उत्तम रिजाल,झापा । विभागिय टोली सेनाको त्रिभूवन आर्मी क्लबलाइ दुइ शुन्यले पाखा लगाउँदै एडिभिजन राष्ट्रिय लिग विजेता मछिन्द्र क्लब झापाको झिलझिलेमा जारी तेश्रो सत्ताक्षी गोल्डकप फुट्बल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।

 

झिलझिले स्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न खेलमा मछिन्द्रले आर्मी माथी सहज जित निकालेको हो । मछिन्द्रका लागि रेजिन सुब्बाले पहिलो हाफको २१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले दिपक राइले दिएको पासलाइ सदुपयोग गर्दै गोल गरेका थिए । पहिलो हाफमा एक शुन्यले पछि परेको आर्मीले दोश्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेपनि हार टार्न सकेन् ।

 

उसका विकास खबासले खेलको ७४ औं मिनेटमा आत्मघाति गोल गरे । मछिन्द्रका विशाल राई बीले प्रहार गरेको सशक्त प्रहार गोलकिपर बिवस चौधरीबाट बचावट हुन नसकेपछि क्लियर गर्न खोज्दा विकासको बलले आफ्नै पोष्टमा जाली चुमेको थियो । त्यसपछि केहि आक्रामक देखिएको आर्मीले गोलको अबसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुनपुग्यो । उसका कप्तान जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, सन्तोष तामाङ्ग, सेसेहाङ्ग आङ्गदेम्बे, टेक बहादुर बुढाथोकी र टंक बुढाथोकी मछिन्द्र विरुद्ध फिका सावित भए ।

 

आर्मी हप्तादिन अघि सम्पन्न शहिद स्मारक एडिभिजन लिग फुट्बलमा पनि मछिन्द्रसँग आत्मघाति गोलकै कारण पराजित भएको थियो । खेलको म्यान अफ दि म्याच विजयी टिमका रेजिन सुब्बा भए । उनले नगद १० हजारसँगै ट्रफी हात पारे ।

मछिन्द्रले अब उपाधिका लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबलाइ तीन एकले पराजित गर्दै फाइनल प्रबेश गरेको हो । फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले नगद ३ लाख हात पार्नेछ ।
२०७६,फागुन ९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय