#

उर्लाबारीमा मेयर फागो र प्रमुख प्रशासकीय अधिकृतबीच लफडा, मेयरबाट असुरक्षित भएको भन्दै सुरक्षा माग

    २०७६ भाद्र २७, शुक्रबार २०:०७ मा प्रकासित

विराटनगर । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा ताला लगाएका छन् । मन्त्रालयले मागेको कागजात पठाउने विषयमा विवाद भएपछि उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको क्वार्टरमा नगरप्रहरी प्रयोग गरी ताला लगाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मागेको कागजात पठाउने विषयमा पाँच दिनअगाडि प्रमुख फागो र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो । विवादपछि आफूलाई असुरक्षित महसूस गर्दै अधिकृत रेग्मीले उर्लाबारी छाडेका थिए । नगरपालिकाका उपमेयर लक्ष्मी भण्डारी क्वार्टरमा रेग्मीको परिवार रहेकै अवस्थामा ताला लगाएको आफूले जानकारी पाएको बताइन् । नगर प्रमुख खड्ग फागाे भने प्रमुख प्रशासकिय अधिकृतले क्वाटर छाडेपछि सुरक्षाकालागि ताला लगाएकाे बताउँछन् । कार्यलय नअाएकाे विषयमा स्पष्टिकरण साेध्दा सामान्य भनाभन भएकाे उनले बताए ।

सुरक्षाका लागि रेग्मीले प्रशासन गुहारे

असुरक्षित भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले आफ्ना लागि सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । प्रमुख फागोका कारण आफू असुरक्षित भएको भन्दै उर्लाबारी छाडेका रेग्मीले जिल्ला प्रशासन कार्यालय माेरङमा सुरक्षा माग्दै निवेदन दिएका हुन् ।

आफूले भनेको नमानेको भन्दै प्रमुख फागोले रेग्मीलाई धाकधम्की गर्दै अपशब्द प्रयोग गरी गालीगलौज गरेको अधिकृत रेग्मीले निवेदनमा उल्लेख गरेका छन् । विवादपछि उर्लाबारी छाडेका अधिकृत रेग्मी विराटनगर बसिरहेका छन् । अधिकृत रेग्मीको निवेदन जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले शान्ति सुरक्षा माग गर्दै शुक्रबार पत्र आएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत रेग्मीले उर्लाबारीमा आफूमाथि थ्रेट भएकाे विषयमा सुरक्षा निकायलाई जानकारी गराएकाे बताएका छन् । आफू असुरक्षित महसूस गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् शान्ति सुरक्षा माग गरेको बताउने उनी थप बोल्न चाहँदैनन् ।

कोरम नपुगी नगरसभा, आदेशपछि काम बन्द

कांग्रेसबाट निर्वाचत प्रमुख खड्ग फागो र नेकपाबाट निर्वाचित उपप्रमुख लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण नगरको काम प्रभावित भएको एक महिना पुग्यो । २९ असारमा उर्लाबारी नगरपालिकाको चौथो नगरसभा भएको थियो । १९ जना कार्यपालिका सदस्य रहेको नगरमा प्रमुख खड्ग फागोसहित नेपाली कांग्रेसका ६ जना सदस्यले निर्णय गरी चौथो नगरसभा डाकेका थिए ।

नगरकार्यपालिकामा नेकपाको १३ सदस्य छन् । तर, कांग्रेसबाट निर्वाचितहरूले अल्पमतका आधारमा एकलौटी रूपमा नगरसभा गरेको दाबीसहित उपप्रमुखसहित १३ जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्चले गत साउन २७ गते नगरसभाको निर्णय कर्यान्यन नगराउन आदेश दिएको थियो । अढाई करोड भन्दाबढी रकम प्रमुख फागोले आफूखुशी खर्च गरेको दाबी गर्दै उपप्रमुखले नगर कार्यपालिकाको बैठकमा जवाफ मागेपछि विवाद बढेको हो ।

विवाद अदालतमा पुगेपछि साउन २७ गते उच्च अदालत विराटनगरले ऐनविपरीत भएको चौथो नगरसभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि मेयरले सूचना जारी गरी काम रोकिएको बताएका छन् ।

मन्त्रालयको हस्तक्षेप

उर्लाबारी नगरपालिकाको काम सुचारु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । अदालतले चौथो नगरसभाको निर्णय कार्यान्वयनमा रोक लगाएपछि मन्त्रालयले तेस्रो नगरसभाको निर्णयकै आधारमा काम सूचारु गर्न निर्देशन दिएको हो । मन्त्रीस्तरीय निर्णयबाट निर्देशन जारी भएपनि नगरको सेवा प्रवाह सुचारु भएको छैन् । मन्त्रालयले पत्र पठाएपछि नगर कार्यपालिका बैठक बाेलाएकाे बताउँदै फागाेले बैठकबाट निकास निकाल्ने बताए ।साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु