https://youtu.be/inudXOyFP8o?t=2

सुरुङ्गा । नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धनबाट उम्मेदवारी दिएका झापा क्षेत्र नम्बर ४ का तीनैजना उम्मेदवारहरुले विकास र समृद्धिका लागि कम्तिमा ५ वर्षसम्म स्थिर सरकार निर्माण गर्नुपर्ने भएकाले वाम गठबन्धनका उम्मेदवारलाई भोट दिन अनुरोध गरेका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल झापाले आज आयोजना गरेको उम्मेदवार–पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार एलपी साँवा लिम्बू, प्रदेशसभामा क्षेत्र नं. ४ (क) का उम्मेदवार झलकसिंह दर्लामी सन्देश र क्षेत्र नं. ४ (ख) का उम्मेदवार हिरा थापाले यस्तो अनुरोध गरेका हुन् ।

यस क्षेत्रको चौतर्फी विकास र समृद्धिका लागि तथा संविधान र संघीयतालाई संस्थागत गर्नसमेत वाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्न उनीहरुको आग्रह छ ।

अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार एलपी साँवाले यस क्षेत्रका जनताले सुकुम्बासी समस्याबाट मुक्ति पाउनका लागि र यसको दीर्घकालिन समाधानका लागि आफू लागिपर्ने बचन दिए ।

‘जग्गा जोत्ने र भोग्ने तर लालपूर्जाविहीन जनता अब कोही पनि हुने छैनन्’ साँवाले प्रतिवद्धता जनाउँदै भनेका छन्, ‘यस क्षेत्रमा सबैभन्दा बढी सुकुम्बासीको बसोबास सुरुङ्गामा रहेको आफूले पाएको छु ।’

उनले कम्तीमा आर्थिक अभावका कारण नै कोही पनि नेपालीले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेसमेत बताए ।

साँवाले पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रहरु जामुनखाडी, सताक्षीधाम, चिल्लागढ, धनुषकोटी, कोटीहवन, रानीवन लगायतका क्षेत्रको समुचित विकास गरी स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाई यस क्षेत्रलाई बनाउने र यस ठाउँको समृद्धिका लागि पर्यटनको विकासका आफूले सक्दो पहल गर्नेकुरामा जोड थियो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्यका उम्मेदवार हिरा थापाले पार्टीको लागि नभएर तमाम गरिब, निमुखा र खान नपुग्ने शोषित पीडित जनताको मुक्तिका लागि आफू र आफ्नो टिमलाई मतदान गर्न आग्रह गरे । उनले गरिब र दिनदुखीहरुको मुक्तिका लागि कम्युनिष्टहरु साम्यवादी शासन व्यावस्था ल्याउन चाहेको समेत बताए ।

साम्यवादको अन्तिम लक्ष्य समृद्ध नेपाल भएको उनले खुलाए । समाजमा भइरहेको लैङ्गिक विभेद, जातीय विभेद, वर्गीय विभेदहरुको समुल अन्त्य गर्नसमेत कम्युनिष्टको सरकार चाहिने थापाले जिकिर गरे ।

प्रदेशसभाका अर्का उम्मेदवार झलकसिंह दर्लामी मगरले जनताले लामो सङ्घर्ष गरेर संविधानको निर्माण गरेको भन्दै यसको संस्थागत विकास र प्राप्त उपलब्धीलाई बचाउन पनि वाम गठबन्धनलाई विजयी गराउनु पर्ने आवश्यकता औंल्याए । उनले संविधान निर्माण पछि देशमा राजनीतिक कोर्ष पूरा भइसकेकोले अबको कोर्ष आर्थिक समृद्धिको अभियान रहेको बताए । उनले अर्थिक समृद्धिका लागि ५ वर्षे स्थिर सरकार नै नेपालको आवश्यकता रहेको बताए ।

https://youtu.be/inudXOyFP8o?t=2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय