बुढाबुढीको झगडा परालको आगो । क्षणमै सल्कन्छ र क्षणमै सेलाउँछ । तर, सधै यस्तो हुँदैन । बेलाबखत बुढाबुढीको झगडा पनि भुसको आगो जस्तै भित्रभित्रै सल्कन्छ । त्यसले उनीहरुको सम्बन्ध त खराब बनाउँछ नै, बालबच्चा र परिवारलाई समेत पिरोल्छ । जबकी श्रीमान र श्रीमतीबीच झगडा हुन ठूलो निहुँ चाहिँदैन । सानै कुरामा पनि उनीहरुबीच विवाद हुन्छ । खटपट हुन्छ । झगडा हुन्छ । यस किसिमको झगडाले खासगरी बालबच्चालाई नकारात्मक असर पुग्छ ।

दम्पतीबीच के कारणले झगडा हुन्छ त ? त्यसको समाधान के होला ?

संवादको कमी

कहीले काहीँ दम्पतीबीच संवाद टुट्न पुग्छ । अर्थात् नियमित कुराकानी हुन पाउँदैन । यसले उनीहरुमा द्विविधा एवं भ्रम पैदा गर्न सक्छ । जबकी दम्पतीबीच निरन्तर संवाद, सहकार्य आवश्यक हुन्छ ।

श्रीमान र श्रीमती व्यस्त हुन्छन् । उनीहरुलाई कुरा सुन्ने फुर्सद पनि हुँदैन । त्यसैले पार्टनरको कुरालाई वेवास्ता गरिदिन्छन् । कतिपय गंभिर कुरालाई पनि मनन नगरेपछि त्यसले कलह निम्त्याउँछ । त्यसैले दम्पतीबीच संवाद आवश्यक छ ।

कम्युनिकेसनको अर्थ बोल्नु मात्र होइन । एकअर्काको भावना बुझ्नु पनि हो । मानौ करियरको चक्करमा तपाईले परिवारको लागि समय निकाल्न सक्नुभएन, तर परिवार पनि तपाईको निम्ति उत्तिकै महत्वपूर्ण हुन्छ । परिवारबिना कसरी घरगृहस्थी चल्छ ?

के गर्ने त ?

एकअर्काको समस्या, पीडा आदि बुझ्नका लागि पनि दम्पतीबीच कुराकानी हुनैपर्छ । कुनै समस्या आउनुअघि नै त्यसबारे खुलेर छलफल गर्नुपर्छ ।

कतिपय कुराहरु खुलस्त नभन्दा वा लुकाउदा पनि समस्या आउँछ । कुनैपनि कुरा पार्टनरसँग खुलेर सेयर गर्नुपर्छ ।

यस्ता कुनै समस्या छैनन्, जसको समाधान छैन । त्यसैले दम्पतीबीच आउने समस्यालाई पनि छलफल, कुराकानीको माध्यामबाट समाधान निकाल्नु राम्रो हो ।

खराब यौन जीवन

बैवाहिक जीवनलाई सफल बनाउन शारीरिक सम्बन्ध महत्वपूर्ण हुन्छ । तर, अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जमानामा यस किसिमको सम्बन्ध फितलो बन्दै गएको छ । दम्पती कामकाजी भएको अवस्थामा त यो समस्या झन् बढ्ने संभावना रहन्छ । यसले उनीहरुको बैवाहिक जीवनलाई धरापमा पार्न सक्छ ।

के गर्ने त ?

चाहे जतिसुकै व्यस्त किन नहोस्, सेक्सुअल रिलेसनमा त्यसको असर पर्न दिन हुँदैन । मानसिक तनाव, चिन्ता, शारीरिक थकानले पनि यौन जीवन प्रभावित हुन्छ, सयन कक्षमा जानुअघि ति सबै कुरालाई त्याग्ने अभ्यास गरौ ।

यौन केवल रमाइलोका लागि मात्र होइन, यो स्वास्थ्यका लागि पनि अपरिहार्य हुन्छ । भनिन्छ, हप्तामा तीन पटक दम्पतीबीच शारीरिक सम्बन्ध हुनुपर्छ ।

आर्थिक समस्या

अक्सर पैसा खर्च गर्ने सम्बन्धमा पार्टनरको मत मिल्दैन । कोहि खर्चालु हुन्छन्, कोहि बचत गर्न मन पराउने । आर्थिक कारणले धेरैजसो परिवारमा कलह ल्याउँछ । व्यक्तिगत खर्चलाई प्राथमिकता दिएर घरायसी खर्चलाई महत्व नदिने बानीले पनि यस्तो समस्या ल्याउँछ ।

के गर्ने त ?

दुबै दम्पतीले सबैभन्दा पहिला खर्चको बिबरण तयार गर्नुपर्छ । यस्तो बिबरण तयार गर्दा कुन कुरालाई प्राथमिकता दिने ? सोच्नुपर्छ । हरेक महिना बजेट तयार गर्ने र सोहि अनुसार खर्च गर्नुपर्छ । मासिक तालिका बनाएर खर्च गर्दा फजुल खर्चबाट बचिन्छ ।

बालबच्चाको लागि समय

अहिले धेरैजसो दम्पतीसँग आफ्नो छोराछोरीका लागि समय हुन्न । अफिसको, करियर, भाविष्यको योजना आदिको चक्करमा उनीहरु छोराछोरीका लागि समय निकाल्न सक्दैनन् । बच्चासँग खेल्न, बोल्न, रमाउन पनि कति अभिभावक त जाँगर चलाउँदैनन् । तर, यसको दीर्घकालिन असर स्वंम अभिभावकले भोग्नुपर्छ । अभिभावकको सामिप्यता नपाएको बच्चामा विभिन्न किसिमको शारीरिक मानसिक समस्या

के गर्ने त ?

बालबालिका आफ्ना आमाबुवाको सामिप्यता चाहन्छन् । उनीहरुका लागि अभिभावकले छुटै समय निकाल्नु पर्छ ।

घर फर्किसकेपछि बच्चासँग होमवर्क गर्ने, कार्टुन हेर्ने, खेल्ने जस्ता गतिविधिमा सरिक हुनुपर्छ । बच्चाको मनोविज्ञन एवं भावना बुझ्नका लागि पनि उनीहरुसँग हेलमेल हुनुपर्छ ।

स्वास्थ्य सम्बन्धका लागि

– दुई पार्टनरबीचको आपसी समझदारी नै स्वास्थ्य सम्बन्धको लक्षण हो । एकअर्काको भावना बुझ्ने र सम्मान गर्ने दम्पतीबीच सुमधुर सम्बन्ध हुन्छ ।

– यदि दुबै खुसी र तनावमुक्त छन् भने पनि उनीहरुको सम्बन्ध प्रगाढ रहेको संकेत मिल्छ ।

– दुबैले आफ्नो जिम्मेवारी अर्कालाई थोपर्दैनन् ।

– दुबैमा मन मुटाव कम हुन्छ । किनभने उनीहरु मिलेर समस्याको समाधान खोजिरहेका हुन्छन् ।

– एकअर्काको कामको सम्मान गर्छन् र अर्काको तनाव पनि महसुष गर्छन् ।

– यस्तो जोडी एकअर्कामा निर्भर हुँदैनन् , तर हरेक कदम एकसाथ चाल्छन् ।

– स्वास्थ्य सम्बन्धमा पति पत्नीले आपसमा प्रशस्तै क्वालिटी टाइम बिताउँछन् । एकअर्कालाई खुबी राख्न प्रयास गर्छन् ।

– उनीहरुबीच विश्वासको सम्बन्ध स्थापित भएको हुन्छ, वाह्य कारणले त्यसलाई तोड्न सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय