पञ्चायती ब्यवस्थाको अन्त्यतिर राजधानी उपत्यकामा बहुदलीय ब्यवस्थाको वकालत गरेर हिरो बन्नुभएको थियो, हरिवोल भट्टराई । उहाँ पञ्चायतकालमा पनि काठमाडौं नगरपालिकाको प्रधानपञ्च निर्वाचित हुने कांग्रेस नेता हुनुहुन्थ्यो । तर हरिवोल भट्टराई लगायत कांग्रेसका पूर्व सांसद र पूर्वमन्त्रीहरुको एउटा समुहले कांग्रेसले आफ्नो विचार छोडेको भन्दै नेपाली कांग्रेस बीपी गठन गरी चुनामा होम्नु भएको छ । भट्टराई नेपाली कांग्रेस बीपीको सभापति हुनुहुन्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बीपी कोइरालाको विचार कांग्रेसले छोडेकाले सो पार्टी कमजोर हुँदै जाने उहाँको भविश्यवाणी छ । बीपीको विचार जोगाउनका लागि आफूहरुले पार्टी गठन गरेको वताउने उहाँसँग कांग्रेस पार्टीको नीति र नेपाली कांग्रेस बीपीवारे चक्रपथका लागि बिनु पोखरेलले गरेको कुराकानीः

नेपालमा लामो इतिहास बोकेको नेपाली कांग्रेस हुँदा हुँदै तपाईंले अर्को कांग्रेस किन खोल्नु भयो ? यो पार्टी के का लागि ? 
अहिले रुख चिन्हमा चुनाव लड्ने कांग्रेस पार्टीमा बसेर मैले लामो समयसम्म काम गरेँ । बीपी कोइरालाले दिनु भएको विचार र त्यो विचार बोकेर निर्माण भएको पार्टीका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल भन्दा बढी नै काम गरेको मान्छे हुँ । साँच्चै भन्दा कांग्रेसमा बसेर काम गर्दा जीवन नै सकियो । किन म लागेँ भन्दा कांग्रेस भनेको नेपाललाई प्रजातन्त्र दिने पार्टी हो । प्रजातन्त्र सिकाउने पार्टी हो । किन यस्तो हो भने यो बीपी कोइरालाको विचार बोकेको पार्टी हो । उहाँको विचार र नीतिमा चलेको पार्टी थियो । नेपाल जस्तो देशको लागि राष्ट्रियता, प्रजातन्त्र, समाजवाद बीपीले जो भन्नु भो, त्यो सबै भन्दा ब्यवहारिक र उत्तम थियो । बीपी अन्तर्राष्ट्रिय समाजवादी संगठनको उपसभापति पनि हुनुहुन्थ्यो । तर दुर्भाग्य बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने विचार नै मर्यो कांग्रेसमा । अहिले तपाई जसलाई नेपाली कांग्रेस भन्नुहुन्छ, त्यो नेपाली कांग्रेस रहेन । राष्ट्रियताको बाटो छोड्यो, प्रजातन्त्रको बाटो पनि छोड्यो र समाजवादी बाटोमा त्यो पार्टी बस्नै सकेन । विचारको त्यस्तो आदर्शबाट जन्मेको कांग्रेस भ्रष्टहरुको जालोमा, लोभी लुच्चाहरुको भुण्डमा परिणत भयो । कांग्रेससँग भएको रुखमा भ्वाङ बनाएर खन्चुवाहरुले  सिध्याए । रुख जरैसम्म सुकाए ।

न राष्ट्रियता भो, न प्रजातन्त्र, न समाजवाद नै । हेर्नोस् त यहाँ, हरेक कुरामा विदेशी हस्तक्षेप बढेको । प्रजातन्त्रमा दलको सिण्डिकेट हुन्छ ? तर यहाँ उसैको सिन्डिकेट छ । ठूलो दल भएपछि जे गर्दा पनि हुने, कानुन मिच्दा पनि हुने । आफ्नो नाताको मान्छे अदालतमा ल्याउँदा पनि हुने । कानुन पनि आफूखुसी बनाइदिंदा हुने । अदालतलाई न्याय दिने होइन मुद्दा हेर्ने र फैसला गर्ने थलो मात्र बनाए । कहाँबाट पैसा आउँछ उसलाई हाइड्रो पावर दिने । सत्तास्वार्थ र पैसा स्वार्थको लागि जस्तोसुकै कुशासन गर्न पनि तयार हुने कांग्रेसका नेताले  समाजवादको कुरा गर्ने ? विपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद केही भष्ट्र नेताले पोलेर खाएका हुनाले अहिले अधिकांश सच्चा काग्रेस कार्यकर्ता एक ठाउँमा उभिएर हामीले नेपाली कांग्रेस बीपी खोलेका हौं ।

पार्टी त खोल्नु भो, तपाईंहरु सानो समुहमा देखिनुहुन्छ । यसले बीपीको विचार समेट्छ भनेर कसरी पत्याउने जनताले ? 
हेर्नुस्, हिजो नेपाली कांग्रेस पनि दुईचार जनाले मिलेर स्थापना गर्नु भएको थियो । पछि हामी थपियौं, अरु थपिए । त्यो नेपाली कांग्रेस बन्यो  किनकी त्यसमा बीपीका विचार थिए । अहिलेको नेपाली कांग्रेसले बीपीको विचार छोड्यो उ सकियो । हामीले बीपीको विचार लिएर अघि बढेका छौं । हेर्दै जानुस् सच्चा कांग्रेस विस्तार बीपी विचारको यहि छातामा आउनुहुनेछ । त्यहाँ भ्रष्ट, स्वार्थी र सत्ताका लागि देश बेच्नेहरु मात्र बाँकी हुनेछन् ।

कांग्रेसले पनि राष्ट्रियता, प्रजातन्त्र, समाजवाद हाम्रो मुल मन्त्र भनिरहेको छ, भनेको छैन र ?
हो भन्छन् । तर यो भन्ने कुरा मात्र हो ? राष्ट्रियता भनेर मात्र हुन्छ ? खोई हिजो भारतले नाकाबन्दी लगाउँदा बोलेको ? बीपीको राष्ट्रियता थियो भने देशमा त्यत्रो संकट पर्दा कांग्रेसको झण्डा लिएर सडकमा आउनु पर्थेन ? अनि केको राष्ट्रियता ? अनि प्रजातन्त्र रे ।  यो देशमा अहिले प्रजाले चाहेकोजस्तो गरी कांग्रेसले सरकार चलाएको छ ? प्रजातान्त्रिक ब्यवहार र आचरण छ ? जनताले न्यायलय नचलाउ भने, तर न्यायलय किन चलाएको ? प्रधानन्यायाधीशमाथि किन महाभियोग लगाएर तर्साएको ? जनताले भ्रष्ट्राचार नगर भने । किन गरेको ? जनताले विदेशीसँग लम्पसार नपर भने । कांग्रेस किन लम्पसार परेको ? यस्तो हुन्छ राष्ट्रियता र प्रजातन्त्र ?

अव समाजवादको त कुरै नगरम । जताबाट भए पनि पैसा जम्मा गर्ने, चुनावमा त्यही पैसा खर्च गरेर जित्ने, जनतालाई दुःख दिने, अनि फेरि अर्काे चुनावमा पैसा खर्च गरेर सत्तामा पुग्ने । यस्तो हुन्छ समाजवाद ? जनताले देखेको छ नि मलाई प्रधानमन्त्री बनाइदेउ भन्दै कांग्रेसका सभापति राजदुतकोमा धाएको । विदेशीका अघिल्तिर गएर संविधान संशोधन गर्छु भनेर कसम खाएको जनताले देखेका छन् नि । यस्तो हुन्छ राष्ट्रियता ? बीपीले यही भनेका हुन् ? कांग्रेसमा बीपीको विचारको कुरै छोडौं, सामान्य नम्स पनि छैन । हामी त नेपाली हौं नि । खै त्यो रुखवाला कांग्रेसमा हामी नेपाली हौं भन्ने सोच देखिएको ? हाम्रो संविधान त हामीले बनाउने हो नि । हाम्रो निर्णय त हामीले गर्ने हो नि  । तर, जे कुरा हामी नेपालीलाई असैह्य छ, त्यहि गर्ने नेतृत्वलाई किन सहने ?

