नेकपा मसाल र उसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चासँग बागलुङ र प्युठानको नाम जोडिएर आउँछ । पार्टीका महामन्त्री मोहनविक्रम सिंह र मोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुन् राष्ट्रिय राजनीतिमा दुवैको नाम संघीयता बिरोधीका रुपमा चर्चित पनि छन् ।

उनीहरुको फरक पहिचान पनि छ, सिंह चुनाव लडैनन्, विचार प्रवाह गरेर बस्छन् । केसी भने संविधानसभाको पहिलो निर्वाचनसम्म बागलुङबाट निर्वाचनमा सहभागी हुँदै आएका हुन् । जितेर संसदमा पनि पुगे । दोस्रो संविधानसभा निर्वाचनमा भने उम्मेदवारी दिएनन्, उनको क्षेत्रमा स्थानमा कांग्रेसले जित्यो । समानुपातिकमा बसेकोले केसी संविधानसभामा पुगे । तर, प्रत्यक्षतर्फ मोर्चाले एक सिट पनि जितेन ।

आसन्न निर्वाचनमा पनि केसी प्रत्यक्ष उम्मेदवार छैनन् । उनको मोर्चाले बागलुङको प्रदेशसभामा २ स्थानबाट उमेदवारी दिएको छ । बाम गठबन्धनमा मिसिएकोले बागलुङको २ संघ र ४ प्रदेशमध्ये एमाले, माओवादी र मोर्चाले बाँडेका छन् । कांग्रेस एक्लै चुनावमा होमिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘बिना शर्त’ कांग्रेसलाई सघाएको छ । स्थानीय तहको निर्वाचनले वाम बलियो देखाएपनि दुवैतर्फ चुनाव जित्ने आ–आफ्ना तर्क छन् । तर चुनावले जिल्लालाई छपक्कै छोप्दा पनि केसी भने जिल्ला आएका छैनन् । उनले केही दिनपछि समय मिलाएर आउने बताए ।

प्रत्यक्षमा केसीले पटक पटक जितेको क्षेत्रमा पछि हटेपछि कांग्रेसले जितेको छ । यो पटक पनि केसी नआउँदा कांग्रेसीहरु पासा पल्टाउने दाउमा छन् । केसीले भने चुनाव महंगो भएकोले प्रत्यक्ष लड्न नसकेको बताए । ‘अव त ठेकेदार, तस्कर, डिलरहरुले करोडौं रुपैयाँको खोलो बगाएर मात्र चुनाव जित्ने भए’ केसीले भने, ‘हामी जस्तो निष्ठा र सिद्धान्तको कुरा गर्नेले चुनाव जित्न नसकिने भयो ।’ स्थानीय चुनावमै करोड खर्च लागेको भन्दै केसीले संसदीय चुनाव लड्ने खर्च नभएको बताए ।

उनले समानुपातिकमा जनताले दिने मतबाट केन्द्रीय राजनीतिमा एजेण्डा राख्ने दावी गरे । बाम गठबन्धन भएकोले बागलुङको दुवै प्रदेशमा जित्ने पनि उनको दावी छ । झण्डै १७ बर्ष केसीको नेतृत्व रहँदा जिल्लाको भौतिक विकासमा योगदान नभएको कांग्रस नेताहरु आरोप लगाउँछन् । केसी भने बिकासमा भन्दा फरक राजनीतिको नेतृत्वमा लागेको दावी गर्छन् ।

राष्ट्रिय एजेण्डा नमिलेपनि मोर्चाले बाम गठबन्धनमै गएर चुनाव लडेको छ । माओवादी र एमाले संघीयता सहितको संविधान मुख्य उपलब्धी भएको र त्यसको कार्यान्वयनका लागि भन्दै भोट माग्छन् । मोर्चा कार्यकर्ता भने संघीयता बिरोधी नारा लगाउँछन् । बाम गठबन्धनमै फरक फरक एजेण्डाबीच कार्यगत एकता भएको मोर्चा सचिव धर्म कुँवरले बताए । केसीले पनि एजेण्डा फरक भएपनि कम्युनिष्टमै मिल्न गएको स्वीकारे । ‘शेरबहदुर देउवाले १ संघ र २ प्रदेश दिन्छौं, मिलेर जाऔं भनेका थिए’ केसीले भने, ‘अधिकांश समय शासनको नेतृत्व गरेर पनि कांग्रेसबाट राष्ट्रियता, सार्वभौमसत्तालगायतको क्षेत्रमा सुधार नभएकोले सँगै जान सकिन्न भनिदिएँ ।’ केसीले बाम गठबन्धनमा जाँदा संघ छोडेर २ वटा प्रदेशमै चित्त बुझाए । तर भोटमाग्न भने केसी जिल्ला आएका छैनन् ।

गठबन्धनमा सामेल एमाले र माओवादीको चरित्रमा पनि केसीको तिखो टिप्पणी छ । ‘एमाले र माओवादी संसदीय आहालमै रमाएका छन्, के को साम्यवाद ल्याउलान्’ केसीले भने, ‘बहुमतको बाम सरकार बनाउने योजना मात्र हो ।’ पश्चिम बंगालमा ज्योती बसुले २५ बर्ष शासन गर्दा पनि साम्यवाद संभव नभएकोमा दुइ तीनवटा पार्टी मिलेर ल्याउने बहुमतले केही गर्न नसक्ने उनले बताए । कांग्रेस गुटबन्दी स्याहार्न नसक्ने, एमाले–माओवादी संसदीय आहाल छोड्न नसक्दा देशको बिकास नभएको केसीको आरोप छ । राष्ट्रिय राजनीतिको फरक धारको रुपमा संघियता विरोधी अभियान संचालनका लागि बाम गठबन्धन र संसदीय निर्वाचनमा होमिएको उनको दावी छ । कान्तिपुरमा खबर रहेको छ।

ठूला दलका नेताले व्यक्तिगत रुपमा संघीयतालाई ‘भालुको कन्चट’ भनेको केसी बताउँछन् । न स्यहार्न सकिने, न छाड्न सकिने भन्ने अभिव्यक्तिले कुनैदिन संघीयता बिरोधी अभियानमा सबै दल आउने उनको विश्वास छ । मोर्चाले एजेण्डा नछाडेमा कुनैदिन सबै मिलेर संघीयता मिल्काउने उनले दावी गरे । ‘त्यसैका लागि बामहरुको कार्यगत एकता गरेको हो’ केसीले भने, ‘यो संघीयता बिदेशीले भिराईदिएको घाँडो हो, बोकेर हिड्न सकिन्न ।’ बाम गठबन्धन भएपनि कार्यकर्तालाई संघीयताको बिरोध गर्न लगाएको उनले बताए । ‘६ सय १ सांसद धान्न नसकेको देशले ८ सय ८५ जना बोक्नुपर्ने, तीन तहका सरकार, मन्त्रिपरिषद् कसरी धान्ने ?’ उनले भने

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय