काठमाडौँ, असोज १६ गते । अखिल नेपाल भिक्षु महासङ्घले आफूलाई विधान विपरीत सामाजिक बहिष्कारको कारबाही गरेको आरोप भिक्षु आनन्दले लगाएका छन् ।
काठमाडौँको ढल्कोस्थित बौद्ध अध्ययनसम्बन्धी नेपालको पहिलो विहार सङ्घाराम विहारको विवादका सन्दर्भमा आफूमाथि उक्त कारबाही गरिएको र सो कार्यबाट आफ्नो आधारभूत मानवाधिकार उल्लङ्घन भएको गुनासो उनले गरेका छन् ।
वि.सं. २०४७ सालमा स्थापित महासङ्घको विधानमा स्पष्ट रूपमा सदस्यता भङ्ग गर्न सकिने प्रावधान छ । स्थविरवादी परम्परा अनुसार शुद्ध रूपमा त्रिशरण ग्रहण गरी प्रव्रज्या भएको श्रामणेर भावबाट च्यूत भएकाले महासङ्घबाट निष्कासित गरेमा, त्यस्तो भाव स्वेच्छाले त्यागेमा र महासङ्घको विरोधमा अर्को कुनै सङ्घसंस्था वा महासङ्घको विरोधमा कार्य गरेमा सदस्यता भङ्ग हुने उक्त विधानमा उल्लेख गरिएको छ ।
आफूले कुनै पनि त्यस्तो कार्य नगरेकाले सदस्यता भङ्ग गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्दै विधानतः जोकोहीलाई सामाजिक बहिष्कार गर्ने अधिकार नभएकाले अखिल नेपाल भिक्षु महासङ्घमाथि नै भिक्षु आनन्दले प्रश्न उठाए ।
सङ्घाराम विहारसम्बन्धी विवादसँग जोडेर आफूलाई कुनै जानकारी नै नदिई पूर्वाग्रही रूपमा सत्यतथ्य नबुझी, निष्पक्ष छानबिन नगरी बिनाप्रमाण, बिनासोधपुछ कारबाही गरेकोमा उनले दुखेसो पोखे ।
जेठ २१ गते बैठकका लागि पठाएको पत्र जेठ २२ गते हातमा पुग्नु एक दिनअघि नै सामाजिक बहिष्कार गर्नु आजीवन बुद्धधर्म र बुद्ध शासनमा समर्पित भिक्षुलाई धार्मिक सामाजिक प्रतिष्ठामा आँच आउने गरी निर्णय गर्नु धर्मविनय अनुकूल नभएको उनले जानकारी दिए ।
पूर्व सभासद पनि रहनुभएका भिक्षु आनन्दका अनुसार निर्णय फिर्ता लिँदै सङ्घाराम विहारसम्बन्धी विवादबारे द्विपक्षीय, त्रिपक्षीय संवादका लागि पटकपटक ताकेता गरे पनि कुनै सुनुवाइ नहुनु आफैमा रहस्यको विषय बनेको छ ।
अपारदर्शी रूपमा आर्थिक हिनामिना गरेको एक पक्षलाई कानुनी दायरामा ल्याउन सङ्घाराम विहारका गुरु अश्वघोष महास्थविरको सहमतिमा २०७२ सालमा विधिवत् रूपमा सङ्घाराम विहार दर्ता गरेको भिक्षु आनन्दले उल्लेख गरे । गुरु अश्वघोष आफ्नै इच्छाले शान्तिपूर्ण वातावरणको खोजीमा पनौतीस्थित ध्यानकुटीमा जानुभएको उहाँले बताए ।
भिक्षु आनन्दले धार्मिक, सामाजिक र न्यायिक अधिकारबाट च्यूत गरेर आफ्नो मानवाधिकार भिक्षु महासङ्घले हनन् गरेको आरोप लगाए । गोरखापत्र दैनिकमा उपेश महर्जनले खबर लेखेका छन् ।



