ब्यांग्य

परम प्रतापी अति प्रजावत्सल पूर्व महाराजधिराज ज्ञानेन्द्र सरकारबाट अस्ति भर्खर चरम निगाहापूर्वक मुलुक र मुलुकवासीका नाममा हुकुम भएको छ । प्यारा देशबासीका मायाले फेरि सरकारबाट नेतृत्व लिने इच्छा जाहेर गरिबक्सेको छ । यस इच्छाले सारा देशबासी कति गदगद भएका छन् भने लाग्छ काठमाडौंमा लोडसेडिङ यसैको खुसियालीमा दिपावली गर्न हटाइएको हो ।

मौसुफको यस महावाणीले तमाम ‘राष्ट्रवादी’को शरीरमा सरर रक्तसञचार भएको छ । मुलुक टुक्रिसक्या’ थियो मौसुफको वक्तव्यले चपक्कै जोडिएको छ । हिमाल, पहाड र तराईका जनताबीच एकता टुटेर छिन्नभिन्न भइसकेको थियो । मुलुक नै विभाजित भएर फरक फरक देशको नाम तोकिनमात्रै बाँकी थियो । धिराजको वक्तव्यका ओजले पग्लिएर कहिल्यै नटुक्रिनेगरी जोडियो । क्या जादूगरी ! क्या ओजतेजपूर्ण वाक्य । महाराजलाई कस्ले सक्नु ?

महाराजको यस्तो महावाणीले मुलुकै पुलकित भैरा’को बेलाँ पनि विरोधमा मुठ्ठीभर कुतत्त्व उफ्रिएका देख्दा आश्चर्य लागेको छ । महाराजबाट यस्तो महावाणी बक्स हुँदा “श्री ५ महाराजधिराज सरकारको जय ! जय!! जय !!!” भन्न छोडेर उल्टै आलोचना गर्ने कहाँसम्मका बेसोमती हुन् ? राजाले बोलेको कुराको पनि आलोचना गर्ने ? विष्णु औतारीको नि कुरा काट्ने ? घोर अनर्थ ! घोर कलिजुग ! राजा त धर्तीमा औतार लिएका साक्षात् भगवान हुन् । भगवानको नि निन्दा गर्नु हुन्छ ? उल्टै त्यस्ता परमात्मा माथि नै छानबिन हुन्छ । कार्वाही हुन्छ रे ! तिम्लाई नास्तिक हो !

केसम्म भन्न सकेका ? पापधर्मको त ख्याल राख्नुपर्छ । घोर कलिजुग ! धन्न नेता बोल्या छैनन् । पोहोर त सर्कार बढी बोलिबक्स्यो भनेर राजदरबार हत्याकाण्डको छानबिन गर्ने भन्दै थिए । साक्षात विष्णु औतारीले गरिबक्सेको लीलाको नि छानबिन गर्छु भन्ने कत्रो आँट ? पापका भकारी ।

पूर्वराजालाई जतिसक्दो बोल्न दिनुपर्छ । किनभने महाराजको पालामा पनि हामीलाई बोल्न दिबक्सेको थियो । सरकारले त बोल्ने मौका मात्रै बक्सेको थिएन बोलेबापत भाटा, बुट र चिसो छिडी पुरस्कारसमेत बक्सेको थियो । यो गुण सम्झनु पर्दैन ? कानुनबमोजिम कि विपरीत जेसुकै होस् महाराजलाई बोल्न दिम् ।

सकिन्छ र महाराजले हामी र हाम्रो मुलुकप्रति निगाह राखिबक्सन्छ भने फेरि राजगद्दीमै ल्याएर विराजमान गराम् । महाराजको पालामा कस्तो सुशासन थियो । चोकमा दुईचार जना जम्मा भएको मात्रै देखिए पनि कटबाँसका भाटाले निःशुल्क डडाल्नु मर्मत गरिन्थ्यो । जनतालाई यति सुख र सुबिधा दिइएको थियो कि मोबाइल स्विच अफ गर्न समेत पर्दैनथ्यो । सरकार आफैँले प्यारा प्रजालाई दुःख नहोस् भनेर मोबाइल, टेलिफोन सेवा बन्द गरी बक्सेको थियो ।

जनसञ्चार माध्यमका लागि त स्वर्ण जुगै थियो । सम्पादनको कामदेखि समाचार उत्पादन, लेखनको कामसमेत गर्न महाराजले सेना खटाइबक्सेको थियो । सुरक्षाको त कुरै छाडम् । बिहान काममा हिड्याँ मान्छे बेल्का जिम्दै फर्किन नि सक्थे । बेलुका सुत्या मान्छे सुरक्षाकर्मी र विद्रोहीको गोलीबाट छलिन सके बिहान सारसम्दै उठ्थे ।

दूरदराजमा दुःखी र कठिन जीवन बिताउइरहेका जनतालाई माओवादीको अरोपमा गोलीले भुटेर दु:खको सागरबाट मुक्त गराइन्थ्यो । झन् युवराज सरकारको त नकुरा गरम् । सडकमा हिडेका दु:खी आत्मालाई गाडीले ठोसी परमात्मामा लिन गराइदिबक्सन्थ्यो ।

यस्ता राष्ट्रप्रेमी, जनताप्रेमी, प्रजाबत्सल राजाको आलोचना नगरम् । सकिन्छ फेरि दरबारै फर्काम् । नारायणहिटी दरबार सङ्ग्रालयको ढोकाको नेतृत्व दिम् ! जयजयकार गरम् । सकिन्न चुप लागम् । बाह्खरीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय