सानो भेटमा उही कथाको विषयमा छोटो चर्चा भयो ।

म मेरो १७ वर्षे जागिर छोडेर तन्मयका साथ काठमाडौंमा आएर साहित्यिक क्षेत्रमा लागिपरेँ । विभिन्न देशको समाचार र नेपालको राजनीति र सामाजिक घटनाहरू थाहा पाउने क्रममा थाहा भयो तपाईं नेपाल प्रहरीको प्रतिभावान्, कर्मठ, निडर र नैतिकवान् अधिकृत हुनुहुँदो रहेछ ।

मैले थाहा पाउँदै गएँ, तपाईं डीआईजी भएर मेरो जन्मथलो पूर्वाञ्चलको प्रमुख भएर जानुभएको छ भनेर । तपाईं त्यहाँ जानु भएपछि त्यहाँ प्रहरी सेवालाई लोकप्रिय र सफल बनाउन तपाईं खेल्नु भएको भूमिकाहरू म समाचारहरूमा पढ्न थालेँ । हुन त मैले थाहा पाएभन्दा धेरै राम्रा कामहरू तपाईंले त्यहाँ गरेको हुनसक्छ । तर मैले थाहा पाएको कुराले म कति खुशी थिएँ । तपाईंले टोलटोलमा सुरक्षाका लागि राति प्रहरी परिचालन गर्ने नियम बनाउनु भएको थियो । प्रत्येक महिना इमानदार, नैतिकवान्, कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान गर्ने चलन चलाउनुभयो । भ्रष्टाचारी, घुसखोरी र नैतिकहीन प्रहरीलाई दण्डित गर्ने चलन चलाउनुभयो ।

त्योभन्दा खुशीको कुरा मलाई केमा लागेको थियो भने मेरो जन्मभूमि धरानमा र कर्मभूमि इटहरीमा धेरै युवाहरू लागूपदार्थका दुव्र्यसनी थिए । लागूपदार्थ ओसारपसारलाई रोक्न तपाईंले ठूलो अभियान थाल्नुभयो । मेरो कर्मभूमि इटहरी एकताका यौनअखडाको दुर्गन्धित सहर भइसकेको थियो । यसको लागि तपाईंले ठूलो पहल गरेर जरैदेखि उखेल्नुभयो । त्यससमयताका यौन व्यापारमा मुछिएका तीन होटलका सञ्चालकलाई जेल पु¥याईकन छोड्नुभयो । यी कुरा मैले समाचारमा पढेमात्र होइन, आफ्नै आँखाले देखेँ पनि ।

म एउटा संस्थामा काम गर्ने साना भाइबहिनीहरूको शिक्षिका थिएँ । त्यस बखत स्कुल जाँदा आउँदा राजमार्ग हुँदै जानुपर्दथ्यो । जब देशमा लोकतान्त्रिक गणतन्त्र आयो तब राजमार्गको दुवैतिर भकाभकी होटल र गेस्टहाउस खोलिन थाले । म सोच्दथेँ यो मानवबस्तीभन्दा टाढा ठाउँमा कहाँका मानिस आएर खाना वा खाजा खाँदा हुन् । म त बालबालिकालाई नैतिक ज्ञान दिने, आदर्शका कुरा सिकाउने, ईश्वरीय ज्ञान दिने साधारण शिक्षिका थिएँ । यस्ता समाजमा बाहिर हुने कतिपय अनैतिक कामहरू मलाई पटक्कै थाहा थिएन । मैले पनि जागिरमा कर्मठ र इमान्दार भएर लाग्दा तपाईंको जस्तो भोगाइ भोग्नु प¥यो । मैले पनि जागिरबाट तिलाञ्जलि दिएर कलमको सहारा लिन पुगेँ । जब म बाहिरी संसार आएँ तब मलाई हाम्रो समाजमा खेलिने अनेकौँ फोहोरी र दुर्गन्धित खेलबारे थाहा हँुदै गयो । ती राजमार्गमा खोलिएका होटल र गेष्टहाउसका रहस्य थाहा हुँदै गयो । हाम्रो काका, मामा, दाजु आफन्त तिनै होटलमा गएर गणतन्त्रले थाम्न नसक्ने यौवनाहरूको यौवनमा आफ्ना भएभरका सम्पत्ति लुटाउँदा रहेछन् । छोराछोरी पढाउने फिस, खुवाउने औषधि, दूध, फलफूल त तिनै होटलमा लुटिँदा रहेछन् । घरमा श्रीमान्श्रीमतीको झगडा किन हुन्छ भन्दा तिनै होटल र गेष्टहाउस रहेछन् । विदेश जाने हजारौं युवाको पसिनाले पो त्यो होटलहरू मोटाउँदै गएका रहेछन् भन्ने कुरा मैले बल्ल बुझ्न थालेँ । पछि जब म इटहरी गएँ, ती राजमार्गका होटल र गेष्टहाउसहरू सबै बन्द गरिएको पाएँ । मलाई कति खुशी लाग्यो । यो तपाईंले लेखनमा लेखिएको आदर्श र राष्ट्रप्रेमले भरिएको कथा मात्र थिएन । यो त व्यवहारमा अवतरण गरिएको कथा थियो ।

तपाईंको अर्को कमजोरी भनेको शक्तिशाली व्यक्तिको दाहिने हुन सक्नु भएन । तपाईंले शक्तिलाई पूजा गर्न जुनसुकै परिस्थितिमा पनि छेपारोले जस्तो रङ्ग फेर्न सक्नुभएन । यो पनि एउटा कला हो । यो कला तपाईंले जीवनको रगमञ्चमा कहीँ कतै सिक्नुभएन । 

ती निर्दोष बालबालिकाको आत्माले तपाईंलाई कति धेरै आशीर्वाद दिए होलान् । जसका बुवाहरू ती भट्टीमा समय र पैसा सकेर आएर आमाहरूलाई चुट्दथे । जुन कुरा मैले मेरो आँखाले देखेकी थिएँ । एउटा सभ्य र सुसंस्कृत समाजमा विकृतिको रूपमा फैलिएको यस्ता कुकृत्यलाई तपाईंले कति सजिलै निरुपण गर्नुभएको थियो । गर्दा हुने रहेछ अन्य अधिकृतहरूले किन नगरेका होलान् ? उनीहरूलाई महिनावारी र हप्तावारी बुझ्दा नै भ्याई नभ्याई थियो होला । तपाईं प्रहरी सेवालाई नै समाजमा लोकप्रिय र प्रशंसा गर्न लायक बनाउन तन्मय साथ लाग्नु भएको थियो ।

तपाईंको पोस्टिङ पूर्वाञ्चलबाट काठमाडौँ भयो । काठमाडौँ आएर पनि तपाईंले नक्कली सर्टिफिकेटवालाको निदहराम गर्नुभयो । निदहराम मात्र होइन, यसरी नक्कली सर्टिफिकेटमा डाक्टरजस्तो सम्मानित जागिर खानेहरूलाई ठूलो धक्का दिनुभयो । यो तपाईंको अर्को ऐतिहासिक विजय थियो । त्यस्तै दुवईबाट आउँदै गरेको ३३ किलो सुन तपाईंको कमान्डले समाएर अर्को लोकप्रिय र जनताले गर्व गर्ने काम गर्नुभयो । यसरी अपराधीहरूलाई दण्ड दिने र समाउने क्रममा तपाईंले कति धम्की र त्रास खेप्नु प¥यो होला । जिन्दगी नै तरबारको धारमा राखेर हिँड्नु प¥यो होला । आदर्श खोक्ने मानिस यो समाजमा मैले धेरै देखेको छु तर व्यवहारमा ल्याउने चाहिँ कमै देखेको छु । किनकि आदर्श र सत्य अति कडा हुन्छ यो पचाउन मानिसलाई हम्मे पर्छ । अनि समाजमा मानिसलाई बाँच्नै गाह्रो हुन्छ । हामीले हाम्रो प्रतिष्ठानबाट तपाईंको समाजप्रतिको निष्ठा, योगदानको कदर गर्दै पुरस्कृत पनि गरेका थियौं ।

तपाईं एउटा बेग्लै विचार, धार र स्वाभिमान बोकेर आउनुभयो जुन कुरा तपाईंको संस्थाका मान्छेले नै पचाउन सकेनन् । किनकि उनीहरूलाई थाहा छ योे सत्यसँग खेल्ने उनीहरूसँग औकात नै छैन । कुशासनमा रमाउनेहरू कतिपय तपाईंका विरोधी भए अनि साँच्चै तपाईंमाथि राजनीति भयो । तपाईंको सत्यविरुद्धमा अरू महिषासुर लागे । तर तपाईं डराउनु भएन । अन्याय गर्नुभन्दा अन्याय सहनु अपराध हो भनेर तपाईं न्यायको खोजीमा लाग्नुभयो । तर पनि तपाईंलाई झन् प्रताडित गर्न महिषासुरहरू कम्मर कसेर लागे । यसरी महिषासुरहरू तपाईंका पछि हात धोेएर लाग्नका पछाडि तपाईंका केही व्यक्तिगत कमजोरीहरू थिए । ती कमजोरी निम्न छन् ।

हाम्रो समाज यस्तो एउटा छट्टु कथाबाट सुरु हुन्छ । एकपल्ट महादेवले गणेश र कुमारलाई जो पहिला पृथ्वी परिक्रमा गरेर आउँछ उही सर्वश्रेष्ठ हुन्छ भनेर भन्नुभयो । बाठा र छट्टु गणेशले बुद्धि खियाए र महादेव पार्वतीको परिक्रमा गरी महादेवलाई खुशी बनाए । सोझा कुमार इमान्दारका साथ सुमेर घुम्न निक्ले । यस्तै कथाले हाम्रो समाजमा स्तुतिबाज र चाकडीबाजको एउटा ठूलो वृक्ष जरा गाडेर बस्यो । ठूलाबडाहरू आफूलाई भगवान्सरह ठान्ने र हरदम शक्तिको चाकडी र आरती खोज्ने तर तपाईंले यसको विपरीत एउटा आत्मालाई भगवान् ठान्नुभयो अनि आत्माको पूजा र सम्मान गर्नुभयो । कहिल्यै आत्मालाई ढाँट्ने, छल्ने गर्नुभएन किनकि आत्माले स्तुतिगान र चाकडीबाज होइन इमान्दारिता, लगनशीलता र प्रतिभालाई प्रमुख ठान्दछ ।

तपाईंको अर्को कमजोरी भनेको धनसम्पत्ति ऐश्वर्यलाई भन्दा ज्ञान, सीप, प्रतिभालाई महत्व दिनु हो । धनसम्पत्ति ऐेश्वर्यको माया गर्नुभएको भए अरू भोकाएका सिंहलाई आहारा खुवाउन सक्नुहन्थ्यो अनि तपाईंसँग उनीहरू खुशी हुन्थे । तर तपाईंले त्यसो पटक्कै गर्नुभएन ।

तपाईंको अर्को कमजोरी भनेको अन्यायको विरुद्ध लड्नु भयो । हिजो तपाईंजस्तै अन्यायमा परेकाहरू चुपचाप आफ्नो भाग्यलाई धिक्कार्दै बसेका छन् । तर तपाईंले अन्यायका विरुद्ध आवाज उठाउनुभयो । अन्याय गर्नुभन्दा अन्याय सहनु ठूलो अपराध ठान्नुभयो । हिजो अपराधका लागि आफ्नो जिन्दगी नै दाउमा लगाएर हिँड्नु भएको तपाईंले यो अपराध स्वीकार्नु भएन ।

तपाईंको अर्को कमजोरी भनेको शक्तिशाली व्यक्तिको दाहिने हुन सक्नु भएन । तपाईंले शक्तिलाई पूजा गर्न जुनसुकै परिस्थितिमा पनि छेपारोले जस्तो रङ्ग फेर्न सक्नुभएन । यो पनि एउटा कला हो । यो कला तपाईंले जीवनको रगमञ्चमा कहीँ कतै सिक्नुभएन ।

तपाईंका यी कमजोरीका कारण तपाईंमाथि राजनीति भयो । त्यसैले तपाईं राजनीतिमा लाग्नु भयो । तर त्यहाँ तपाईं कसरी टिक्नु हुन्छ ? कसरी आफ्नो अनुकूल बनाउनु हुन्छ ? राजनीतिमा माथि अर्को राजनीति नहोला भन्न सकिन्न ।

नेपालको राजनीति भनेको मलाई ठूलाठूला साढेहरू हिलोमा शक्तिका लागि लडिरहेको जस्तो लाग्छ । तपाईं कसरी बुझ्नु हुन्छ ? कसरी यसलाई आफू अनुकूल बनाउनु होला समयले बताउला ।

हुन त तपाईंसँग मेरो कुनै प्रत्यक्ष सम्बन्ध छैन । म कुनै पार्टीमा आबद्ध पनि छैन । विगतमा महाभूकम्पले थिलथिलो पारेको काठमाडौंलाई भारतले नाकाबन्दी गरेर जुन तनाव दियो, त्यस तनावलाई राजनेता केपी ओलीज्यूले जुन साहसका साथ किनारा लगाउनुभयो त्यसपछि नेकपा एमालेप्रति मेरो विश्वास र आस्था बढेको छ । तपाईंले एमाले प्रवेश गरेको समाचार पढेर मलाई खुशी लाग्यो । किनकि मजस्ता धेरै जनतालाई अब एमाले नै देशलाई सही दिशामा लैजान्छ भन्ने विश्वास जागेको छ । कांग्रेस सरकारले गरेका धेरै गल्तीको कारण नै जनताको प्रिय पार्टी एमाले भएको छ । अझ माओवादीसँग मिलेर एमालेले जुन गठबन्धन बनाएको छ यो गठबन्धनले देशलाई अझ समृद्धितिर लैजान्छ भन्ने जनतामा आशा पलाएको छ ।

हुन त राजनीतिलाई शौचालय र साहित्यलाई भोजनालय भन्ने गरिन्छ । तर तपाईंले ममाथि राजनीति भयो त्यसैले म राजनीतिमा लागेको भन्ने जुन अभिव्यक्ति दिनुभयो, त्यसले लाग्छ तपाईंभित्रको देशप्रेम भावना अझ सुदृढ भएर जागेको छ । नेपालका राजनीति पार्टीले नेपालीलाई खासै खुशी र सन्तुष्टि दिन सकेनन् बरु उल्टै वितृष्णा, बेरोजगार र अभाव मात्र दियो जसले गर्दा ६० लाख नेपाली युवाहरू घरपरिवारबाट टाढा खाडीको तातो हावा खान बाध्य भएका छन् । धेरै प्रतिभावान् युवा विदेश पलायन हुन बाध्य भए । हाल आएर वामघटक एक भएको देख्दा अबचाहिँ देशमा शान्ति सुविस्ता र स्थिरता आउँछ कि भन्ने हामीजस्तो सर्वसाधारण जनतालाई आशा जागेको छ । यस गठबन्धनले नेपालको राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । भनौं एकप्रकारको भूकम्प आएको छ । कतै यो भूकम्प सत्यको त्यही सानो झिल्कोले ल्याएको होइन भनेर अनुमान पनि लगाउन सकिन्छ । मैले धेरै अघि भनेकी थिएँ । सत्यको एउटा सानो झिल्कोले संसार खरानी बनाउन सक्छ । किनकि मैले यो कुरा भोगेकी छु । आज त्यही झिल्को डढेलो बनेर असत्यका धर्मभिरुहरूको मन डढाइरहेको छ ।

तपाईंको स्वाभिमान, निष्ठा र आदर्श पार्टीमा अझ बलियो भएर जानेछ र पार्टीलाई सही दिशामा मार्गदर्शन गर्नुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु तर राजनीति आफैमा चुनौतीपूर्ण र फोहोरी हुन्छ, यसलाई तपाईं आफ्ना पवित्र भावनाले शुद्धीकरण गर्दै अघि बढ्नुहुनेछ भन्ने मेरो आशा र विश्वास छ ।

फेसबूक कमेन्ट्स