नयाँ परिवेश अनुसार गएको होला नि त । पार्टीहरु मिलेर केही गर्न खोजिरहेकै होलान् । होइन र ?
ह्वाट डज मिन बाई नयाँ ? विचार त छोडे छोडे, सत्ताको लागि कहिले प्रचण्ड बोक्ने कहिले कमल थापाहरुलाई काँध हाल्ने । अर्काले लात हानेपछि अर्को कोल्टे फेर्ने, यो नयाँ हो ? नयाँ होइन, यो विचारमा विचलन हो । चरित्र जनताले देखिरहेकै छन्, कार्यकर्ताले भोगिरहेकै छन् ।  अचम्म होइन यो ? भन्नोस् त । पहिला चितवनमा प्रचण्डलाई बोक्ने, अहिले गोर्खामा बाबुराम बोक्ने । पार्टीको आफ्नो पोलिसी हुन्न ? जे मन लाग्यो त्यहि गर्ने, यो अव पार्टी हुनै सक्दैन । लुच्चा र भ्रष्ट्रहरुको झुण्ड मात्रै बाँकी छ अव त्यहाँ ।

हेर्नोस् त रुखवाला कांग्रेस । कामकुरो एकातिर कुम्लो बोकी अर्कैतिर छ । समाजवादको कुरा गर्या छ, यहाँका उद्योग धन्दा बेचेर श्रमका युवा युवती विदेशिनु पर्या छ । यो सबै कुराको जिम्मा लिनु पर्दैन ? उद्योग बेचिदिने अनि रेमिट्यान्सको इकोनोमी भनेर धाक लगाउने ?  यो त देशमै रोजगारी क्रिएट गरेर देश विकास गर्ने बेला हो नि ।

राष्ट्रियता संकटमा छ भनेर भारत प्रवास छोडेर आउने बीपीले नेतृत्व गरेको पार्टी अहिले नाकाबन्दीमा मौन समर्थन गर्ने, नोपलको संविधान विरुद्ध ईयु र भारतले विज्ञप्ति निकाल्दा किन चुप लागेर बसेको होला ? 
अब हेर्नुस् है, विपी भारतबाट राष्ट्रियता भन्दा ठूलो केही लागेन भनेर नेपाल आउनुभयो । तर आज त्यो कांग्रेस यहाँको संविधान संशोधन गर्न बहुमत पुगेन भनेर भारत जान्छ । अनि यस्तो विचलन आएको पार्टीमा इमान्दार, प्रजातन्त्रप्रति प्रतिवद्ध कांग्रेस बस्न सक्छन् ? त्यसैका लागि त हामीले नेपाली कांग्रेस बीपी भनेर पुनर्गठन गरेका हौं ।

कांग्रेस कसरी यस्तो विचलनमा पुग्यो त ? 
कुरै यहि त हो । यहि त भन्दै छु म । हामी तिनै बीपीसँगै हिडेका नेता जिउँदै छौं । त्यो बेला कांगे्रस राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति संकल्प बोकेको थियो र पो जनताले पत्याएका थिए । जनता कांग्रेसका पछिपछि थिए । केही नेताको कुबुद्धिले यस्तो भएको हो । देश प्रेमको अभावले, राष्ट्रियताको अभावले यस्तो भो कांग्रेस । दुर्गन्धित भो कांग्रेस । त्यो दुर्गन्धभित्र कति गुम्सिएर बसिरहुँ भनेर त्यबाट मुक्त भएर अशल, स्वस्थ्य बीपीको विचार अनुसार देशलाई अघि बढाउने, स्वाधीन देश बनाएर प्रजातन्त्र र राष्ट्रियताको रक्षा गर्ने एउटा पार्टीको जरुरी भएकोले हामीले यो बृहत योजना अनुसार अघि आएका छौं । हेर्नुहोला हामीलाई साथ दिन काग्रेसबाट सबै राष्ट्रप्रेमी कार्यकर्ता यो छातामा आउनुहुनेछ ।

कहाँदेखि कांग्रेस चुक्दै आयो ?  कांग्रसले गर्न नहुने काम के के गर्यो लिष्टेड गर्नु पर्दा कुन अगाडी आउछ ?
२०४६ सालसम्म काग्रेस ठीक थियो । त्यतिबेला कांग्रेस साच्चै नेपाली कांग्रेस थियो । बहुमत ल्याउँदै आयो कांग्रेस । बीपी कोइरालाको विचारमा हिड्ने नेताहरु हुनुहुन्थ्यो । रामहरि जोशी, बलबहादर राई, जमानसिंह गुरुङ, भीमबहादुर तामाङ जस्ता धेरै नेता हुनुहुन्थ्यो । ०४६ सालपछि कृष्णप्रसाद भट्टराई सन्त नेता सभापति हुनुहुन्थ्यो, गिरिजाबाबु आएपछि उहाँ घेराबन्दीमा पर्नुभयो । त्यहाँबाट बिग्रंदै गयो । अहिले त नाकाबन्दीमा समेत मौन बस्ने नेतृत्व आइपुग्यो । नाकाबन्दीको बेला देशको पक्षमा बोल्न सकेको भए कांग्रेसको हाइट कहाँ पुग्थ्यो ? तर गरेन । लोभ जब मान्छेको हृयमा आउँछ नि, सबै कुरा बन्द हुन्छ । मान्छे अन्धो बन्छ । सत्ता र सम्पत्तीप्रति अति आशक्ति बढ्छ उसले न राष्ट्रियता देख्छ, न जनता र प्रजातन्त्र । न जनताको दुःख देख्छ, न पार्टीको हाइट । कांग्रेसमा अहिलेको नेतृत्व आएपछि त झन् खत्तमै भएर गयो, अव यसलाई फर्काउन सकिंदैन ।

हिजोको एउटा घटना सम्झाउँ । सरकारले चिनियाँ कम्पनीलाई दिएको परियोजना खोसेर हिजै दुईवटा भारतीय कम्पनीको म्याद थप्यो । यसलाई तपाईं के भन्नुहुन्छ ? 
कुरा प्रष्टै छ । भारतबाट कहिले पनि मुक्त हुन सकेन कांग्रेस । किन भन्दा उसले त्यहाँँबाट धेरै कुरा लिएको छ । भारतका सामु नेतृत्व चुकेको छ र त्यो चंगुलबाट उ फुत्कन सकेको छैन । अहिलेलाई त्यत्ति बुझ्नुस् । अर्काको तलुवा चाटेर बनाएको पद टिकाउन उसैको काम त गर्नै पर्यो नि । आज अलिकतिमा चुक्यो भोलि अलिकतिमा चुक्यो, गर्दा गर्दा त यस्तरी चुक्यो कि एकदम तल ओर्लिएर लम्पसार पर्ने अवस्थामा पुग्यो । अब त भारतले जति चुटेपटि जति थुते पनि सहनु पर्ने अवस्थामा पुग्यो कांग्रेस ।

बीपी कोइराला कति सचेत हुनुहुन्थ्यो भने  नेहरुले नेपालमा केही भयो भने भारतीय सेना तुरुन्त परिचालन हुन्छ भन्दा भारतीय सेना हाम्रो बोर्डरमा आउन सक्दैन भन्नुहुन्थ्यो । त्यो कुरा नेहरुले खण्डन नै गर्नुपर्यो । हामीले हाम्रा कुरा राखे त उनले काट्न सक्ने हिम्मत राख्दैनन् नि । बीपीले चीनसँगको केसमा पनि त्यसै गर्नुभो । एकजना सिपाही मर्दा क्षतिपूर्ति लिनुभो र माफी मगाउनु भो । सानो सानो कुरामा पनि चुक्नु हुन्न के । त्यस्ता बीपीका सन्तान हौं के हामी ।

चीनको कुरा गर्नु भयो । एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन सम्झौता गर्नुभयो । त्यासलाई कांग्रेसले सकारात्मक रुपमा लिन सकेन, सरकार नै ढाल्यो । तपाईं कसरी लिनुहुन्छ ? 
ओलीले जे गरे नेशनका लागि ऐतिहासिक काम गरे । तर, कांग्रेस नेतृत्वले नेपालको विकास र समृद्धिको सामान्य नम्स पनि बुझ्न सकेन । अर्को कांग्रेस भारत परस्त छ । जब मान्छे लोभमा निर्लिप्त हुन्छ नि, फोहोर कुरा पनि खान थाल्छ । उसले राम्रो कुरालाई चाहिँ फोहोर देख्छ । त्यहि भएको हो । खाली पैसा, खाली पैसा । टिकट पनि पैसामै बिक्री गर्ने, सरुवा बढुवामा पनि पैसै चाहिने । परियोजना अघि बढाउन पनि पैसा नै चाहिने, विदेशीले सहयोग गर्छु भन्दा नि पैसा कति आउँछ तौलनै पर्ने । त्यस्तो गर्नेले पनि विवेकको काम गर्छन् त ? त्यसैले विश्वसँग ब्यापारमा जोडिने कुरा कांग्रेसलाई नराम्रो लाग्यो ।

चक्रपथ बाट सभार गरिएको।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय