#
मुख्य खबर

लकडाउन के हो? के–के हुन्छ यस्तो अवस्थामा?

    १० चैत्र २०७६, सोमबार २०:२६

काठमाडौं- सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार विहान ६ बजेदेखि १८ गते विहान ६ बजेसम्म कुनै पनि व्यक्ति घर बाहिर निस्कन नमिल्ने आदेश दिएको छ।

उच्चस्तरीय समितिको बैठको निर्णय गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले औषधिउपचार र अत्यावश्यकबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने निर्णय गरिएको जानकारी दिए। बैठकले अस्पताल, सुरक्षाकर्मी तथा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन सञ्चालन हुन नदिने निर्णय गरेको पनि खतिवडाले बताए।

सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक कुनै पनि आन्तरिक उडान सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको छ। सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, सञ्चार, भन्सार, क्वारेन्टाइन जस्ता अत्यावश्यक पर्ने कर्मचारी मात्र हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने निर्णय पनि बैठकले गरेको छ।

औषधि, खाद्यवस्तु, दूध र इन्धन जस्ता अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले व्यवसायीले औषधि तथा औषधिजन्य वस्तु तथा अन्य अत्यावश्यक वस्तुको कालोबजारी तथा अवैध भण्डारण गर्ने तथा आपूर्तिमा अवरोध गर्नेमाथि कालोबजारी ऐनअनुसार कारबाही गर्ने निर्णय पनि गरेको मन्त्री खतिवडाले बताए।

संक्रमक रोग ऐनअनुसार भएको यो निर्णय कार्यान्वयनको व्यवस्था मिलाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र स्थानीय प्रशासन ऐन २०२८ को आवश्यकताअनुसार प्रयोग गर्ने निर्णय पनि गरिएको छ।

के हो लकडाउन?
चीनको वुहानमा कोरोनाको महामारी फैलिएको बेला त्यहाँका जनता प्रहरीको कठोर निगरानी र सुरक्षामा थिए। उनीहरुले अनुमतिबिना आवतजावत गर्न पाएका थिएनन् भने विद्यालय, बजार, बैंक, रेष्टुरेन्ट सबै बन्द भएका थिए।

यी सब वुहानमा देखिएको कोरोनाको महामारी अन्य प्रान्तमा नफैलियोस् भन्नका लागि चीन सरकारले लिएको नीति थियो।

सामान्य भाषामा भन्दा सरकारको कठोर निगरानी र सुरक्षा नै लकडाउन हो। जुन कुनै पनि महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्नका लागि गरिन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीका अनुसार लकडाउन भनेको कुनै निश्चित क्षेत्रलाई सरकारले बन्द गर्नु हो। उक्त क्षेत्रलाई प्रहरीले चारैतिरबाट घेरा हाल्छ।

मानिसको भीडभाडलाई कम गर्नु नै लकडाउनको मुख्य उद्देश्य हो। लकडाउनलाई डा मरासिनीले ‘हेल्थ कस्टडी’को नाम दिएका छन्।

यो एक प्रकारको कर्फ्यू जस्तै हो। कर्फ्यु निश्चित समयका लागि हुन्छ भने लकडाउनको समय रोग अनुसार हुने उनले बताए।

लकडाउन गरिएको क्षेत्रमा विद्यालय, होटल तथा रेष्टुरेण्ट, बैंक लगायत मानिसको भीडभाड हुने सबै ठाउँ बन्द हुन्छ। मानिसहरु घरबाट आवत जावत गर्न पाउँदैनन्।

‘मानवीय सहायता बढाउनुपर्छ’
नेपालमा लकडाउन हुन सक्ने चर्चा चलिरहेका बेला विज्ञहरु भने लकडाउन कार्यान्वयन सहज नहुने बताउँछन्।

डा मरासिनीले भने, ‘सरकारले लकडाउन गर्ने भनेर मात्र हुँदैन। मानवीय सहायताको पनि ख्याल गर्नुपर्छ। अत्यावश्यक वस्तुहरु सरकारले व्यवस्था गर्न सक्नुपर्छ। लकडाउन घोषणा गरेजस्तो कार्यान्वयन गर्न त्यति सहज छैन।’

सरकारले लकडाउनसँगै मानवीय सहायतालाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए। बिहान कमाएर बेलुकी खाने पनि धेरै छन्। उनीहरुले के गर्ने? ग्यास सकियो, खानेकुरा सकियो भने घर–घरमा पुर्‍याउने व्यवस्था सरकारले मिलाउन सक्छ? उनले प्रश्न गरे।

नेपाल लाइभ बाट

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु