#
बिचार/ब्लग

दासढुंगाको दाग

  पत्रपत्रिका   ३ जेष्ठ २०७६, शुक्रबार ०८:२४

पदमसिंह कार्की

पच्चीस वर्षमा त्रिशूली नदीको पानी अबिरल बगे पनि दासढुंगाको दाग अझै पखाली सकेको छैन। २०५० जेठ ३ गते साँझ पोखराबाट चितवन जाने क्रममा जीप दुर्घटनामा तत्कालिन एमालेका महामन्त्री मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आ िश्रतले सहादत प्राप्त गरे। अहिलेसम्म दशीप्रमाणसहित हत्याराको टुंगो लागि नसकेको यो दुर्घटना रहस्यमै रहन वाध्य छ। यो हत्या प्रकरणले अमेरिकी राष्ट्रपति केनडी र भारतका स्वतन्त्र सेनानी सुवासचन्द्र बोसको हत्याकै नियति पछ्याउने त होइन ?

जीपचालक अमर लामा भने बाँच्न सफल भए। नारायणघाट चौकीमा पुगेर उनले नै दुर्घटनाको खबर पुर्‍याएका थिए। तत्काल चितवनका कार्यकर्ता, प्रहरीले खोजीकार्य सुरु गरे पनि त्यस दिन राती परिणाम आउन सकेन। रेडियो नेपालले बेलुकी ११ बजेको समाचारमा सो दुर्घटना प्रसार गरेपछिको टेलिफोन सम्पर्कले कार्यकर्ताको निन्द्रा बिथोलियो। भोलिपल्ट बिहानदेखिको अथक प्रयासपछि तीन दिनमा लाश फेला पर्‍यो।

जसलाई काठमाडौंमा ‘शोकलाई शक्तिमा बदलौं’ को नाराका साथमा शवयात्रा गरियो। शोकको आक्रोशमा छिटफुट तोडफोडका घटनाले अधिराज्यभरि व्याप्त भए। सरकारले सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा छानबिन आयोग गठन गर्‍यो। तर पार्टीले त्यसको विश्वसनियतामा प्रश्न उठाएर केपी ओलीको नेतृत्वमा छुट्टै समिति गठन गर्‍यो। त्यतिले नपुगेर नागरिक समाजको तर्फबाट पद्मरत्न तुलाधरको अध्यक्षतामा समिति बन्यो। कसैले हत्यारा र हत्याको सत्यतथ्य खुलाउन सकेन। एकातिर दुर्घटना झन् रहस्यात्मक बन्यो भने विभिन्न किसिमका हल्लाका बेलुनहरूले शोकाकुल आकाश ढाके। सीआईएदेखि रअसम्म शंकाको घेरामा।

मदन भण्डारीको युगान्तकारी चिन्तनले नेपालमा मात्र होइन विश्वको कम्युनिस्ट आन्दोलनले नै जनमतको आधारमा प्रजातान्त्रिक दिशातिर कोल्टे फेर्दैछ।

आरोपको औंला राजा वीरेन्द्रमाथि पनि ठडिए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सत्तोसराप गरियो। षडयन्त्रको मोसोले थुप्रैको चरित्रमा धावा बोल्यो। हुँदाहुँदा तत्कालिन उत्तराधिकारी महासचिव माधव नेपालतिर पनि औंला देखाइयो। राजतन्त्रको विरोधमा भारतीय सेना उतार्न मदन भण्डारीले इन्कार गरेकाले माधव नेपालले कर्मको फल चखाएको भन्ने भूमिगत हल्लाले पार्टीको चरनै हल्लायो। त्यसपछि बल्ल हल्ला र अनुमानको शृंखलामा पूर्णविराम लगाउन पार्टी वाध्य भयो।

हुन त ड्राइभर अमर लामाले पदमरत्न तुलाधरसँगको कुराकानीमा दुर्घटना हुँदा भण्डारीले जीप चलाएको खुलासा गरेका थिए भन्ने जानकारी प्रेसमा नआएको होइन। तर पनि जिल्ला अदालत चितवनले लामालाई उनको असावधानीको कारण मृत्यु भएको ठहर गरी आजीवन काराबासको सजाय तोक्यो। जेलबाटै यिनले उनकी पत्नी गोपीलाई पठाएको पत्रमा आफ्ना नेता भण्डारी र आ िश्रत मरेर आफू बाँचेकोमा पश्चाताप पोखेका छन्। पाँचवर्ष कैद भुक्तानी गरेपछि यिनलाई सर्वोच्च अदालतले रिहा गर्‍यो। त्यसपछि उनी एकै पटक नेपाली कांग्रेस र ताजाखबर पत्रिकाका सञ्चालक भए।

दासढुंगा दुर्घटनाको दशवर्ष नपुग्दै पत्रिका कार्यालयको सडकबाट दिनदहाडै अपहरण गरी कीर्तिपुर लगेर दुर्दान्त हत्या गरियो। माओवादीले गरेको भनिएको सो हत्याले एमाले नेताहरूको हत्याको बदला किन माओवादीले लिन उद्यत भए त भन्ने प्रश्नको जवाफ नपाउँदै अमर लामाको हत्या गरेर षडयन्त्रको सिद्धान्तको प्रतिपादन गरिएको त होइन ? भन्ने ठाउँ लिएको छ। यसरी अमर लामा प्रकरणको भौतिक पटाक्षेप अन्त्य भए पनि थुप्रै राजनीतिक पाटाको समीकरण र ध्रुवीकरणको विश्लेषण गरेरमात्र रहस्यको उद्घाटन गर्नुपर्ने देखिन्छ।

ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेका मदन भण्डारीले स्थानीय स्कुलमा प्रारम्भिक पढाइपछि वनारसमा अध्ययन गरे। पुष्पलालको नेतृत्वमा पार्टी प्रवेश गरेर,माक्र्सवादी लेनिनवादी पार्टीको संस्थापक सदस्य भए। जनमतसंग्रहमा बहुदललाई साथ दिएर जनताका बीच पुग्न सफल भए। मनमोहन अधिकारीको माक्र्सवादीसँग एकीकृत गरेर एमालेको महासचिव हुन सफल भए। बुलेट होइन ब्यालेटबाटै परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासका साथ वामपन्थ र संसद्वादको फ्युजन गरेर न दक्षिणपन्थी न त उग्रपन्थी दुवैको बीचबाट मध्यममार्गको आविस्कार गरे।

जडवादी सोचको बिसर्जन गरेर बहुलवाद र प्रतिस्पर्धी राजनीतिको आत्मसात् गर्दै ‘जनताको बहुदलीय प्रजातन्त्र’ अर्थात जबजको मूल सिद्धान्तको प्रतिस्थापन गरे। ३० वर्षपछिको आम निर्वाचनमा होमिएर पार्टीलाई त भारी बहुमतले जिताए। आफूले पनि कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई काठमाडौंबाट हराएर कीर्तिमान कायम गरे। काठमाडौंको चुनावी आमसभामा राजालाई गद्दीमा श्रीपेच फुकालेर चुनाव लड्न सार्वजनिक चुनौती दिएपछि सबैभन्दा बहादुर नेताका रूपमा स्थापित भए मदन।

त्यतिमात्र होइन एमाले अध्यक्ष मनमोहनलाई नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनाउने श्रेय पनि प्रकारान्तरले भण्डारीकै पोल्टामा पुगेको छ। भारत चीन र एसियाको ध्यानमात्र खिचेनन् पश्चिममा समेत ख्याति फैलिएको प्रमाण न्यूजविकले प्रकाशित गरेको अन्तर्वार्ता पनि हो। यसरी पार्टीरुपी विमान र महासचिवरुपी पाइलटले उचाइको गन्तव्यमा नपुग्दै मदन भण्डारीले सहयात्री जीवराजलाई समेत महायात्रामा सामेल गराए।

४१ वर्षको अल्पायुमा मृत्युवरण गरे पनि उनले शतायु कटेका धेरै दीर्घजीवीलाई उछिनेर अजम्बरी बनेका छन्। ईश्र्यालुहरूले दुलोबाट निस्केको नेता भनेर जति उडाउन खोजे पनि मदन भण्डारीको युगान्तकारी चिन्तनले नेपालमा मात्र होइन विश्वको कम्युनिस्ट आन्दोलनले नै जनमतको आधारमा प्रजातान्त्रिक दिशातिर कोल्टे फेर्दैछ। जसको बलियो प्रमाण भारतका कम्युनिस्ट पार्टीले मदनलाई सार्वजनिक सम्मान दिए। जसमा हिन्दीमा धाराप्रवाह सारगर्भित भाषण गरेर जनसभालाई मन्त्रमुग्ध बनाएको कलकत्ताका अखबारले प्रमुखताका साथ छापेका थिए। अहिले पनि नेपालमा उनका भाषण सर्वाधिक गुञ्जिने र संग्रहित हुने गरेका छन्।

मदन र जीवराजको शोकलाई शक्तिमा बदल्ने एमालेको सपना साकार नभएको होइन। मदनको आलो शोकलाई भजाएर पुनः कृष्णप्रसाद भट्टराईलाई हराएर श्रीमती विद्या भण्डारी सांसद भइन्। अहिले राष्ट्रप्रमुखमा आसीन छन्। तत्कालिन पार्टीको छानबिन समितिका संयोजक रहेका केपी ओली स्वयं कार्यकारी प्रमुख छन् तर दासढुंगाको छानबिनको क्रम एकरति अघि बढेको छैन। बरु उहाँहरू नै दुर्घटनाको सत्यतथ्य अहिलेसम्म पारदर्शी नभएकोमा चिन्ता जाहेर गर्न चुक्नु हुन्न। उनको सम्झनामा स्कुल, क्याम्पस र राजमार्गका नामकरण गरिए। स्मारक र स्तम्भ ठाउँठाउँमा राखिए।

जबसम्म हत्यारा खुट्टिँदैन तबसम्म यस्ता काम विषयान्तरको खातिर जस्तो मात्र देखिन्छ। जबजको थांक्रोमा झुलेको फल टिप्न पार्टी एकीकरणको बाली भित्र्याउने साइत पनि जेठ ३ को स्मृतिमा जुराइएको छ। तर जबसम्म दासढुंगा दुर्घटनाको जीपसँगै यसको रहस्यलाई उर्लाबारीको मदन भण्डारीको संग्रहालयमा ढुसी पारेर राखिन्छ तबसम्म मदनको भड्केको आत्माले शान्ति पाउने छैन। अन्नपूर्ण पोस्ट बाट साभार

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु