संविधानसभाको दोस्रो चुनावमा उदयपुरबाट प्रत्यक्ष तर्फबाट निर्वाचित मञ्जु चौधरी केपी ओली नेतृत्वको सरकारमा शहरी विकास मन्त्री बन्नु भएको थियो । ओली नेतृत्वको सरकारले ल्याएको नमुना शहर र फराकिलो राजमार्गको योजनाबाट उदयपुरको आफ्नो निर्वाचन क्षेत्रमा समेत लोकप्रिय बन्नुभएकी चौधरी यसपटक पनि उदयपुरबाट चुनाव लड्दै हुनुहुन्छ । नेपाली कांग्रेसका प्रभावशाली मानिएका नेता डा नारायण खड्कासँग प्रतिस्पर्धा गर्ने तयारीमा रहनु भएकी चौधरीसँग निर्वाचनका विषयमा चक्रपथकर्मी कविता अधिकारीले गरेको कुराकानीः

दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा तपाईको नाम चर्चामा छ, टिकट पाईसक्नुभएको हो ? 
करिब करिब टुंगिएको हो, तर औपचारिक रुपमा बाहिर आउन बाँकी छ । सम्भवत आज टुंगिन्छ । मेरो नाम उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट सिफारिस भएको छ । त्यो मेरो व्यक्तिगत इच्छा भन्दा पनि जिल्लाबासीको चाहनाले सिफारिस आएको हो । जिल्लाबासीबाट प्रस्ताव आएकाले मेरो उम्मेदवारी हुन्छ भन्नेमा म विश्वस्त छु ।

ज जस्ले टिकट पाए तिनले चुनाव जिते सरह खुसीयाली मनाइरहेका छन नि , बधाई कत्तिको आइराख्या छ ?
टिकट पाउनु पनि ठूलो जिम्मेबारी आउनु हो । मैले पनि जिम्मेबारी पाएको महसुस गरेको छु । हाम्रो जिल्लामा कुनै समस्या छैन । त्यसमाथि हाम्रो जिल्लामा एमालेलाई चुनाव जित्न कठिन छैन । त्यसैले पनि टिकट पाउनु नै जित्नुजस्तो भएको हो । तर, हेर्नुस्, सिट एउटा हुन्छ, धेरै योग्य ब्यक्ति हुन्छन् । एउटालाई मात्र दिन सकिन्छ ।  त्यत्रोविधि नेता कार्यकर्ता भएको ठाउँमा मैले टिकट पाउनु  म मात्रै योग्य भन्ने होइन । कयौं योग्यका बीच मलाई जिम्मेवारी दिइएको भन्ने अर्थमा मैले लिएको छु ।

महिलालाई टिकट पाउन एकदमै गाह्रो भो भन्छन्, तपाइंलाई टिकट पाउन कत्तिको समस्या झेल्नु पर्यो ?
समाजमा पितृ सतात्मक सोच अझै पनि हावी छ । त्यही कारण महिला योग्य भएर पनि पछि पर्ने गरेका छन् । एउटा सिट हुन्छ, धेरै पुरुष र महिला साथीहरु दावेदार हुन्छन् । त्यो प्रतिस्पर्धामा भागबण्डा पुग्दैन । पुरुषले नै बढी अवसर पाउँछन् । यो त भोग्दै आएको यथार्थ हो । तर मेरो केशमा चाहिँ त्यति गाह्रो भएन । मैले दौडधूप गर्नु पनि परेन ।

प्रत्यक्षमा औंलामा गनिने दुईचार जनामात्रै महिला नेतृको नाम चर्चामा छ नि ?
निर्णय गराउने बेलामा संख्या बढेर आउला । प्रतिनिधि सभामा एक तिहाई महिला हुनुपर्ने संविधानमा व्यवस्था छ, त्यो हुनुपर्छ । यदि प्रत्यक्ष निर्वाचनमा भएनन् भने पनि समानुपातिकबाट पुर्याउनु पर्छ । स्थानीय तहमा पनि ४७ प्रतिशत महिला त आईसकेका छन् । उपमेयर मेयर जे होस् पदाधिकारीमा ४७ प्रतिशत महिला छन् । एकतिहाई महिला प्रत्यक्षबाट पुगेनन् भने समानुपातिकबाट पुर्याउने तयारी छ । अहिले महिलाको सिफारिश कम भयो भनेर आत्तिनु हुँदैन । साथीहरु आ–आफनो ठाउँमा प्रयत्नरत हुनुहुन्छ । कतिलाई मिलाउन सक्नु भएन होला । कहाँ कसको प्रभाव कस्तो छ त्यो हेरेर  नै पार्टीले टिकट दिने हो । पार्टीले कमजोर व्यक्तिलाई टिकट दिदैन पनि । चुनाव जित्छ भन्ने विश्वास हुनेले टिकट पाउने हो ।

भनेपछि तपाईंले चुनाव जित्ने बलियो आधार देख्यो पार्टीले ?
त्यो देखेकै छ नि । संविधानसभाको दोस्रो निर्वाचनमा म त्यति तयार थिइनँ । धेरै ज्ञान पनि थिएन । तर अहिले संसदमा चार बर्ष भूमिका खेलिसकेकाले म गर्न सक्छु भन्ने हिम्मत आएको छ । र पार्टीले पनि मैले हिजो गरेका विकास निर्माणका कामहरु पूरा गर्ने हो ।

महिलालाई हार्ने ठाउँमा मात्रै उठाउँछन् भन्छन्  नि, तपाईंलाई पनि त्यस्तो लाग्छ  ?
त्यो गलत कुरा हो । मैले अघिल्लो पटक आफैंले जितेको ठाउँमा उम्मेदवारी पाएकी छु । टिकट दिएपछि हार्ने ठाउँमा दियो भन्ने कुरा नि हुन्छ ? आफू योग्य उम्मेदवार भएपछि जित्नु पर्यो नि । आफ्नो जित्ने आधार बनाउनु पर्यो, जनताको मन जित्नु पर्यो ।

तपाईंको क्षेत्रमा प्रतिस्पर्धा कोसँग हुँदैछ ?
मलाई लाग्छ मेरो निर्वाचन क्षेत्रमा कांग्रेससँग प्रतिस्पर्धा हुन्छ । मतको हिसावले कांग्रेस हामी भन्दा धेरै तल भए पनि प्रतिस्पर्धी त कांग्रेस नै हो । तर, हामीलाई कुनै अत्यास छैन, किनभने हामी देशलाई आत्मनिर्भर र समृद्ध बनाउने एजेण्डा लिएर चुनावमा जाँदैछौं । प्रतिद्वन्द्वी दल हामी भन्दा योजना र कार्यक्रमका हिसावले निकै कमजोर छ । अव कांग्रेसबाट को ब्यक्ति उम्मेदवार हुन्छ भन्ने कुरा त्यति महत्वको विषय होइन ।

जसको पैसा छ उसको खर्च हुन्छ । मसँग पैसा छैन खर्च पनि गर्दिनँ । जनता छन् मेरो साथमा, पार्टी छ, त्यही हो ।

-मञ्जु चौधरी, एमाले नेतृ

कांग्रेस उम्मेदवार डा नारायण खड्का  बलियो उम्मेदवारकै रुपमा लिएको छ कांग्रेसले । तपाईंलाई सजिलो होला र ? 
हेर्नुस् कामका हिसावले कुरा गर्ने हो भने मैले नारायण खड्का भन्दा कम काम गरेको छैन । तुलना नै गरेर हेर्ने हो भने मैले त्यहाँको विकासका लागि बढी काम गरेको छु । अर्काे कुरा हामी नेपाललाई स्वाधीन, आत्मनिर्भर राष्ट्र बनाउन चाहन्छौं । हामीले सरकारमा हुँदा त्यसको संकेत पनि देखाएका छौं । मुलुकलाई समृद्ध बनाउने हाम्रो योजना पूरा गर्न उदयपुरमा मैले जित्नु पर्यो, देशमा एमालेले जितेर सरकार बनाउनु पर्यो ।

त्यसैले मैले जित्न सजिलो छ । मेरो क्षेत्रमा साविकका १० गाविस र एक नगरपालिका थियो । मेरो चुनावी समयमा सबैतिर पैदल जानुपथ्र्याे अहिले सबै गाविसमा गाडि चढेर भोट माग्न जान सक्ने अवस्था छ । अर्को त्रियुगा नगरपालिकालाई नमुना शहरको रुपमा विकास गर्न मैले योगदान गरेको छु, त्यसै अनुरुप काम भईरहेको छ । १ नम्बर प्रदेशमै नभएको मदन भण्डारी सभाहल ३५ करोड बजेटमा उदयपुरमा बन्दैछ ।  दुईवटा हल अतिथि गृह बन्ने कार्य अगाडि बढिरहेको छ । त्रियुगा नदि नियन्त्रणका लागि पनि पहल गरेको छु । त्रियुगा नगरपालिकालाई व्यवस्थित बनाउने कार्यमा म अगाडि बढिरहेको छु । मलाई अरुसँग तुलना गर्नु छैन, जनताले बुझ्ने कुरा हो । तर मैले सकेको योजना ल्याउने कार्यमा लागिरहेको छु । मेरो कार्यकालमा धेरै ठाउँमा योजना पुगेको छ । पहिचान सहितको शहरको रुपमा त्रियुगा नगरपालिकालाई चिनाईदै छ । म नपुगेको कुनै गाउँ टोल छैन । शिक्षा, स्वास्थ्य रोजगार सहित अहिले आँखा अस्पतालका लागि पनि ४० लाख्र रुपैयाँ बजेट छुट्टिएको छ । हरेक क्षेत्रमा मैले जोड दिएको छु । त्यहाँ योजना पनि गएको छ । बजेट पनि गएको छ र काम पनि धमाधम भईरहेको छ । त्यही भएर मेरो नाम आएको छ । कांग्रेसले जस्तोसुकै उम्मेदवार दिए पनि म सजिलैसँग जित्न सक्छु ।

०००

तपाईंले त्यस ठाउँका लागि के के गर्नुभयो त ? 
१८ अर्वको चतरा गाईघाट सडक विस्तार योजना मेरै पहलमा एमाले नेतृत्वको सरकारले अघि बढायो । त्यहाँ चार लेनको बाटो बन्दैछ । ४२ वटा पुल बन्दैछन् । ठूल्ठूला बसपार्क बन्दैछन् । आँखा अस्पताल, सामुदायिक भवनहरु बन्दैछन् । नमुना शहरको पनि विकास हँुदैछ । नमुना शहरको विकासमा कति बजेट लाग्छ शहरलाई कसरी व्यवस्थित गर्ने भनेर झण्डै दश अर्ब खर्च हुनेगरी योजना एमाले नेतृत्वको सरकारले बनायो । म आफैं मन्त्री भएका बेला यो काम सुरु भएको हो ।  मेरो पहलमा भएका यिनै कामका आधारमा म यहाँका जनताको विश्वास जित्न सक्छु ।

चुनाव जित्ने आधार के हो ?
मैले त्यहाँका जनताको भावना र यथार्थताको प्रतिनिधित्व गर्छु । भौगोलिकता मैले बुझेको छु । मैले आफ्नो जिम्मेवारी पनि सफलतापुर्वक निर्वाह गरेको छु । विकास निमार्णको काममा पनि अरु जनप्रतिनिधि भन्दा म पछि परेको छैन । अब पनि मैले धेरै काम गर्न बाँकी छ । उदयपुर जिल्लामा सडक नपुगेको ठाउँमा पुर्याउन बाँकी छ । फाष्टट्र्याक खोल्ने काम भइरहेको छ, सडक बनेको छैन, पिच पुगेको छैन । विजुली सबै ठाउँमा पुग्नुपर्छ । त्रियुगा नदिले धेरे जग्गामा बालुवा मिसाएको छ । नदि नियन्त्रणमा काम गर्नु पर्नेछ । अहिले नदि नियन्त्रण गर्न सके जग्गा उर्भर बन्छ र बस्ती पनि सुरक्षित हुन्छ । मेरो पहिलो योजना त्यही हो । शिक्षा स्वास्थ्य रोजगारीका कुराहरुको विकास गर्न पनि मैले योजना बनाएको छु । जग्गा जमिन, जंगल सबै भएको क्षेत्र उदयपुरलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न सक्छौं । उदयपुर जिल्लालाई सुरक्षित व्यवस्थित र सुन्दर शहर बनाउने मेरो योजना छ ।

चुनाव खर्चिलो हुँदै गएको छ, तपाईंले चुनावका लागि कति बजेट छुट्याउनु भएको छ ?
जसको पैसा छ उसको खर्च हुन्छ । मसँग पैसा छैन खर्च पनि गर्दिनँ । जनता छन् मेरो साथमा, पार्टी छ, त्यही हो ।

चक्रपथ बाट सभार गरिएको ।

प्रतिक्रिया

सम्बन्धित खवर