हाम्रो नियन्त्रणमा नभएका चिजहरू जस्तै उमेर, लिंग र वंशानुगत कारणले हुने समस्यालाई रोक्न सकिँदैन । तर हाम्रो आफ्नै कारणले निम्त्याइएको जोखिम भने नियन्त्रणमा ल्याउन सकिन्छ । समस्यालाई न्युनिकरण गर्न सकिन्छ ।

अधिकांश हृदयाघात अस्वस्थकर खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसलाई हामी आफैँले नियन्त्रणमा ल्याउन सक्छौँ । तर, पनि हामी समयमा ख्याल गर्दैनौँ । रोग लागेर ढलिसकेपछि नियन्त्रण गर्छु भन्दा धेरै ढिला भैसकेको हुन्छ । त्यसकारण हृदयाघातबाट जोगिन मानिसले आफ्नो दैनिकी तथा खानपिनमा नै सुधार ल्याउनु पर्छ ।

सबैभन्दा प्रमुख कुरा मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपन जस्ता कुरालाई नियन्त्रणमा राख्नुपर्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको नै व्यायाम हो । व्यायामको एउटा बाणले हृदयाघात गराउने पाँच वटा प्रमुख कारकलाई नियन्त्रण गर्न सकिन्छ ।

हृदयघातबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान तथा सुर्ती सेवन नगर्ने, अत्याधिक मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने र मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ । प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले हृदयाघातको जोखिम कम्तीमा ८० प्रतिशत घटाउन सकिन्छ ।

समाज तथा राष्ट्रका तर्फबाट पनि नियन्त्रणका कार्य अगाडि बढाउँनु पर्छ । व्यक्तिले आफ्नो जीवनशैली तथा खानपानमा सुधार ल्याउँदा ल्याँउदै पनि अन्य सामाजिक कारणले पनि हृदयरोग निम्तन सक्छ । प्रदुषण नियन्त्रण गर्ने काम व्यक्ति एउटाको प्रयासले मात्र सम्भव हुन्न । दमले पनि हृदयाघात हुन्छ भन्ने प्रमाणित भैसकेको छ । त्यसकारण दम गराउने कारकहरू प्रदुषण, धुलो, धुँवा नियन्त्रणका लागि सरकारले प्रदुषण नियन्त्रणका कार्यक्रम ल्याउँनुपर्छ । ग्रामीण भेगमा धुँवारहित चुलोको बिस्तार गर्न सरकार तथा समुदायले पहल अगाडि बढाउँनु पर्छ ।

अर्को कुरा अहिले बजारमा बढ्दै गएको जंकफुड नियन्त्रणका लागि पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । जंकफुड मुटुरोगको अर्को कारण हो । यसलाई कसरी निरुत्साहित र नियन्त्रणमा ल्याउने भन्ने कानुन बनाउन आवश्यक छ ।

पश्चिमा देशको जीवनशैली नक्कल गर्ने क्रममा अहिले युवामा हृदयाघातको जोखिम तीव्र रुपमा बढेको छ । ४० वर्षभन्दा कम उमेरका युवामा हृदयाघात भएकामध्ये ९८ प्रतिशत लामो समयदेखि धूमपानको लतमा परेको पाइन्छ । हृदयाघातको उपचारका क्रममा सबैभन्दा कम उमेर २१ वर्षकी युवतीको उपचार गरेको छु । ती युवतीलाई जीवनशैलीका कारणले भन्दा पनि मुटुको नली सुन्निने समस्याका कारण हृदयाघात भएको थियो । हृदयाघात वंशाणुगत तथा मुटुका अन्य संक्रमणका कारण पनि हुन्छ । यस्तो समस्या निराकणका लागि समय–समयमा स्वास्थ्य परीक्षण गराइरहनु पर्छ ।

हृदयाघात भैसकेपछि समयमा नै अस्पतालमा पु¥याउँन सके धेरैको ज्यान जोगाउन सकिन्छ । हृदयाघात नै भएर ढलेका बिरामीको उपचार भनेको बन्द भएको मुटुको रक्तप्रवाहलाई खुलाउनु हो । बन्द रक्तप्रवाहलाई जतिसक्दो चाँडो खुलाउन सक्यो त्यति धेरै बिरामीको बाँच्ने सम्भावना हुन्छ । बन्द भएको मुटुलाई चिकित्सकले २ तरिकाले खोल्न सक्छन् । पहिलो उपाय भनेको औषधि दिएर र दोस्रो भनेको एन्जियोप्लाष्टि गरेर हो । हृदयाघात भैसकेपछि ज्यान जोगाएका बिरामीले जीवनशैली र खानपिनको बारेमा ध्यान दिनुका साथै नियमित औषधि पनि सेवन गर्नुपर्छ । यसका साथै बिरामीले चिकित्सकको निगरानीमा पनि रहिरहनुपर्छ ।

-स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय