(पार्थ मण्डल) भद्रपुर । वर्षौंदेखि जंगली हात्तीको उपद्रोले वनजंगल आसपासका दक्षिणी झापावासीमा आतंक छाएको थियो। हात्तीको उपद्रो रोक्न त्यस क्षेत्रका वनजंगल वरिपरि सौर्य विद्युतीय तारबार जडान भएसँगै कचनकवल, बाह्दशी, हल्दिबारीको जलथल, भद्रपुरको वडा नम्बर १ र २ स्थानीयलाई अहिले ढुक्क महसुस भएको छ। सौर्य विद्युतीय तारबारले जंगली हात्ती वनमै थुनिएपछि त्यहाँका स्थानीय अहिले अन्‍नबाली भित्र्याउनुका साथै राति ढुक्कका साथ सुत्‍न पाएका छन्।

गत आर्थिक वर्षमा कचनकवलको दुर्गाभिट्टा सामुदायिक वनदेखि जथलथ हुँदै भद्रपुरको विशाल सामुदायिक वनको वरिपरि करिब ३७ किलोमिटर सौर्य विद्युतीय तारबार जडान गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए। ‘४० किलोमिटर तारबार लगाउने योजना थियो’, उनले भने, ‘ठाउँ-ठाउँमा गेट थप्‍नुपर्ने भएकोले ३ किलोमिटर घटेको हो।’

ललितपुरको न्यु क्रिएसन इम्पेक्स प्रालिलाई सरकारले २०७५ वैशाखमा ४ करोड ७४ लाख रुपैयाँमा तारबार लगाउने ठेक्का दिएको थियो। न्यु क्रिएसन इम्पेक्सले भारतको फेन्ज गार्ड नामक कम्पनीसँगको सहकार्यमा तारबार लगाएको हो। ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा फैलिएको जंगललाई २२ वटा सामुदायिक वन उपभोक्ता समूहको जिम्मामा दिइएको छ। लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको सालक र हात्ती यही जंगलमै पाइन्छ। यस जंगलमा ११ वटा हात्ती रहेको स्थानीयको दाबी छ।

भुतिनी र अदुवा खोलामा पनि तारबार जडान सुरु

झापा क्षेत्र ३ बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङदेनसहित डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतम, भारतको चेन्‍नइसहित फेन्ज गार्ड नामक कम्पनीका विशेषज्ञ जर्ज, जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिले सौर्य विद्युतीय तारबारको स्थलगत अनुगमन गरेका छन्।

सो टोलीले खोलाले नछोएका स्थानहरू अनुगमन गरेपछि त्यहाँ पनि तारबार जडान कार्य सुरु गरिएको छ। जलथलको भुतिनी र अदुवा खोलामा तारबार लगाइएको थिएन। जंगलभित्रका हात्ती त्यहाँबाटै गाउँ प्रवेश गर्न थालेपछि खोलाको अनुगमन गर्दै शुक्रबारदेखि काम सुरु भएको डिभिजन वन प्रमुख घिमिरेले बताए। उनका अनुसार खोलामा बाढी आउँदा तारबार बगाउने देखिएपछि जमिनमा गाडिएको जस्तो तारबार लगाउन मिल्दैन थियो।

‘भारतको चेन्‍नइसहित फेन्ज गार्ड नामक कम्पनीका विशेषज्ञ जर्जलाई बोलाएर खोलाको अनुगमन गराएका छौं, अब खोलामा झुण्डिने खालको अग्लो तारबार लगाउँदैछौं, दुई वटा खोलामा तारबार जडान भएपछि जंगल आसपासका तीन वटा गाउँपालिका हात्ती आतंकबाट मुक्त हुन्छ’, संघीय सांसद लिङदेनले भने। उनले दुई वटा खोलामा तारबार नहुँदा त्यहीबाट निस्किएका हात्तीले भद्रपुर क्षेत्रमा आतंक मच्चाइरहेको बताए। उनले भने, ‘खोलामा तारबार लागेपछि हात्ती जंगलमै थुनिन्छ।’ ‘यही वर्षभित्र हल्दिबारी र भद्रपुरको भेलागुढी सामुदायिक वनसम्म तारबार जडान कार्य हुँदैछ।’

थप २० किलोमिटर तारबार आवश्यक

यही आर्थिक वर्षभित्र बाँकी रहेको विशाल सामुदायिक वनबाट कमलधाप, मायालु वन हुँदै भेलागढीसम्म तारबार जडान हुँदैछ। ‘१५ किलोमिटर सर्वेको काम भइसकेको छ’, डिभिजन वन प्रमुख घिमिरेले भने, ‘प्रकृति संरक्षण कोषमार्फत ठेक्का लगाएर काम सुरु हुन्छ। यसका लागि २ करोड रुपैयाँ बजेट छुट्याइएको छ।’ उनका अनुसार चारआली जंगलसम्म तारबार नलगाएसम्म हात्तीले भद्रपुर, बिर्तामोड र मेचीनगरमा दुःख दिइरहन्छ।

‘करिब २० किलोमिटर थप तारबार यसै आर्थिक वर्षमा लगाउन सके यी क्षेत्रका बासिन्दालाई पनि सुरक्षित हुन्थ्योु, उनले भने। संघीय सांसद राम कार्की र प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले ४० लाख रुपैयाँ तारबारका लागि भद्रपुर नगरपालिकालाई छुट्टाएको सुनेको उनले बताए। उनले भने, ‘त्यति पैसाले तारबार जडान गर्न पुग्दैन। संघीय सांसद, प्रदेश सांसद र स्थानीय सरकारले दुई करोड रुपैयाँ तारबारका लागि बजेट छुट्टाएर प्रकृति संरक्षण कोषलाई उपलब्ध गराइदिने भने सधैँका लागि यी क्षेत्रहरूमा हात्ती आतंक रोकिन्थ्यो।’

जलथलमा तारबार जडान हुँदा हात्ती सदरमुकाम पस्यो

जलथल जंगलमा ३७ किलोमिटर हात्ती नियन्त्रणका लागि तारबार जडान भएपछि त्यहाँका हात्ती सदरमुकाम भद्रपुर आसपासका जंगलतर्फ आएको छ। आहारको खोजीमा जलथलको जंगलबाट बाहिर निस्किन नसकेपछि त्यहाँका बस्ने रैथाने जंगाली हात्ती अहिले भद्रपुरतर्फ केन्द्रित भएको छ। लस्करै निस्किने हात्तीले अहिले दिनहुँ भद्रपुरमा आतंक मच्चाइरहेको छ। रात परेपछि भद्रपुरका विभिन्‍न वडामा हात्ती निस्किन थालेपछि भद्रपुरवासीमा त्रास छाएको छ।

हात्तीले भद्रपुरवासीले घर भित्र्याएको धान, अन्नबाली र चामल खाँदै घर भत्काउन थालेका छन्। घर भत्काउन थालेपछि स्थानीय चिन्तित देखिएका छन्। अहिलेसम्म भद्रपुर दर्जन बढी घर हात्तीले भत्काइसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। ‘हात्तीले यसवर्ष भद्रपुरमा मानवीय क्षति चाहिँ गरेको छैन’, उनले भने, ‘तर यसरी नै हात्तीले आतंक मच्चाइरहे भने धनजनको ठूलो क्षति हुन सक्छ। यसको नियन्त्रण तत्काल आवश्यक छ।’

प्रतिक्रिया

सम्बन्धित खवर