काठमाडौं । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने भएका छन् । उनले केरलाको वायानाड निर्वाचन क्षेत्र र उत्तर प्रदेशको अमेठीबाट निर्वाचनमा लड्ने भएका हुन् । गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने विषयले अहिले भारतमा नयाँ बहस सृजना गरिदिएको छ ।
काँग्रेसका नेताहरुले यसलाई आवश्यकताका रुपमा व्याख्या गरेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी भाजपाका नेताहरुले गान्धी भागेको, डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको भन्ने गरेका छन् ।
पार्टीका नेता तथा कार्यकर्ताहरुले विगत लामो समयदेखि अध्यक्ष राहुल गान्धी दुई ठाँउबाट निर्वाचन लड्नु पर्ने माग र चाहना व्यक्त गर्दै आएका थिए ।उनीहरुले गान्धीलाई भारतको दक्षिणी क्षेत्रबाट निर्वाचन लड्न आग्रह गर्दै आएकाे भनाइ छ ।अध्यक्ष गान्धीकै भनाई अनुसार उनलाई विषेशगरेर कर्नाटक, केरला र तमिलनाडुमध्ये कुनै पनि प्रदेशको निर्वाचन क्षेत्रबाट चुनाव लड्न दवाव आएको थियो ।



