काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवं राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफूलाई एमालेमा प्रवेश गर्ने हल्ला चलाएर अपमानित गर्न खोजिएको गुनासो गरेका छन् ।

वामपन्थीसँग तालमेल गरेर निर्वाचन जितेलगत्तै सामाजिक सञ्जालमा अब लिङदेन एमालेमा प्रवेश गर्ने चर्चा व्यापक बनेको छ । यस्तो चर्चा चलेको सुनेपछि हामीले लिङदेनलाई सोध्यौं के तपाई अब एमालेमा प्रवेश गर्नुहुन्छ ? जवाफमा उनले भने यो हावा कुरा हो ।

समान्य गरिब परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपालाई राष्ट्रिय पार्टी बन्ने सम्भावनाको नजिक ल्याएका छन् ।

पार्टी अध्यक्ष कमल थापाले कांग्रेससँग तालमेल गरेर मकवानपुरमा चुनाव हारेका बेलामा झापा ३ मा लिङ्देनले वामपन्थीसँग तालमेल गरेर पार्टीको साख जोगाएका छन् । त्यसो त लिङदेनले स्थानीय निर्वाचनमा पनि झापामा राप्रपाको साख जोगाएका थिए ।

अब कमल थापा नेतृत्वको राप्रपाको भविश्य के होला ? यस विषयमा अनलाइनखबरले राप्रपा महामन्त्री लिङदेनसँग छोटो कुराकानी गरेको छः

वामपन्थीसँग मिलेर तपाईले झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको छ । तर, तपाईले गाई चिन्ह लिएर चुनाव जित्नासाथ अब राजेन्द्र लिङदेन एमालेमा प्रवेश गर्छन् भन्ने हल्ला सामाजिक सञ्जालमा चल्न थालेको छ । के अब तपाई एमालेमा प्रवेश गर्ने सम्भावना छ ?

यो हावा कुरा हो । म एउटा राष्ट्रिय पार्टीको महामन्त्री हुँ । राप्रपाको नेता हुँ । पार्टीको महामन्त्रीजस्तो पदमा भएको व्यक्तिलाई अर्को पार्टीमा प्रवेश गर्दैछ भनेर हल्ला चलाइनु ममाथिको अपमान हो । यस्तो हल्लामा कुनै सत्यता छैन ।

चुनावअघि एमाले नेता केपी ओलीसँग तपाईको कुनै गोप्य सहमति भएको छ रे नि ?

यसमा कुनै सत्यता छैन । राप्रपाले झापामा वाम गठबन्धनसँग चुनावी तालमेल मात्रै गरेको हो । झापा ३ मा वाम गठबन्धनका साथीहरुले हामीलाई सघाउनुभयो, हामीले जिल्लाका अन्य क्षेत्रमा गठबन्धनलाई सघायौं ।

राप्रपा अध्यक्ष कमल थापाले कांग्रेससँग तालमेल गरेर मकवानपुरमा चुनाव हार्नुभयो । तपाई महामन्त्रीले चाहिँ वामपन्थीसँग तालमेल गरेर चुनाव जित्नुभयो । राप्रपामा कमल थापाको लाइन पराजित भयो भने तपाईको लाइनले जित्यो । अब नैतिकताका आधारमा अध्यक्ष थापाले राजीनामा दिनुभयो भने तपाई राप्रपाको नेतृत्व गर्न तयार हुनुहुन्छ ?

अध्यक्षले राजीनामा दिनैपर्दैन । किनभने, झापामा वामपन्थीसँग तालमेल गर्ने लाइन मेरो हैन, अध्यक्षज्यूकै हो । ‘इलेभेन्थ आवर’ आवरमा आएर कांग्रेसले हामीलाई धोका दिइसकेपछि हामीले अध्यक्ष कमल थापाकै पहलमा वामपन्थीसँग तालमेल गरेका हौं । तर, ढीलो भएसकेकाले झापामा मात्रै तालमेल गर्न भ्याइयो, अन्यत्र समय पुगेन ।

कांग्रेसले धोका दियो भन्नुभयो, कसरी धोका दियो कांग्रेसले ?

कुन कुन निर्वाचन क्षेत्रमा तालमेल गर्ने भनिसकेपछि झापा ३ मा कृष्ण सिटौलालाई हाम्राविरुद्ध कसले पठायो ? केपी ओलीले भन्ने गरेजस्तै कांग्रेसको अर्को नाम धोकेबाज पनि हो भन्ने कुरा प्रमाणित भयो । तर, कांग्रेसले हामीलाई धोका दिन खोज्दा उसले पनि नराम्रो परिणाम भोग्नुपर्‍यो ।

तर, कांग्रेससँग सम्झौता गरेर चुनाव हारिसकेपछि राप्रपा अध्यक्ष कमल थापाले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ?

अध्यक्षले राजिनामा दिनुपर्ने कुनै कारण छैन । चुनावी परिणाम सोचेजस्तो आएन । तर, हामी राष्ट्रिय पार्टी हौं । समानुपातिकतर्फ थ्रेसहोल्ड सहजै कट्ने मलाई विश्वास छ । अब हामी हाम्रा कमीकमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्छौं । यसका लागि कमल थापाको नेतृत्व आवश्यक छ, राजिनामाको आवश्यकतै छैन ।

अब राप्रपालाई के आधारमा अगाडि बढाउने ? एकातिर वामपन्थी छन्, अर्कोतिर कांग्रेस छ । राप्रपाको औचित्य कहाँनेर रहन्छ ?

हामीले कांग्रेस र कम्युनिष्ट भन्दा फरक वैकल्पिक राजनीतिक धारसहितको पार्टी बनाउन खोजेका हौं । नेपालमा त्यसको औचित्य अझै यथावत छ ।

वामपन्थीसँग तालमेल गरेर चुनाव जित्नुभयो, आगामी संसदमा उनीहरुसँगको राप्रपाको सम्बन्ध कस्तो हुन्छ ?

हामी विशेष गरी राष्ट्रियता लगायतका सवालमा वामपन्थीहरुसँग सहकार्य गरेर अगाडि बढ्न सक्छौं । अब पार्टीको बैठकले निर्वाचनको समीक्षा गर्ने छ र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने तय गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय