#
बिचार/ब्लग

यो सालको दशैं यसरी मनाउँदा हुँदैन ?

  आस्था घिमिरे   ५ आश्विन २०७६, आईतवार १४:५९

–आस्था घिमिरे

काठमाडौं। हरेक वर्षझैं याे वर्ष पनि दशैं आइसकेकाे छ। दशैं मेरो मनमा पनि आउन लाग्यो । सायद यहाँहरुको मनमा पनि आउँन लाग्यो होला । यस्तो लाग्छ, लामो समयदेखि पारिवारिक ममताबाट विछोडिएका परदेशिहरु घर आउने तयारी गर्दै होलान् । वर्षभरि कामको चटारोले थिलोथिलो भएका मजदुरहरुले केही दिन विश्राम लिएर गाउँ फर्किन खोज्दै होलान् । अब त झरिले पनि बिदा लिँदै छ । मखमली, गोदावरी, सयपत्रीका बिरुवाहरु भरिला हुँदै बढ्दै होलान् । फल्नेफूल्ने तयारीमा होलान् फलफूलहरु । गाउँमा अम्बा पनि पाक्यो होला । अम्बासँगै अरु चिज पनि पाक्यो होला । गरिबका मन पनि अम्बाजस्तै पाक्यो होला । दशैं कसरी मनाउने भन्ने पिरले पाकेका गरीबका मनहरु महंगीको आँधीहुरीले कति लछारपछार पार्‍यो होला ?

हिलोधुलो, गर्मि, जाडो, वर्षा, हिउँद केही नभनी दिनरात काममा जोतिने किसानहरुले पनि जति मन पाके पनि केही दिन विश्राम लिए होला ! शहर पसेका र विदेशीका आफ्ना सन्तानहरुको प्रतिज्ञामा पाटोभरि बिछ्याइएका बृद्ध आमाबुबाको आखाँ आफ्ना सन्तान घर फर्किएपछि ओबायो होला । अब त गाउँ छोड्ने होडबाजीमा मानवविहीन भएका गाउँहरुमा उमङ्ग छायो होला । गुणस्तरीय पढाइको नाममा वर्षैभरि छात्रावास र डेरामा छोडिएका केटाकेटीहरु आमाबुबाको न्यानो काख भेटेर लुटुपुटु गर्दै होलान् ? सबै नेपालीको घरमा मिठो मसिनो पाक्न थाल्यो होला ?

बिहे गरेको तीन महिना पनि नबित्दै विदेशिएका श्रीमानको प्रतीक्षामा लाखौं इच्छा र चाहना पोको पार्दै बसेकी नवदुलही श्रीमानको आगमनले कति खुसी भएकी होलिन् । लाग्छ, यसै कारण दशैं हाम्रो महान् पर्व हो । पूँजीवादी संस्कृतिले थिलोथिलो भएको मानव समाज । भावना र प्रेमविहीन हुँदै गएको यो दुनियाँमा । यो दशैंले त्यो टुटेको कडीलाई जोडेको छ । एक पटक प्रेम लिएर आएको छ दशैं हाम्रो घर आँगनमा । सद्भाव र उमङ्ग लिएर आएको छ हाम्रो गाउँबस्ती र शहरहरुमा । नियमित कामको बोझबाट केही केही समयको लागि विश्रान्ति लिँदा जिन्दगीमा स्फूर्ति आउँछ । मलाई दशैं औधी मन पर्छ ।

के हुन् दशैंका विकृति
हामीले चाडपर्वहरुलाई सिर्जनशीलतामा विकास गर्न सकेका छैनाैं । धार्मिक मान्यताबाट प्रेरित भएर गरिने निमुखा पशुबलिहरु, जिब्रो छेड्ने, धामी झाँक्रि नचाउने परम्परा अन्धविश्वासी सोचको पराकाष्ठा नै हो । भाग्यवाद मानेर कर्म गर्नबाट बञ्चित हुने प्रवृत्ति पनि दशैंको एउटा नकारात्मक पाटो हो । उपभोक्तावादी प्रवृत्तिले गर्दा देशभित्र उत्पादन हुने लत्ता कपडा, जुत्ता, खाद्यान्नले अपुग भएर विदेशबाट आयात गर्नुपर्दा अर्थतन्त्रमा राज्यले निकै नै घाटा बेहोर्नु पर्छ ।

संस्कृतिको नाममा खेलिने जुवातास, लङ्गुर बुर्जा, कौडा जस्ता क्रियाकलापले सामाजिक झैझगडा, विकृति र विसंगति निम्त्याउँछ । अत्यधिक जाँड रक्सीको सेवन । मिठाई, मासुजन्य परिकारहरु खाँदा एकातिर स्वास्थ्य बिग्रने सम्भावना हुन्छ भने अर्कोतिर सामाजिक मर्यादामा समेत आँच आउने आउँन सक्छ । त्यसैको कारणले गर्दा कतिपय अवस्थामा चोरी, डकैति, घुसखोरी, बड्न सक्छ ।

यस्ता विषयहरुमा बेलैमा सचेत बनेर धर्मको नाममा हुने पशुबलि, अन्न बेचेर जात्रा गर्ने, भोजभतेर गर्ने । भुदान, तुलादान, अनुदान, अन्नहवन, सुनदान दिने जस्ता विकृतिहरुको जरैदेखि निर्मुल गर्नुपर्छ । ऋण काडेर लुगाकपडा, गरगहना जोड्नुपर्ने, गरगहना किन्नुपर्ने, खसी, बोका राँगा काट्नुपर्ने, बलि चडाउनै पर्ने जस्ता विकृतिहरुको समुल नष्ट गर्नैपर्छ ।

दशैं लगायत चाडपर्वहरुमा गरिने यस्ता विकृति तथा नकारात्क संस्कृतिलाई सुधार गर्दै अनावश्यक खर्चलाई किफायती बनाउने । मौलिक पर्व बनाउने तरिका पनि नयाँ बनाउनुपर्छ र नयाँ संस्कृति निर्माण गर्नुपर्दछ । बरु वैज्ञानिक र मानवीय मूल्य मान्यता विस्तापित गर्ने किसिमको । वर्गीय समाजको अझै पराकिलो पार्ने किसिमको । गरीबीको भोको पेटमा अझै लात मार्ने किसिमको विकृति बढ्दै जान थालेको छ । यस्ता विकृतिहरुको अत्य गर्नु पर्दछ ।

देशमा समानताको विगुल बज्न थालेको शदाब्दीयाैं बित्यो । यस्तो लाग्छ जति समय व्यतित भयो । जति विज्ञान र प्रविधिको विकासले फड्को मार्‍यो त्यति त्यति आर्थिक धरातल फराकिलो भयो । मैले ती गाउँहरु देखेकी छु । ती वस्तीहरु देखेकी छु । जहाँ एक पेट खान दशैं नै आउनु पर्थ्याे । एक सरो लुगा फेर्न दशैं नै आउनु पर्थ्याे। ती लालाबालाहरुको अभावै अभावले भरिएको चेहेरा हेरेकी छु । हिलो धुलोले भरिएको नाङ्गा आङहरु देखेकी छु । लाग्छ दशैं तिनको लागि आयो कि आएन होला ? आयो भने कसरी आयो होला ? जन्मिँदै गरीबीले थिचिएर जन्मिएका ती अबोधहरुले आफ्नै उमेरका हुनेखानेका छोराछोरीहरुले राम्रो लाएको, मिठो खाएको देखेर भित्रभित्र वेदनाले तड्पिरहेका पाे छन् कि ?

सन्दर्भ दशैंको हो । हामी नेपाली गर्व गर्छौं जसरी नेपाली हुनुमा, त्यसैगरी गर्व गर्न पाइयोस् आफ्ना मौलिक पर्वहरुमा । त्यस्तो मौलिक पर्व जुन एका दुईको लागि मात्र होइन । कुनै वर्ग विशेष र जाति विशेषको लागि मात्र पनि होइन । सम्पूर्ण नेपालीहरुको लागि समान उमंग र खुसी लिएर आओस् । कसैको हाँसो नै हाँसो त कसैको आँसु नै आँसु नहोस् । यो त केवल काल्पनिक सोच मात्र हो ।

हाम्रो देशको वास्तविकता अर्को छ । सरकारी आंकडाअनुसार २१ प्रतिशत जनताहरु निरपेक्ष गरीबीको रेखामुनी रहेको तथ्यांक सार्वजनिक छ । तर, यो आंकडाले यथार्थ प्रस्तुत गर्न सकेको छैन । केही सीमित व्यक्तिहरुले अथाह सम्पत्ति थुपारेको भरमा आर्थिक वृद्धिदरको आंकलन गर्ने हो ? गरीबीको औसत निकाल्ने हो ? यदि यसो हो भने सरकारी तथ्याङ्कको विश्वसनियता कहाँ पुग्ला ? आज पनि हामीले अनुमान गरे भन्दा बढी नेपालीहरु गरीब छन् । यो विषयमा राज्यको ध्यान जानु जरुरी छ । सम्पूर्ण गरीब र बेरोजगार युवाहरुको व्यवस्थापन गर्ने र उनीहरुको रोजगारी, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका समस्याहरु राज्यले तुरुन्त हल गर्नुपर्छ । तब मात्र देशमा सरकार छ भन्ने कुरा जनताले महसुस गर्न पाउँछन् ।

नेपाली समाजमा मनाइने पर्वहरुमध्येकै महत्वपूर्ण हो विजयदशमी । दशैं संस्कृति कि विकृति ? सबै नेपालीहरुले एक पटक मनन गर्न आवश्यक छ । धर्तीमा जन्मिएका सम्पूर्ण प्राणीको लागि धर्ती साझा थलो हो । पृथ्वीमा भएका सम्पूर्ण स्रोत साधनहरुमा सबैको समान अधिकार हुनुपर्ने होइन र ? त्यस्तै नेपालीहरुको मौलिक पर्व विजयदशमी। आ–आफ्नो हैसियत अनुसार चाडपर्व मनाउनु पर्ने बाध्यता, देखासिखिको होडबाजीमा ऋणमा भासिनु पर्ने बाध्यता, यो सबै वर्गीय हैसियतले निम्त्याएको विखण्डन मात्र हो ।

अन्त्यमा, समाज रुपान्तरणको पहिलो खुड्किलो साँस्कृतिक रुपान्तरण हो । नेपालीहरुले हाम्रा चाडपर्वहरुका सकारात्मक पक्षहरुलाई थप परिष्कृत गर्दै परिवर्तनको शुभारम्भ गर्नुपर्छ । अब हाम्रो संस्कार, संस्कृति, साहित्य, गीत, संगीत, रहनसहन, आनीबानी व्यवहार तथा खानपान तथा लवाइखवाइ, भेषभुषामा नयाँपन ल्याउनुपर्छ ।

सबैभन्दा पहिले दशैंजस्ता महत्वपूर्ण पर्वहरु मनाउने तरिकामा परिवर्तन ल्याउनुपर्छ । विदेशी डिस्को र बारतिर ओरालो लागेका हाम्रा युवा पीढीलाई नेपाली लोक संगीत र झाउरे भाकाहरुमा आकर्षण गर्नुपर्छ । दशैंजस्ता महान् पर्वहरुमा अझै नेपाली पन झल्कने संस्कृतिको विकास गर्नुपर्छ न कि दशैं बहिष्कार गर्नुपर्छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु