वि.स. २०२३ साल असार ८ गते गौरादहमा जन्मिएका हुन् हिक्मत कार्की । ०३६ सालमा राजनीतिमा प्रवेश गरेका कार्की ०४० सालदेखि पार्टीसम्पर्क ०४५ मा पार्टी सदस्य हुँदै ०५५ सालमा अनेरास्ववियुको काठमाण्डौँमा सम्पन्न १४ औँ राष्ट्रिय सम्मेलबाट अध्यक्ष हुँदै हालः नेकपा एमालेको केन्द्रीय सदस्य, प्रदेश नं. १ को प्रचार विभाग प्रमुख र सचिवालय सदस्य समेत रहेका छन् ।बाम र देशभक्तहरुको गठबन्धनको तर्फबाट प्रदेश नं. ५ (१) को प्रदेश सभा सदस्यको उम्मेद्वार रहेका हिक्मत कार्कीसँग हाम्रा सहकर्मी दीपक सुवेदीले गरेको गरिएको कुराकानी

तपाईंको उम्मेद्वारी किन ?
विगत सात दशकदेखिको निरन्तर राजनैतिक परिवर्तनको अन्तिम लडाईं सकेर संक्रमणकालको अन्तिम खुट्किलोमा हामी छौँ । मुलुकले अब संमृद्धिको यात्रा तय गरेर आउँदो २५ वर्षभित्र देशलाई एउटा विकसित मुलुकको रुपमा पु¥याउनु पर्ने दायित्व हामीसँग छ । स्थानीय तहदेखि प्रदेश हुँदै, केन्द्रसम्मनै बामपन्थी सरकार हुनसेकमात्र मूलुकको कायापलट हुनेछ । हामी राजनेता केपी ओलीको ‘विकास भिजन २०९९’ मान्यतालाई स्थानीय तह, प्रदेश र केन्द्रसम्म लागु गराउने अभिप्रायका साथ यो प्रदेशमा बामपन्थी सरकार निर्माण गर्न मेरो उम्मेद्वारी बाम गठबन्धनको तर्फबाट रहेको छ ।

तपाईंका स्थानीय मुद्दाहरु के के छन् ?
यस क्षेत्रमा रतुवा कमल, किस्ने जस्ता खोलाको तटबन्धन, क्याम्पसहरुको समय सापेक्ष प्रविधि सहितको व्यवस्थापन, सरकारी कृषि क्याम्पसको स्थापनाका साथै कृषिको आधुनिकीकरण र व्यवसायीकरण, सामुहिक खेतीको प्रबद्र्धन र विकास, ऐतिहासिक पोखरी, विभिन्न भाषा र जातिको कला साहित्य र संस्कृतिको साथै स्थानहरुको संरक्षण र व्यवसायीक प्रबद्र्धन, पुल कल्र्भट निर्माण, गौरीगञ्ज फत्तेपुरको भन्सार निर्माण, हुलाकी राजमार्ग लगायत धेरैवटा भित्री बाटाहरुको कालोपत्रे पर्यटकीय संभावनाका क्षेत्रहरुको विकास, भ्रष्टचारमुक्त र सुगम प्रशासनीक कार्य, विद्युतीकरणको विस्तार, औधोगिकीकरण र दक्षिण एसियालाई लक्षित गरेर निर्माणाधीन चिनियाँ औधोगिक क्षेत्रको स्थापनाको द्रुतता लगायतका विकास निर्माणका कार्यहरुलाई मैले प्राथमिकतामा राखेको छु । हाम्रो गठबन्धनको प्रतिबद्धता पत्र प्रत्येक मतदाता समक्ष पु¥याउने कामहरु पनि भइरहेको छ ।

तपाईंको जित्ने आधारहरु के के छन् ?
मैले प्रतिस्पर्धा गरेको क्षेत्र नं. ५ (१) यसै पनि एमालेको दह्रो पकट भएको हो । त्यसमाथि माओवादी र राप्रपा सहितको बामपन्थी राष्ट्रवादीको गठबन्धनले गर्दा प्रतिस्पर्धीहरु कमजोर छन् । खसेको मतको अत्याधिक मत ल्याएर विजयी हुने कुरामा म विश्वस्त छु । प्रदेश नं.१ मा बामपन्थी सरकार बन्न सक्छ त ? निश्चय नै, प्रत्यक्ष र समानुपातिक तर्फ गरेर दुई तिहाईभन्दा बढी सिट सहित यो प्रदेशमा बामपन्थी सरकार बन्छ ।

तपाईंहरु आफैँ यति बलियो हुँदा हुँदै गठबन्धन चाहिँ किन ?
कुरो यो क्षेत्रको मात्रै होइन । देशैभरि दुईतिहाई बढी मतदाताहरु बामपन्थीहरु रुझानका हुँदा हुँदै दुई ठूला बामपन्थी दलको अन्तर द्वन्दबाट कुनै अर्को पूँजीवादी पार्टीले सधैँ फाइदा लिने अवस्थाको अन्त्य गर्न जरुरी थियो । नेपाली जनताको समुन्नतीको लक्ष्य लिएका दुई टूला बामपन्थी दल चुनावी गठबन्धनमा मात्र सिमित नरही एउटै पार्टी निर्माणमा जुटेको अवस्था छ । विकास र समुन्नती प्रतिको नेपाली जनताको चाहना मुर्छित भएको वर्तमान अवस्था र हामी कहिल्यै विकसित राष्ट्र र त्यसका जनता हुन नपाई हाम्रा पुस्तौँ पुस्ता वित्छ कि के हो भनेर तर्कना पर्ने अवस्थामा पुगिसकेका नेपाली जनतालाई राजनेताद्वय केपी शर्मा ओली र प्रचण्डले सञ्जिवनी जल छर्केर तन्द्रबाट जगाएर विकासको गोरेटोमा नेपाली जनतालाई हिडाउन खोजेको परिणाम हो गठबन्धन । यो गठबन्धन एक शाक्तिशाली कम्युनिष्ट पार्टीको गठन र संबृद्धिको यात्राको शुरुवाती पाइला हो ।

तपाईंहरुको गठबन्धनलाई अधिनायकवाद तर्फको यात्रा भनेर नेपाली काङ्ग्रेसले आरोप लगाएको छ नी ?
हास्यास्पद कुर्तक ! लोकतन्त्र नारा मात्रै होइन, जीवन पद्धति हो । पार्टी संचालनमा कांग्रेसभन्दा कयौँ गुणाबढी लोकतान्त्रिक एमाले छ । केवल २५ प्रतिशत केन्द्रीय कमिटीमा निर्वाचन गरेर स्वच्छाचारी ढंगले ठूलो संख्यामा केन्द्रीय सदस्य मनोनयन गर्ने, भातृ संगठनहरुको पाँच पाँच वर्षमा गर्नु पर्ने अधिवेशनहरु आठ, दश र चौध वर्षसम्म नगर्ने, संवैधानिक व्यवस्थाका लुजहोलहरु उपयोग गरेर लगातार कमिटीका म्यादहरु बारम्बार थप्ने कांग्रेस चैँ लोकतान्त्रिक ? एमाले चैँ अधिनायक वादी ? कांग्रेससँग जनजीविकाका सवालमा, लोकतन्त्रको सुदृढिकरणको सावलमा र विकासका सवालमा कुनै मुद्धाहरु नै बाँकी छैनन् र यस्ता उटपट्याङ बकवासमा उत्रिएको छ । कांग्रेसलाई भिजन नभएको पार्टी भन्न खोज्नु भएको हो ? भिजन र दर्शन व्यवहारबाट प्रमाणित गर्नु पर्छ । जस्ले जस्तो व्यवहार गर्छ उसको भिजन र दर्शन त्यही हो । विगतका केही प्रतिनिधि घटना हेरेर कांग्रेस चिन्न सकिन्छ । सुशिला कार्कीलाई लगाइएको माहाअभियोग प्रकरणको अर्थ के हो ? पिडादयी नाकाबन्दी सम्बन्धि एक शब्द नबोली कांग्रेस किन चुप ? लोकमानसिंह कार्की प्रकरणमा कांग्रेसको मौनता र लोकमान प्रतिको आसक्तिलाई लोकतान्त्रिक भन्न सकिन्छ ? आइजिपी प्रकरणमा नवराज सिलवालमाथि साँधेको व्यक्तिगत रिसिबील लोकतान्त्रिक सिस्टमको मर्ममा प्रहार भयो कि भएन ? कांग्रेस बुझ्न यो भन्दा बढी अन्य कुरा चाहिन्छ र ?

अन्त्यमा केही छ कि ?
आम जनसमुदायलाई सूर्य चिन्हमा मतदान गरी समुन्नत नेपाल निर्माणको माहान अभियानमा सरिक हुन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय