झापामा यस्तो हर्कत देखाएपछि मतदान अधिकृतको ठाडै बरखास्त

झापामा एक जना मतदान अधिकृतलाई बर्खास्त गरिएको छ । झापा क्षेत्र नम्बर ३ अन्तरगत हल्दिवारी गाँउपालिका स्थित पाराखोपीमा रहेको सरस्वती आधारभुत विद्यालयमा खटाइएका मतदान अधिकृत प्रेमबहादुर लामालाई जिम्मेवारीबाट बर्खास्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

आन्तिरीक राजश्व कार्यालय मेचीमा कार्यरत कर्मचारी लामालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यहाँ खटाएका थिए । मतदान केन्द्रमा खटिएका लामाले निर्वाचन आचारसंहिता विपरीत दिउँसै जाडरक्सी खाएर कामकाज गर्ने थालेको जनगुनासो आउन थालेपछि उनलाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरिएको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।

लामालाई त्यहाँबाट हटाएर उनको स्थानमा सहायक मतदान अधिकृत सीता गुरागाईलाई मतदान अधिकृतको जिम्मेवारी दिएको उनले बताए । सहायक मतदान अधिकृतको स्थानमा कर्मचारी यमनाथ न्यौपानेलाई पठाइएको छ ।

झापामा मतदानमा खटिने कर्मचारीसंग कुनै प्रकारको सम्झौता नहुने बताउँदै आचारसंहिता विपरीत काम गर्ने कर्मचारीलाई तत्काल जिम्मेवारी हटाइने उनको भनाई छ ।

फेसबूक कमेन्ट्स