#
बिचार/ब्लग

तिमीलाई माया मात्र चाहिन्छ ; मायाले मात्र पुग्दैन…

    २७ जेष्ठ २०७६, सोमबार १३:३०

निबन्धहामीमध्ये धेरैको बानी छ— मायाप्रेमलाई आदर्श बनाउने । मायालाई जीवनका सारा दु:ख हल गर्ने उपाय भन्ठान्छौं । जब मायालाई बढी आदर्शका रूपमा महत्त्व दिन थालिन्छ, तब सम्बन्धले मूल्य चुकाउन थाल्छ ।

 

 

काठमाडौँ । सन् १९६७ मा जोन लेननले लेखे— तिमीलाई माया मात्र चाहिन्छ । उनले आफ्ना दुवै श्रीमती कुटे, आफ्ना एक सन्तानलाई त्यागे, यहुदी मूलका आफ्ना गे प्रबन्धकलाई उनको पहिचान र जातको विषयमा गाली गरे, एक पटक आफू दिनभरि नग्न अवस्थामा सुतेको भिडियो अरूलाई खिच्न लगाए । त्यसको ३५ वर्षपछि अमेरिकी ब्यान्ड नाइन इन्च नेल्सका ट्रेन्ट रेज्नरले लेखे–मायाले मात्र पुग्दैन ।

 

 

स्टेज प्रस्तुति र भिडियोका कारण चर्चित भईकन पनि रेज्नर आफ्नो सारा जीवन लागूऔषध र मद्यपानबाट टाढा रहे, एक महिलासँग विवाह गरे । उनका दुई सन्तान भए र असल अभिभावक–पति बन्न सांगीतिक टुर रद्द गरे ।

यीमध्ये एकको मायाबारे बुझाइ वास्तविक थियो । एकको थिएन । यीमध्ये एकले मायालाई सबै समस्याको समाधानको रूपमा आदर्शीकरण गरे । अर्कोले गरेनन् । यीमध्ये एक आत्मरतिमा रमाउने सन्काहा थिए । अर्काे त्यस्ता थिएनन् ।

 

 

 

हाम्रो संस्कृतिमा, हामीमध्ये धेरैले मायालाई आदर्शीकरण गर्छौं । हामी यसलाई जीवनको सारा ठूला दु:खका समाधानको रूपमा हेर्छौं । हाम्रो फिल्म, हाम्रा कथा, हाम्रो इतिहास सबैले यसलाई हाम्रो जीवनका दु:ख र संघर्षको समाधान तथा जीवनको अन्तिम लक्ष्यको रूपमा व्याख्या गरेको छ । हामी मायालाई आदर्शको रूपमा हेर्छौं र यसलाई बढी महत्त्व दिन्छौं । नतिजास्वरूप हाम्रो सम्बन्धले मूल्य चुकाउँछ ।

 

जोन लेननले जस्तै हामी ‘हामीलाई माया मात्र चाहिन्छ’ भनेर विश्वास गर्छौं र आफू नजिकका मानिसप्रतिको सम्मान, मानवीयता र प्रतिबद्धताजस्ता आधारभूत मूल्यलाई बेवास्ता गर्छौं । आखिर, मायाले सबै समाधान गर्ने भएपछि कसले अरू गाह्रो कुरामा ध्यान दिन्छ र ?

 

 

तर, रेज्नरले जस्तो ‘मायाले मात्रै पुग्दैन’ भन्ने विश्वास गर्‍यौं भने हामीले पूर्ण भावनात्मक र आवेगभन्दा माथि उठेर स्वस्थ सम्बन्धलाई बुझ्छौं । त्यसपछि मात्रै हामीले बुझ्छौं, मायामा डुब्नुभन्दा हाम्रो जीवन र सम्बन्धमा बढी महत्त्वका अरू थुप्रै कुरा छन् । र, हाम्रो प्रेमको सफलता यही गहिरो र महत्त्वपूर्ण मान्यतामा अडिन्छ ।

मायाबारे तीन कठोर सत्य

 

मायालाई आदर्शीकरण गर्नुको समस्या के भने यसले हामीमा यथार्थभन्दा भ्रामक आकांक्षाहरू विकास गराउँछ । यही भ्रामक आकांक्षाले हाम्रो त्यही सम्बन्धलाई बिगार्छ जसलाई हामीले सबैभन्दा प्राथमिकतामा राखेका हुन्छौं । अब मलाई यसबारे बुझाउन दिनुस् :

 

 

१. माया सबैका लागि उस्तै अनुकूल हुन्न ।

तपाईं कसैसँग प्रेममा पर्नुको अर्थ यो होइन कि उनीहरू तपाईंका लागि लामो समयसँग असल साथी बन्न सक्छन् । माया एउटा भावनात्मक प्रक्रिया हो र अनुकूल हुनु तार्किक प्रक्रिया । र, यी दुई एकआपसमा राम्ररी घुलमिल हुन्नन् ।

आफूलाई राम्रो व्यवहार नगर्ने, हामीलाई आफ्नैबारेमा नराम्रो अनुभूति गराउने, आफूले दिएको जति सम्मान दिन नसक्ने र आफ्नो कमजोरीका कारण अरूलाई पनि बर्बाद पार्ने खालका व्यक्तिसँग पनि प्रेममा पर्न सम्भव छ ।

 

 

जीवनमा आफूभन्दा फरक महत्त्वाकांक्षा वा उद्देश्य भएका, आफूभन्दा फरक दर्शनमा विश्वास राख्ने र आफ्नो सोचाइसँग विपरीत सोच राख्ने व्यक्तिसँग पनि प्रेममा पर्न सम्भव छ । हाम्रो खुसी लुट्नेसँग पनि प्रेममा पर्न सम्भव छ । यो सुन्दा अमिल्दो लाग्ला तर यथार्थ यही हो ।

 

 

मैले भेटेका र मलाई इमेल मार्फत समस्या बताउनेहरूको बारेमा सोच्छु म । उनीहरू मायामा पर्न आवश्यक त्यो ‘झिल्को’का कारण एकअर्कासँग नजिकिएका थिए । आफू आस्थिक क्रिस्चियन र पार्टनर आफूभन्दा ठीक विपरीत महिला र पुरुष अनि जनावरसँग पनि आकर्षित हुने खालका छन् भन्ने बिर्सिएर । उनीहरूलाई यो ठीक लाग्यो । र, ६ महिनापछि, जब एक जना दिक्क मानिरहेका हुन्छन् तब अर्को साथी मोक्ष प्राप्तिका लागि क्राइस्ट पुकारिरहेका हुन्छ । तब उनीहरूलाई लाग्छ— छ्या † के भाको यस्तो ? तर, वास्तविकता के हो भने अहिले केही भा’को होइन, यो सुरु हुनुअघि नै बिग्रिसकेको थियो ।

 

 

आफ्नो प्रेमी वा प्रेमिकाको खोजी गर्दा तपाईंले आफ्ना मन मात्रै होइन, मस्तिष्क पनि प्रयोग गर्नुपर्ने हुन्छ । हो, तपाईं मनलाई चंगा बनाउने र आफ्नो पाद पनि सुगन्धित बनाउन सक्ने व्यक्ति खोज्नुहुन्छ । तर, तपाईंले उक्त व्यक्तिको मूल्य, उसले आफूलाई कसरी व्यवहार गर्छ, उसले आफ्नो नजिकका व्यक्तिलाई कस्तो व्यवहार गर्छ, उनीहरूको महत्त्वाकांक्षा र बाहिरी दुनियाँप्रतिको उनीहरूको दृष्टिकोणलाई पनि मूल्यांकन गर्नुपर्छ । किनकि तपाईं आफूसँग अनुकूल नहुने व्यक्तिको प्रेममा पर्नुभयो भने तपाईंको समय खराब बन्न सक्छ ।

 

 

२. मायाले तपाईंको सम्बन्धको समस्या समाधान गर्दैन
म र मेरी पहिलो प्रेमिका एकअर्कामा गहिरो प्रेममा थियौं । हामी फरकफरक सहरमा बस्थ्यौं, एकअर्कालाई भेट आउजाउ गर्न पैसा हुन्थेन। हामी हप्तैपिच्छेको अर्थहीन झगडा र नाटकमा पनि व्यस्त भयौं ।

 

 

जति पटक झगडा गरे पनि फेरि भोलिपल्ट बोलिहाल्थ्यौं र हामी एकअर्कालाई कति चाहन्छौं भन्ने भावना साटासाट गथ्र्यौं । हामी यस्ता सामान्य कुराले हाम्रो सम्बन्धलाई फरक नपर्ने र यसको समाधानको उपाय निकाल्नेमा आश्वस्त थियौं । हाम्रो मायाले हामीलाई यो सबै समस्या समाधान हुनेमा विश्वस्त बनायो तर व्यावहारिक रूपमा केही पनि परिवर्तन भएको थिएन ।

 

 

हाम्रो कुनै पनि समस्या समाधान भएनन् । बरु, झगडाहरू दोहोरिरहे । भनाभन बढ्दै गयो । एकअर्कालाई भेट्न नपाएको यथार्थ घाँटीमै गोमन सर्प बेरिएजस्तो डरलाग्दो थियो । हामी आफूमै यति केन्द्रित भयौं कि एकअर्कालाई बुझ्नसमेत सकेनौं । केही नबोली फोनमा घण्टौं बस्थ्यौं । यो धेरै लामो समयसम्म चल्छ भन्ने कुनै आशा थिएन तैपनि हामी तीन वर्ष सम्बन्धमा रह्यौं ।

 

 

आखिरमा मायाले सबै जित्यो, हो ?

कुनै आश्चर्यबिनै हाम्रो सम्बन्ध आगोको रापमा परेको कागजको टुक्राझैं भयो । र, यसबाट मैले के ज्ञान पाए भने : मायाले हाम्रो सम्बन्धमा भएको समस्यालाई त छोप्छ तर यसले साँच्चिकै कुनै समस्या समाधान गर्दैन ।

यसैगरी विषालु सम्बन्धहरू चल्छन् । भावनाका घनचक्करले मदहोस बनाउँछ । हरेक पटक आउने भावनाहरू अघिल्लाभन्दा महत्त्वपूर्ण हुन्छन् । तर, तपाईंसँग व्यावहारिक र स्थिर जग भएन भने बढ्दै आउने भावनाका वेगले बगाएर लैजान्छ ।

 

३. सधैं आफैंले त्याग गर्नुपर्छ भन्ने छैन

 

कसैलाई माया गर्नुको एउटा परिभाषा यो पनि हो कि तपाईं आफ्नो लागिभन्दा उसका लागि र आफ्नो आवश्यकताभन्दा उसको आवश्यकता पूरा गर्नेबारे सोच्नुहुन्छ । तर, आफैंलाई ठ्याक्कै नसोधिने प्रश्न हो— तपाईंले के त्याग गर्दै हुनुहुन्छ, अनि यो आवश्यक छ ?

 

 

मायालु सम्बन्धमा कहिलेकाहीं आफ्ना इच्छा, आवश्यकता र समय एकअर्काका लागि त्याग्नु सामान्य हो । म के भन्छु भने यो सामान्य र स्वस्थ हुन्छ र यो सम्बन्धलाई राम्रो बनाउने एउटा महत्त्वपूर्ण कडी पनि हो ।

 

तर, जब आफ्नो आत्मसम्मान, स्वाभिमान, शरीर, आकांक्षा, उद्देश्य कसैसँग सम्बन्धमा बस्नका लागि त्याग्नुपर्ने हुन्छ तब त्यो माया समस्यात्मक बन्छ । एक मायालु सम्बन्धले व्यक्तिगत पहिचानलाई बिगार्ने वा बदल्ने होइन, सघाउनुपर्छ । यदि हामी अनुचित सम्बन्धको अवस्थामा छौं भने मायाले हामीप्रति शोषण गरिरहेको छ । र, यो अवस्थामा विचार पुर्‍याइएन भने यसले हामीलाई इतिहासको कुनै कालखण्डका मानिसजस्तो हिंस्रक बनाउँछ ।

 

 

मित्रताको परीक्षण

पुस्तकमा लेखिएको सम्बन्धसम्बन्धी सबैभन्दा पुरानो सल्लाह हो— तिमी र तिम्रो प्रेमी सबैभन्दा मिल्ने साथी हुनुपर्छ । अधिकांश मानिसले यो सल्लाहलाई सकारात्मक रूपमा लिन्छन् : मैले मेरो प्रेमीसँग मेरो मिल्ने साथीसँगजस्तै धेरै समय बिताउनुपर्छ, मेरो साथीसँगजस्तै मैले मेरो प्रेमीसँग केही कुरा नलुकाई गफ गर्नुपर्छ, मेरो साथीसँगजस्तै प्रेमीसँग रमाइलो गर्नुपर्छ ।

 

 

तर, मानिसहरूले यो सल्लाहमा भएको नकारात्मक पक्ष पनि बुझ्नुपर्छ : के तपाईं आफ्नो प्रेमीले मिल्ने साथीको रूपमा गरेको नकारात्मक व्यवहार मन पराउनुहुन्छ ?रमाइलो के छ भने, जब अस्वस्थ र अव्यावहारिक सम्बन्धमा रहेका मानिसलाई यो प्रश्न सोध्दा उनीहरूबाट ‘मन पराउँदैनौं’ भन्ने उत्तर आउँछ ।

 

 

मैले एक जना महिला चिनेको छु जसको भर्खरै विवाह भयो । उनी आफ्ना पतिलाई गहिरो प्रेम गर्छिन् । ऊ एक वर्षसम्म बेरोजगार बस्दा, विवाहका लागि कुनै चासो नदिंदा, आफ्ना साथीसँग घुम्न जानका लागि उनलाई त्याग्दासमेत ती महिलाले सोही पुरुषसँग विवाह गरिन् ।

 

 

तर, जब विवाहको भावनात्मक उचाइ मेटियो तब वास्तविकताले डेरा जमायो । उनीहरूको विवाहको एक वर्षपछि पनि उनको पति बेरोजगार थियो । उनी काममा जाँदा उनको पति घर असरल्ल पारेर बस्थ्यो, आफ्ना लागि खाना नबनाइदिए रिसले चुर हुन्थ्यो, कुनै गुनासो गरे उल्टै उनले आफ्नो जीवन बर्बाद पारेको भन्दै झपाथ्र्यो ।

 

 

उनी अझै पनि उक्त पुरुषसँग मायामा किन थिइन् भने उनले माथि उल्लेख गरिएका प्रेमका कठोर यथार्थलाई बेवास्ता गरिन् । उनले प्रेमलाई आदर्शीकरण गरिन् । उसले यत्रो दु:ख दिंदा गालामा थप्पड हान्नुको साटो उनले मायाले सम्बन्धलाई अनुकूल बनाउने विश्वास गरिन् । तर, त्यसो भएन । विवाहबारे परिवारले चिन्ता व्यक्त गर्दा पनि उनले आफ्ना समस्या विवाहपछि समाधान हुने आशा गरिन् । अहिले सम्बन्धको जहाज डुब्नै लाग्दा उनी आफ्ना साथीहरूसँग कसरी यो सम्बन्धलाई बचाउने भनेर सल्लाह मागिरहेकी छन् । तर, सत्य के भने कुनै पनि उपायले काम गर्ने छैन ।

 

 

हामीले हाम्रो मित्रतामा नसहने व्यवहार प्रेममा किन सहने ?
कल्पना गर्नुस्, तपाईंको मिल्ने साथी तपाईंसँगै बस्छ । तपाईंको कोठा फोहार पार्छ, कुनै काम गर्दैन र घर भाडा पनि तिर्दैन । यो र त्यो खाना बनाइदेऊ भन्छ । र, तपाईंले सम्झाउन खोजे उल्टै रिसाउँछ । यदि यस्तो भयो भने तपाईंहरूबीचको सम्बन्ध पेरिस हिल्टनको अभिनय करियरभन्दा पनि चाँडो सकिन्छ ।

 

 

वा, अर्को परिस्थिति : एउटा पुरुषको एक प्रेमी छे जुन यति ईष्र्यालु छे कि आफ्नो प्रेमीको सबै एकाउन्टको पासवर्ड लिन्छे । उसको अफिसको कामका लागि कतै जाँदा पनि सँगै जाने ढिपी कस्छे ता कि कुनै अरू केटीले उसलाई आँखा नलगाओस् । उनीहरूको सम्बन्ध कमजोर धाँजोजस्तै छ । उसको जीवन २४ सै घण्टा कसैको निगरानीमा बसेको जस्तै भएको छ । यसले उसको आत्मविश्वास नै ओझेलमा पारेको छ । उसको आफ्नो भन्ने केही छैन । उनी उसलाई केही कुरामा पनि विश्वास गर्दिनन् । त्यसैले उसले आफूलाई कुनै कामको लायक पनि सम्झिएन ।

 

 

तैपनि ऊ उनीसँगै सम्बन्धमा छ । किन ? किनकि ऊ प्रेममा छ ।
याद राख्नुस् : मायामा रमाउने एक मात्र उपाय भनेको मायाभन्दा अन्य कुनै कुरालाई महत्त्वपूर्ण रूपमा लिनु हो ।

 

तपाईं आफ्नो जीवनयात्रामा धेरैथरी मानिससँग प्रेममा पर्न सक्नुहुन्छ । आफूलाई राम्रो गर्ने र नराम्रो नगर्ने दुवै खाले मान्छेसँग प्रेममा पर्न सक्नुहुन्छ । तपाईं स्वस्थ र अस्वस्थ तरिकाले प्रेममा पर्न सक्नुहुन्छ । युवा अवस्था वा बुढ्यौलीमा प्रेममा पर्न सक्नुहुन्छ । माया महत्त्वपूर्ण छैन । माया दुर्लभ पनि होइन ।

 

 

तपाईंको आत्मसम्मान महत्त्वपूर्ण र स्वाभिमान दुर्लभ छ । तपाईंको जीवनकालमा धेरैखाले माया प्राप्त हुन सक्छ तर तपाईंले एक पटक आफ्नो आत्मसम्मान, आफ्नो स्वाभिमान र आफूप्रति विश्वास गर्न सक्ने क्षमता गुमाउनुभयो भने तिनलाई पुन: प्राप्त गर्न धेरै गाह्रो हुन्छ ।

 

माया एउटा अचम्मको अनुभव हो । जीवनले हामीलाई दिने यो एउटा ठूलो अनुभव हो । र, यो सबैले रमाउन इच्छा राख्ने एउटा अनुभव पनि हो । तर, अन्य अनुभवहरूजस्तै यो पनि स्वस्थ र अस्वस्थ हुन सक्छ । अन्य अनुभवजस्तै, यसले हामीलाई परिभाषित गर्नुहुन्न, हाम्रो जीवनको उद्देश्य तोक्नु वा हाम्रो परिचय तोक्नु हुन्न । यसले हामीलाई उपभोग गर्नु हुन्न । यसका लागि हामीले हाम्रो पहिचान र आत्ममूल्य त्याग गर्नुहुन्न । किनकि जब हामीले त्यसो गर्छौं तब हामीले आफू र आफ्नो प्रेमलाई पनि गुमाउँछौं ।

 

 

 

किनकि हामीलाई जीवनमा मायाबाहेक अरू पनि धेरै चीज चाहिन्छ । माया महान् छ । माया आवश्यक पनि छ । माया सुन्दर छ । तर, मायाले मात्र पुग्दैन ।(अमेरिकी ब्लगर मार्क म्यानसनको पुरस्कृत आलेख ‘लभ इज नट इनफ’ को अनुवाद विजय तिमिल्सिनाले गरेका हुन्।ई कान्तिपुर दैनिक बाट साभार

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु