विश्वमा यस्ता अनेक शासक तथा नेता पैदा भए जो आफ्नो शासन–सत्ता टिकाउनका लागि मानवताकै सङ्कट पैदा हुने गरी क्रूरताको सीमा नाघ्न हिच्किचाएनन् । बितेको एक सय तीस वर्षमा यस्ता अनेकौँ राजनीतिक नेताहरूले भयावह रूपमा जनसंहार या हत्याका साथै अनेकौँ क्रूर क्रियाकलाप गरे जसका कारण तिनका नाम इतिहासमा दर्ता भएको छ । तिनैमध्येका आठको यहाँ सङ्क्षिप्त चिनारी दिइएको छ ।

याकुबु गौवन :
नाइजेरियाका याकुबु गौवन शासनमा रहेका निरङ्कुश एवम् क्रूर पात्रमध्ये अग्रपङ्क्तिमा पर्छन् । युद्धको क्रममा लगाइएको नाकाबन्दी तोडेको आरोपमा उनले एघार लाख नागरिकलाई अत्यन्त क्रूरताका साथ मारेका थिए, जसमध्ये दश लाख आमनागरिक र एक लाख सैनिक थिए ।

मिनगिसु हैल मरियम :

अहिले पनि जीवित नै रहेका मिनगिसु हैल मरियमले सन् १९७४ देखि १९९१ सम्म इथियोपियामा सत्ता सम्हालेका थिए । प्रतिस्पर्धा या विरोधमा उत्रिनेलाई दायाँबायाँ विचार नगरी हत्या गरिहाल्नुपर्छ भन्ने उनको फर्मुला थियो । लालआतङ्क अभियानका लागि मरियमको नाम अगाडि आउँछ, जसका कारण १५ लाख मानिसले जीवनबाट हात धुनुप¥यो ।

किम इल सुङ :
यतिबेला उत्तर कोरियाका किम जोङ उनको सनकीपनले अमेरिकाजस्तो महाशक्तिराष्ट्रलाई समेत तनावमा पारेको छ । यिन किमका हजुरबाउ थिए किम इल सुङ, जसको सनक र क्रूरताका कारण १६ लाख नागरिकको अनाहकमा ज्यान गएको विश्वास गरिन्छ । किम इल सुङ पनि अहिले आफ्ना नातिले जस्तै अमेरिकालाई आफ्नोसामु तुच्छ ठान्दथे भने आफूलाई भगवान्सरह मान्न जनतालाई बाध्य पारेका थिए ।

पोलपोट :

आफूलाई खुँखार साम्यवादी ठान्ने पोलपोटले आफ्ना सेनाको आडमा सन् १९७५ मा कम्बोडियाको सत्ता कब्जा गरेका थिए । त्यसको अर्को वर्ष आफूलाई साम्यवादी सरकारको प्रधानमन्त्री घोषणा गरेर उनले तानाशाही शासन सुरु गरे भने खमेर रुज सङ्गठनबाट उनले १९८५ मा रिटायरमेन्ट लिएका थिए । १७ लाख मानिसको हत्याका लागि जिम्मेदार उनको मृत्यु १९९८ मा भएको हो ।

एडोल्फ हिटलर :
२० अप्रिल १८८९ मा अस्ट्रियामा जन्मेका एडोल्फ हिटलर राष्ट्रिय समाजवादी जर्मन श्रमिक पार्टीका नेता थिए भने निकै वर्ष उनी जर्मनीका शासक रहे । एक करोड दश लाख मानिसको मृत्युको कारण बनेका हिटलर यहुदीको कट्टर विरोधी थिए । करिब साठी लाख यहुदीको उनले ज्यान लिएको ठानिन्छ । सात करोडको ज्यान जाने गरी भएको दोस्रो विश्वयुद्धको प्रमुख कारक–व्यक्तिको रूपमा इतिहासमा नाम लेखिएका हिटलरले आत्महत्या गरेका थिए ।

जोसेफ स्टालिन :
सोभियत सङ्घका संस्थापकमध्येका एक भ्लादिमिर लेनिनले समेत अत्यन्त रुखो स्वभावका व्यक्ति भनेर टिप्पणी गर्नुपरेका पात्र हुन् जोसेफ स्टालिन । लेनिनको शङ्कास्पद अवस्थामा भएको मृत्युपछि तत्कालीन सोभियत रुसको सत्ताको कमान्ड सम्हालेका स्टालिनले आफ्ना हरेक विरोधीको हत्या गरे । ३१ वर्षको शासन अवधिमा उनले २ करोड मानिस मारेको तथ्याङ्क छ ।

इदी अमिन :
सात वर्ष युगान्डाको सत्ता सम्हालेका इदी अमिनलाई क्रूरताको प्रतीक नै मानिन्छ । हत्या र यातनाको लहर अमिनले यसरी चलाएका थिए कि उनलाई ‘युगान्डाको कसाई’ पनि भनिन्थ्यो । उनी आफूलाई मन नपरेको मानिसको मुटु–कलेजो नै खान्थे भन्ने कैयन लेखोटमा उल्लेख गरिएको छ । इदी अमिनले २ लाख ५० हजारभन्दा बढी मानिसको ज्यान लिएका थिए ।

माओ त्से तुङ :
आधुनिक चीनका निर्माताको रूपमा विख्यात माओको कारण सन् १९४९ देखि १९७६ को अवधिमा पनि सात–आठ करोड नागरिकको ज्यान गएको तथ्याङ्क इतिहासमा अङ्कित छ । चीनले माओको मार्ग करिब–करिब छोडिसकेको ठानिए पनि चीनमा कम्युनिस्ट शासन–व्यवस्था स्थापना गर्ने माओलाई मान्नेको जमातचाहिँ अधिक नै रहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय