उदयपुर : प्रदेश नम्बर १ को केन्द्रमा रहेको इटहरी उपमहानगरपालिका अहिले विवादै विवादको घेरामा छ। विवादको मुख्य केन्द्र बनेका छन् यो उपमहानगरपालिका मेयर द्‍वारिकलाल चौधरी। उनीह केही समयदेखि कर्मचारी र पत्रकारलाई लक्षित गरी जथाभावी बोलिरहेका छन्। एकजना जनप्रतिनिधिले आफ्नो र पदीय मर्यादालाई समेत भुल्दै बोलेपछि उनको आलोचना भइरहेको छ। भ्रष्टाचारविरुद्ध अभियान छेडेको भनिएका चौधरीकै पक्षमा पनि आवाज उठिरहेको छ।

पछिल्लो समय विवादित बनेका स्थानीय सरकारका जनप्रतिनिधिमध्ये अग्रस्थानमा द्वारिकलालको नाम आइरहेको छ। पछिल्लो समय पत्रकारलाई लोपार्नेदेखि नाकको डाँडी भाँच्न एक करोड विनियोजन गरेको धम्की दिएपछि चौधरी विवादको भूमरिमा परेका छन्। विवादै विवादमा फसेका उनै द्वारिकलाल चौधरीसँग प्रदेश-१ बाट थाहाकर्मी विदुर कटुवालले गरेको कुराकानीको सम्पादित अंश :

इटहरी उपमहानगरपालिकाको हालखबर के छ?

अहिले सम्मानीय राष्ट्रपतिज्यूको अध्यक्षतामा सम्पन्‍न हुन लागिरहेको वन वातावरणसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा भाग लिन नेपालगन्ज आएको छु। यतिखेर इटहरी उपमहानगरपालिका आर्थिक वर्ष ०७५/०७६ को नीति कार्यक्रम, बजेट, योजना निर्माण गर्ने काममा जुटेको छ। आर्थिक वर्ष २०७४/०७५ को नीति तथा बजेटअनुसारको लक्ष्य तय गरिसकेका छौँ। आगामी आर्थकि वर्षको नीति तथा कार्यक्रम तयारीमा जुटिरहेका छौँ।

आगामी आर्थिक वर्षको ०७५/०७६ को नीति तथा बजेट निर्माणमा लागिसक्नु भएको हो?

हो। योजना संकलनका लागि वडाहरूमा धमाधम काम भइरहेको छ। वडा कार्यलयको आयोजनामा वडास्तरका भेला सम्पन्‍न हुँदै छन्। जनताको आवश्यकता माग संकलन गरेर इटहरी उपमहानगरपालिकाको योजना बैंकमा दर्ता हुँदैछ। वडा र उपहानगरपालिकाको समग्र बजेटको सिलिङ बनाउँदैछौँ। स्वास्थ्य, कृषि, समाजिक क्षेत्रका योजाना विशेष प्रथामिकतामा राखेका छौँ। हामी चाँडै नगरसभाको तयारीमा छौँ।

इटहरी उपमहानगरपालिकामा किन पटक पटक विवाद भइरहेको छ?

१५/२० वर्ष स्थानीय निकायको निर्वाचन हुन सकेन। अहिले संघीय संरचनाअनुसार स्थानीय तह बनेका छन्। हामी तीन तहको सरकारको अभ्यास गरिरहेका छौँ। वर्षौं जनप्रतिनिधिविहीन हुँदा दलीय संयन्त्रलाई सिरानीमा राखेर कर्मचारीले मनोमानी गरे।

अडियो अन्तरवार्ता

जनप्रतिनिधि नहुँदा अनेकौँ प्रकारका विकृति देखा परे। ती विकृति हटाउने काममा म लागिपरेको छु। विकृति भन्‍नाले जनताको काममा ढिलासुस्ती गर्ने, जनतालाई दु:ख दिने, योजना-आयोजनाहरूबाट घुस खाइरहेका छन्। कर्मचारीहरुमा घुसखोरी प्रवृत्ति बढेको छ। भ्रष्टाचारी कर्मचारी बढेकै हुन्। भ्रष्टचार रोक्न खोज्दा, घुसखोरी रोक्न खोज्दा सेटिङ मिलाएर भ्रष्टचार गर्नेहरू चिलबिलाएका छन्। त्यसकारण इटहरीबाट नयाँ तरंग फैलिएको छ।

भ्रष्ट कर्मचारीकै कारण इटहरी उपमहानगरपालिका विवादमा आएको हो?

कर्मचारीमा त्यति धेरै तागत छैन। एकदिन कर्मचारीहरूले नगर परिसरभित्रै ‘मेयर मुर्दावाद!’ भनेर नारा लगाए। उनीहरु नारा लाउँदै गेटसम्म आए। चोकसम्म गएको भए सेवाग्राहीले उनीहरुलाई नै कुट्ने थिए।

मेयर मुर्दावाद भन्‍ने कर्मचारी नगर परिसरबाट बाहिर निस्केनन्?

गेटबाट निस्केर चोकमा गएको भए सेवाग्राहीले भ्रष्ट कर्मचारी कुट्ने थिए। ढुंगा हान्थे र मोसोसमेत दल्ने थिए। जनताको करबाट उठेको पैसाले तलब खाएर हाजिरी गर्दै आन्दोलन गर्ने? जनताको काम नगर्ने, यो सुहाउने कुरो हो?

तपाईंले पत्रकारलाई आक्रमण गरिरहनुभएको छ नि?

पत्रकारहरू पनि स्वार्थी नेताहरूको इशारामा बैठक गरेर, मलाई बदनाम गर्ने गरी कलम चलाउँदै आएका छन्। पीत पत्रकारिता गरेका छन्। त्यस्तो पत्रकारिता गर्नेलाई मैले चाटुकारिता, पीत पत्रकारिता भनेर कमेन्ट गरेँ। अनि त्यसपछि मलाई फोन गरेर गाली गरियो। मैले भनेँ, मैले बुझिसकेको छु, कसको इशारामा, कसको हन्डी खाएर चाटुकारिता र पत्रकारिता गर्दैछौ। एकजना रहेछ, रामप्रसाद चौलागाईं। खानेपानीमा १८ वर्षदेखि छन्। के स्वार्थ छ, खानेपानीमा? अमेरिकाको राष्ट्रपति दुई कार्यकाल ८ वर्षभन्दा बढी राष्ट्रपति हुँदैन। त्यत्रो पावर इन्जोय गर्छ, खानेपानीमा के छ? पाइप विछ्याउँदा कमिसन, ट्यांकी बनाउँदा र जग्गा खरिद गर्दा पनि कमिसन खान्छन्। त्यही पैसा खुवाएर पत्रकारलाई अर्कोपटक मेयर बन्‍ने सपना देख्दैछन्। मलाई अनेकौं लञ्‍छना लगाउने?

तपाईंकै पार्टीका सहयोद्धा, सहयात्रीहरूले तपाईंलाई विवाद ल्याउने गरेका हुन् कि कसो?

रामप्रसादले ऐलानी जग्गा हडपेर महल बनाएको छ। २० वर्षअघि खोले खान पाउँदैनथे। कुलो पैनी मिचेर पर्खाल लगाएका छन्। पार्टीभित्र गुटबन्दी छ। पार्टीको हालत थाहा छँदैछ नि! नेपाली पार्टीहरू कस्ता छन् थाहै छ। ती रामप्रसाद नेकपा सुनसरी जिल्ला कमिटी सदस्य पनि हुन्।

पार्टीकै गुटबन्दीले पत्रकार प्रयोग गरेर विवादमा ल्याएका हुन्?

हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मलाई क्लीन चिट दियो, मेयर सा’व तपाईं इमान्दार हुनुहुँदो रहेछ भनेर। तीनपटक बयान दिन जानुपर्‍यो। बदमासी गर्छन् कर्मचारी, घुस खान्छन्, कर्मचारी। बदनामी हुन्छ, इटहरी उपमहानगरपालिकाका हामी जनप्रतिनिधिको।

पत्रकारको नाकको डाँडी भाँच्‍न एक करोड विनियोजन गरेको छु भन्दा इटहरी नगरपालिकाको इज्जत बढ्यो त?

इटहरीमा त मैले भनेको मात्रै हुँ, हजुर। विरानगरमा त भाँचिसकेका छन्। मैले भनेको मात्रै छु तर भाँचेको त छैन नि।

मेयर जस्तो पदमा बसेर नाकको डाँडी भाँच्छु भन्‍न सुहाउँछ त?

सुहाउँछ कि सुहाउँदैन मलाई थाहा भएन।

पत्रकारलाई धम्क्याएर प्रेस स्वतन्त्रामा इटहरी उपहानगरले अंकुश लगाउन खोजेको? मेयर भएर पनि पत्रकारलाई गालीगलौज गर्ने तपाईंको तमासा के हो त?

हातमा कलम हुँदैमा जे पायो त्यही लेख्‍ने? यसैगरी पीत पत्रकारिता गरिरहे मैले नाकको डाँडी भाँच्‍नु, मोसो दल्नुपर्दैन। अरूले नै दल्छन्। अरूले नै मैले भनेको काम गर्छन्।

किन नाकको डाँडी भाँच्‍न एक करोड विनियोजन गरेको छु भन्‍नुभएको त?

