#

ल्यापटप, मोबाइलको भित्तामा हेरेर पढ्ने युगको सुरुवात


काठमाण्डौ – ‘कति मोबाइल चलाएको ! बन्द गरेर पढ्न जा ।’ आमाले हप्काएपछि लुसुक्क पर्दै मोबाइल बन्द गरी म पढ्न जान्थेँ । सिसाकलम तिखारेर किताबका पाना पल्टाउँदै विज्ञानको गृहकार्य गर्न बस्थेँ । केही बेरमै आँखा मन्डराउथेँ । ध्यान उड्थ्यो । अनि सेतो भित्ता हेरी सोच्न थाल्थेँ, ‘विज्ञानको विकाससँगै यस्तै भित्ता हेरेर पढ्ने दिन पनि आउँछ होला । भविष्यमा मोबाइलमै पढ्ने दिन आए कति मज्जा आउँथ्यो । दिनभरि मोबाइलमा गेम खेलेर बस्थेँ । अनि पढ्दैछु, डिस्टर्ब नगर्नुस् भन्दै घरमा ढाट्थेँ ।’ म १० वर्षे अबोधको दिमागमा यस्तै खुराफाती कुरा आउने गथ्र्याे ।

दश वर्षपछि तिनै कलिला विचारहरु सम्झिएर वर्तमानलाई नियाल्दा मेरो सानो सपना पूरा भएको आभाष हुँदैछ । सोचेको कुरा ठ्याक्कै मिल्यो । ल्यापटपको भित्तामा हेरेर पढ्ने दिनको सुरुवात भएको छ । अनलाइन क्लास । मोबाइलबाट पढ्ने युगको सुरुवात ।

परिस्थिति र पर्यावरण नै त्यस्तै भएको छ कि विद्यालय गएर पढ्ने अवस्था छैन । कोरोना महामारीको प्रकोपले गर्दा विश्व नै त्रसित छ । त्यसैले हामी सबै घरबाटै काम गर्न बाध्य छौँ ।

समयानुसार प्रविधि विकास हुँदै गयो । तर चन्द्रमामा पुग्न सफल मानवजातिले आज सुक्ष्म कीटाणुबाट भाग्नुपरेको छ । आफ्नै हेलचेक्र्याइँको कारण आज नयाँ रोगले संसार हल्लाएको छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रजाति कोभिड–१९ को चर्चा जताततै छ । त्रास र डरले सबैको मन घेरेको छ । कोभिड–१९ को नाममा ‘को भिडमा छ, उनलाई सङक्रमण गर्छु’ भन्ने भाव झल्कने । रोगको सङ्क्रमण रोकथामको लागि देशविदेश सबैतिर लकडाउन छ । व्यापार व्यवसाय सबै ठप्प । अत्यावश्यक पसल र कार्यालय मात्र खुला छन् । त्यो पनि दैनिक केही घण्टाका लागि । सबैजना घरभित्रै बस्न बाध्य छन् । एकअर्कामा सजिलै सर्ने यो रोगको औषधि नभएकोले हिँडडुल गर्न बन्देज गरिएको छ ।

यस्तो भयावह परिस्थितिमा पढ्न मन कसैलाई लाग्दैन । तर जीवनको गन्तव्यमा पुग्न शिक्षा आवश्यक हुन्छ । स्कुल, कलेज बन्द भएकाले हामी विद्यार्थीलाई धेरै घाटा लागेको छ । हामी विद्यालय गएर अध्ययन गर्नबाट वञ्चित छौँ । परीक्षा पनि रद्द गरिएको छ । शिक्षण संस्था कहिले खुल्ने केही सूचना छैन ।

एउटा मनले पढ्नुपर्दैन ‘आहा !’ भन्छ । अर्काे मनले पढ्न पाइँदैन ‘थुक्क’ भन्छ । नयाँ सत्र र नयाँ तहमा जाने वेलामा पढाइ पुरै अड्किएको छ । बिदा चाहिएको थियो । तर यस्तो र यति लामो होइन । भोलिका दिनमा कसरी कोर्स भ्याउने ? जाँचमा के लेख्ने ? शिक्षा पाउनबाट कति दिन वञ्चित हुने ? सङ्क्रमण रोक्न लकडाउन गरियो । सँगै सिकाइमा पनि लकडाउन लाग्यो । आफैँ पढुँ, बुझिँदैन । पढ्न जाउँ, पाइँदैन ।

कलेज र स्कुलहरुले अनलाइन कक्षा सञ्चालन गर्दैछन् । मोबाइलबाटै पढ्न पाउने कुराले मन खुसी भयो । तर कसरी पढ्ने, कहाँ पढ्ने जस्ता अनेकौँ प्रश्न उठ्छन् । ठ्याक्कै मोबाइलमा घण्टी बज्यो । कलेजले सूचना पठाएको रहेछ । दिन, समय र विषय तोकिएको तालिकासहितको इमेल पाउनासाथ फेसबुकमार्फत साथीहरुलाई खबर गरेँ ।

क्लास ‘गुगल मिट’ र ‘जुम’ नामक एपबाट हुने भएछ । बिहान ढिला उठ्ने बानी लागिसकेको थियो । फेरि बानी सुधार हुने दिन आएछन् । हल्का नास्ता खाएर पहिलो अनलाइन क्लास पढ्न मोबाइल खोलेँ । कपाल कोरेर मोबाइलअगाडि पढ्न बसेँ । यत्तिका दिनपछि पढ्न थाल्दा अनौठो लाग्यो । तर उत्साहले सबै भुलेँ ।
ठिक ११ बजे ‘मेजर इङ्लिस’को अनलाइन क्लास सुरु भयो । विभिन्न ठाउँबाट, भिन्न अवस्थामा साथीहरु अनलाइन कक्षामा जोडिँदै गए । जम्मा २० जना उपस्थित थियौँ ।

‘हेल्लो, आवाज आयो ? नमस्कार सर । के छ खबर ?’ भन्दै सबैको एकसाथ गुनगुन सुरु भयो । रमाइलो रहेछ अनलाइन क्लास । महिनौँपछि त्यही अनुहार र आवाज सुनेर आनन्द आयो ।

सबैले एकसाथ बोलिदिएर केही नबुझेपछि सरले सबैलाई आफ्नो आवाज बन्द गरेर सुन्न मात्र निर्देशन दिनुभयो । पहिलो कक्षा थियो । सरले भनेको मान्नै पर्यो । हामी सबैले आग्रह पालना गर्दै आवाज बन्द गर्यौँ ।

नयाँ पढ्ने प्रणालीमा भर्खर घुल्दै थियौँ हामी । ५ मिनेट एपमा केके सुविधा रहेछ भनेर हेर्दै बित्यो । सरले उताबाट सुरु गरूँ भनी प्रश्न सोध्नुभयो । हामीले च्याट बक्समा ‘हुन्छ’ उत्तर दियौँ । कलेजमा पढ्दा छुट्टै अनुभव हुन्थ्यो । यहाँ त हल्ला गर्न नि नपाउने । टोलाउँदै सुनेर बस्नुपर्ने । अनि सरले पाठ सुरु गर्न लागेको बताउँदै सबैलाई ध्यान दिएर सुन्न आग्रह गर्नुभयो । ‘हस् सर’ भन्दै सबैले ध्यान दिएर सुन्न थाल्यौँ ।

‘साम्राजवाद भनेको आफूभन्दा कमजोर देशलाई आफ्नो…’ सरले पढाउँदै हुनुहुन्थ्यो । टिङ्ग गरेर मोबाइलमा म्यासेज आयो । कानमा इयरफोन जोडेको म सरको कुरा सुन्दै फेसबुकको मेसेज पढ्न थालेँ ।

‘ओइ, लुडो खेल्ने हो ?’ साथीले म्यासेज पठाएको रहेछ ।

नाइ कसरी भनुँ । हुन्छ नि भने । सरले उता पढाउँदा म यता मस्त गेममा व्यस्त थिएँ । उता सरले ‘बुझ्यो’ भनेर प्रश्न गर्नुहुँदा मैले ‘जितेँ’ भनेर कराएछु ।
समय हेरेको त कक्षा सकिन १० मिनेट मात्र बाँकी रहेछ । खेल जितेर पुनः पढ्न अनलाइन क्लासमा बसेँ । ध्यान दिएर सुन्दै थिएँ । भन्नुको अर्थ ध्यान दिने प्रयास गर्दै थिएँ । बाहिर भान्साबाट भाँडाकुटीको टाङटुङ आवाज आयो । सरले बोलेको केही बुझिनँ । रिसले मुन्टो बाहिर तन्काउदै ‘म पढ्दै छु, हल्ला नगर्न’ भन्दै चिच्याएँ । ‘आजलाई यति’ भन्दै सर चाहिँ हाजिरी लिन थालिसक्नु भएछ । भर्खर पढ्न बसेको थिएँ । पढ्नै पाइनँ ।
पहिलो क्लासको अन्तिम प्रश्न सोध्नुभयो सरले– ‘ककसले बुझ्यो ?’

उत्तरमा उपस्थित सबैले कमेन्टमा ‘बुझ्यौँ’ जवाफ दिए । नबुझ्ने म मात्र रहेछु । सोचेर दिक्क लाग्यो । फेरि सोचेँ कि त तिनीहरु सबैले ढाँटे कि सबैले डराएर होमा हो मिलाए । भोलि पक्का ध्यान दिन्छु भनी हाजिरीमा आफ्नो नाम कुरेर बसेँ । रोल नम्बर १, २, ३ कोही थिएनन् । रोल नम्बर १० को पालोमा साथीले ‘अघिसम्म थियो, अहिले गएछ’ भन्यो ।

‘घर गएछ कि क्या हो’ भन्दै सरले ठट्टा गर्नुभयो । सबै गललल हाँसे । हाजिरी सकियो । मैले याद गरेअनुसार आधाभन्दा बढी साथी अनुपस्थित थिए । कोही गाउँ गएका रहेछन् । कसैकोमा इन्टरनेटको सुविधा थिएन । कसैलाई चलाउन आएनछ । उज्यालो अनलाइन बाट साभार

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु