२७ बर्षपछी देउवालाई डडेल्धुराबाट बिस्थापित गर्ने खगराज भाट्टको यस्तो तयारी

प्रदेश ७ का प्रभावशाली नेताको सूचीमा माओवादी केन्द्रका नेता खगराज भट्ट पनि पर्छन् । संसदीय निर्वाचनमा उनी तीन पटक प्रतिस्पर्धामा उत्रिँदैछन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई पटक पराजय बेहोरेका भट्ट तेस्रो पटक उनैसँग भिड्दैछन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा १५ सय मतले पराजित उनी यसपटक वाम गठबन्धनको पक्षमा मत बढी देखिएकाले आशावादी पनि छन् । स्थानीय तहको मतका हिसाबले वाम गठबन्धन झन्डै साढे ८ हजार मतले अघि छ । वडाका हिसाबले ३५ मा माओवादी-एमाले र १७ मा मात्रै कांग्रेसले जितेको छ । सदरमुकाम रहेको अमरगढी नगरपालिका भने पहिलोपल्ट एमाले विजय भएको छ । यस हिसाबले यो निर्वाचन प्रधानमन्त्री देउवाका लागि सहज छैन ।

दुई पटक हार्नुभएको तपाईंले यसपल्ट प्रधानमन्त्री देउवालाई पराजित गर्न सक्नुहुन्छ ?
डडेल्धुरावासी पहिलोपल्ट परिवर्तनका लागि यति धेरै उत्साहित भइरहेको पाएको छु । २७ वर्षदेखि लगातार देउवालाई जिताइरहेका जनताको अनुहारमा परिवर्तनको उत्कट चाहना देखेको छु । यसअघि उनलाई जिताउनुमा डडेल्धुरावासीमा शक्तिको स्वार्थ पनि थियो । अहिले उनको व्यक्तित्वमा क्षयीकरण हुँदै गएको छ । उनी शक्तिमा रहने अवस्थाको अन्त्य भएको छ । अब उनलाई जिताएर डडेल्धुरावासीले केही पनि पाउनेछैनन् । वाम गठबन्धनसँग अहिले साढे ८ हजार मत बढी छ । यो मेरो जितका लागि ठूलो आधार हो ।

दोस्रो संविधानसभा निर्वाचनमा १२ हजार मत अन्तरले पराजय बेहोर्नुभएको तपाईंलाई जित सहज होला र ?
यसको सान्दर्भिक विवेचना गर्नुपर्छ । २०६४ सालको निर्वाचनमा हाम्रो धेरै मत बदर भयो । मत बदर नभएको भए मैले जितिसकेको थिएँ । पहिलो संविधानसभा निर्वाचनमा जनताको मन मैले जितेँ, कानुनी रुपमा देउवाले चुनाव जिते । २०७० सालमा हाम्रो पार्टी एकदमै विवाद र समस्यामा थियो । त्यो बेला पनि ‘मत गणनास्थल छाडेर हिँड’ भन्ने हाम्रो पार्टी केन्द्रको निर्देशन नभएको भए नतिजा पक्षमा नभए पनि अन्तर ठूलो हुँदैनथ्यो । अहिले परिस्थिति नै बेग्लै छ । वामपन्थी पार्टीहरुको राजनितिक मात्र होइन, यहाँ भावनात्मक एकता छ ।
कांग्रेसीहरु समेत डडेल्धुरमा शेरबहादुरको विकल्प खोज्न रणनीतिक रुपमा अघि बढिरहेका छन् । शेरबहादुरले यहाँका कांग्रेसका इमानदार नेताहरुको राजनीतिक जीवन नै सक्ने अवस्थामा पुर्याएका कारण पनि यसपल्ट उनीहरु रणनीतिक निर्णय लिँदैछन् । डडेल्धुरावासीले नामका आधारमा होइन, कामका आधारमा मूल्यांकन गर्छन् । २७ वर्षपछि डडेल्धुरा शेरबहादुरमुक्त हुँदैछ ।

निर्वाचन सत्ताका कारण पनि प्रभावित बन्न पुग्छ। आफ्नै हातमा सत्ता रहेका देउवाले पराजय बेहोर्लान् त ?
२०४८ सालमा आफैंले गरेको निर्वाचनमा कृष्णप्रसाद भट्टराई पराजित भएका थिए । २०६४ सालको निर्वाचन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भयो तर कांग्रेसले हारेको थियो । २०७० को निर्वाचनमा कृष्णप्रसाद सिटौला आफैं गृहमन्त्री थिए तर हारे । देउवा नेतृत्वमा भए पनि प्रहरी र प्रशासन उनको पक्षमा लाग्ने देखिँदैन । अबको एक-डेढ महिनामै वामपन्थी सरकार आउने सबैलाई ज्ञात भएकाले शेरबहादुरका निम्ति आफूलाई हानि हुने निर्णय लिन कोही अघि बढ्नेवाला छैनन् । जनता सचेत भइसकेको अवस्थामा बाहुबल र धनबलले प्रभाव पार्न सकिँदैन । यसपल्ट देउवाले जनताको परिवर्तनका चाहनालाई कुनै तरिकाले पनि प्रभावित पार्न सक्दैनन् ।

यति लामो समय सरकार र सत्तामा बसेका देउवाको विपक्षमा डडेल्धुरावासी यति सजिलै उभिएलान् र ?
जनमत वामपन्थीसँगै बढी छ । वामपन्थी भए पनि ‘हेभीवेट’ प्रभावमा देउवालाई मत दिनेले यसपल्ट त्यसो गर्दैनन् । यसअघि उनलाई जिताए केही भइहाल्छ कि भन्ने आशा थियो । त्यो यसपल्ट टुटेको छ । निर्वाचनपछि ठूलो शक्ति त वाम गठबन्धन हुँदैछ । केन्द्र र प्रदेशमा उसैको सरकार बन्छ भन्ने पनि जनतालाई थाहा छ । चारपल्ट प्रधानमन्त्री भइसकेका व्यक्तिले गृहजिल्लालाई बेवास्ता गरेको असन्तुष्टिले नै म २०६४ को निर्वाचनमा जितको संघार नजिक पुगेको हुँ । कांग्रेसभित्र यो तहको असन्तुष्टि र उकुसमुकुस यसअघि कहिल्यै देखिएको थिएन । आफ्नै पार्टीका कार्यकर्ता विपक्षमा रहेका बेला अरु उनको समर्थनमा उभिनेछैनन् ।

शेरबहादुरको विकल्पमा तपाईंलाई जिताए डडेल्धुरावासीका लागि के गर्नुहुन्छ ?
२७ वर्षमा देउवाले गर्न नसकेको काम म पाँचै वर्षमा गर्छु । डडेल्धुरावासीमा राजनीतिक स्वतन्त्रता महसुस गराउँछु । समृद्धि र स्थिरताकै लागि वामपन्थी एक ठाउँ आएका हौं । डडेल्धुराका जनताले देखेको परिवर्तनको सपना साकार पार्छु ।

नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानी नेपाल लाइभबाट लिइएको

फेसबूक कमेन्ट्स