मैले विराट अनुपमजीलाई भनेकै हुँ। तिमीले डेढ वर्षदेखि मेरो खेदो गर्दैछौ भनेको हुँ। उनले लेखेका समाचाहरू हेर्नुहोस् न मेरो खेदो मात्रै खनेका छन्।

विराट अनुपमजीले लेखेका समाचारप्रति चित्त नबुझे खण्डन गर्न सकिन्छ, अदालत जान सकिन्छ नि?

मलाई अदालत जाने फुर्सद छैन। उसले दिनैपिच्छे लेख्छ, म दिनैपिच्छे अदालत जानु? दिनैपिच्छे छानविन गर्नु? मलाई फुर्सद छैन।

उपमहानगरपालिकामा डेक्स नै खडा गरेर अदालत जाने टोली बनाउन सक्नु हुन्छ नि?

ऊ दिनैपिच्छे लेख्छ, म दिनैपिच्छे जानु। (एकोहोरो हुँदै) अदालत गएर कुनै पत्रकारलाई कारबाही भएको प्रमाण देखउनुहोस्। कुन चाँहि पत्रकारलाई अदालतले कारबाही गरेको छ, अहिलेसम्म? (रिसाउँदै चुपचाप)

अदालतमा त कानुनमा जे छ, त्यही हुन्छ नी त?

अदालत गएर केही हुँदैन। अदालत गएर पनि साध्य छैन।

पत्रकारलाई धम्क्याएर समस्या सामधान हुन्छ त?

(चुपचाप एकछिन रोकिएर) स्टालिनको पालामा के गरेको थियो? माओको पालामा के गरेको थियो। लेनिनको पालामा के भएको थियो? यही नेपालमा गिरिजाको पालामा के के भएको थियो?

स्टालिन, माओ, लेनिन र गिरिजाले पत्रकारलाई नाकको डाँडी भाँच्‍ने त भनेका थिएनन् नि?

म स्टालिनको ठाउँमा छु, गिरिजाको ठाउँमा छु? म जाबो मेयरले त्यो गर्न सक्छु? मैले मुखले मात्र भनेको हुँ। फटाहा, घुसियालाई जनकारबाही गर्छु। (रिसाउँदै प्रश्न एकातिर उत्तर अर्कैतिर दिए)

तपाईंको पार्टी नेकपाले जनकारबाही गर्न भनेको छैन होला? कानुनी कारबाही गर्दा हुँदैन?

कानुनी कारबाही गर्दिनँ। जनकारबाही गर्छु। मलाई अदालत जाने फुर्सद छैन।

जनकारबाही गर्दा पार्टीकै कारबाहीमा परिँदैन?

पार्टीले जेसुकै भनोस्। पार्टीले मलाई एकपटक कारबाही गरेको थियो। ६ महिनापछि तिमी इमादार होऊ। तिमी काममा फर्क भनेको थियो। पछि क्लीन चिट पाएको व्यक्ति हुँ।

इटहरी उपमहानगरपालिकामा मेयर भएपछि के के काम गर्नु भयो त?

इटहरी उपमहानगर प्रमुख त अहिले भएको हुँ। १० वर्षअघि साबिकको हाँसपोसा गाविसको अध्यक्ष भइसकेको मान्छे हुँ। म यहीँ जन्मेको, हुर्केको मोही किसानको छोरो हुँ, धर्तीपुत्र हुँ।

धर्तीपुत्र हुँदैमा पत्रकारलाई धम्क्याउन पर्छ त?

धर्तीपुत्र भएकै कारणले पत्रकारलाई धम्‍क्याएको होइन। पत्रकारले ममाथि हिलो छ्यापेकाले हप्काएको हुँ।

हिलो पाखल्ने कानुनी उपचार थियो होला नि?

कानुनी उपचार खोज्नेले खोज्दै गर्छ। म आफ्नै हिसाबले गर्दै जान्छु। म समाचारकै मुद्दा लिएर अदालत जान्‍नँ। अदालतमा केही पनि हुँदैन।

पत्रकारलाई धम्क्याउँदै बस्दा पार्टीले निष्‍कासन गर्‍यो भने के गर्नुहुन्छ?

पार्टीले निष्कासन गर्‍यो भनेर म भोकै मर्छु? खेतबारी छ। त्यही खेतबारी खनेर खान्छु।

इटहरी उपमहानगरपालिकामा मेयर द्‍वारिकलाल चौधरीलाई मानसिक समस्या आयो भन्‍ने चर्चा नेकपा प्रदेश १ भित्र छ नि?

‘हर पागल दुनियाँको पागल देख्ता है।’ लक्ष्मीप्रसाद देवकोटालाई पनि पागल नै भनदिएको थियो। उहाँले पागल भन्‍ने कविता नै लेख्नु भएको थियो। पागलहरू अरुलाई पागल देख्छन्।

इटहरी उपमहानगरपालिकामा जनताको ढाड सेक्ने गरी कर लगाएर विवादमा आउनुभयो नि?

हामीकहाँ राजस्‍व परमर्श समिति छ। बजेट बनाउने उपमेयर छ। सिंगो टिम छ। जनताको मागबमोजिम् करको दायरा घटायौँ। जनताको आदेशलाई सिरोपर गर्छौँ। तिनै जनताको आदेशअनुसार कर घटाएका छौँ।

इटहरी उपमहागरपालिकाको सोलार घोटाला काण्डमा मेयरज्यूको नाम पनि जोडिएको थियो नि?

मेरो नाम जोडिएको थियो। मैले अख्तियारबाट क्लीन चिट पाइसकेको छु। यो नियोजित थियो। मलाई जेल हाल्नेसम्मको योजना थियो।

इटहरी उपमहानगरपालिकामा को को, कतिजना कर्मचारी भ्रष्ट छन्? नाम र पदसहित भनिदिनुहोस न?

नाम अहिलले म भन्दिनँ। सबै थाहा छ।

नाम भनेर जनतासामु चिनाइदिनुहोस न?

नाम भन्दिनँ। कठालो समातेर निकालिदिन्छु। माखा जसरी दूधबाट निकालेर फ्याँकिदिन्छु। अनि सबैले थाहा पाउनेछन्। को को घुसिया छन्। सबैलाई सडकमा पुर्‍याइदिन्छु। धैर्य गर्नुहोस्। भ्रष्ट कर्मचारीलाई जनतासामू ल्याउनेछु।

नाम नै घोषणा गरेर कठालोमा पक्रँदा राम्रो हुने थियो कि?

होइन। घुसियालाई कठालोमै पक्रेर नाम र अनुहार देखाइदिन्छु।

मेयर भएको दुई वर्षभित्र के के काम गर्नुभएको छ त?

दुनियाँ सारा काम गरेको छु। जनताको घर आँगनमा काम गरेको छु। सडक पिच भइरहेका छन्। सामाजिक, शिक्षा, स्वास्थ्य आर्थिक क्षेत्रमा धेरै काम गरिरहेका छौँ। स्वास्थ्य क्षेत्रमा भएका समस्या हटायौँ। शिक्षा क्षेत्रमा अराजकता थियो। त्यो हटाएका छौँ।

इटहरी उपमहानगरपालिकाले कतिजनालाई रोजगारी दियो? थुप्रै काम गरेको छु भन्‍नु भयो?

हामीले तलब दिएर रोजगारी दिने भनेका छैनौँ। सीप सिकाएर रोजगारी दिने भनेका छौँ। विभिन्‍न प्रकारका तालिम दिइरहेका छौँ। बोका बाख्रा, गाई माछा पाल्न सहयोग गरिरहेका छौँ। यसैबाट स्वरोजगारमुखी बनाउने काम गरिरहेका छौँ। जागिर मात्र रोजगार होइन।

सुन्‍नुहोस, एक वर्षअघि, इटहरी उपमहानगरपालिका-१८ मा स्थानीय किसानले व्यावसायिक कुखुरापालन गर्न फर्म दर्ता गर्न वडा कार्यालयबाट सिफारिस लिँदा २ हजार ५० रुपैँया तिरे। तर उनले एक हजार ५५० को बिल पाए। ती किसानले सामाजिक परिचालक नेहा तामाङलाई पैसा तिरेका हुन्। एकपटकलाई छाडिदिनुहोस् भन्दै वडा अध्यक्ष र जनप्रतिनिधिले ती किसानलाई फर्काएका थिए। त्यही वडाका सचिव शालिग्राम गुरागाईंले किसानबाट लिएको बढी पैसा फिर्ता गरे पनि जानकारी दिएका थिए। तपाईं भ्रष्टाचारीविरोधी मेयरले त्यहाँ आँखा लगाउनुभयो त?

मलाई थाहा भएन। त्यो कुरा म भएको ठाउँमा आएन।

अनि कसरी आफूलाई भ्रष्टाचारविरोधी हुँ भन्दै हुनुहुन्छ त?

भ्रष्ट कर्मचारीले लिएर फिर्ता गरे होलान्। पछि सबै सूचना आएको छ। अब यस्तो गर्नेलाई कारबाही गर्छु।

विवादको घेराभित्र रहेर इटहरी उपमहानगरवासीलाई के भन्‍नुहुन्छ?

इटहरीको विकास समृद्धिका लागि मौलाउँदै गएको भ्रष्टाचार र विकृतिको विरोधमा मिलेर लडौँ, म आह्‍वान गर्न चाहन्छु।

थाहाखबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर