काठमाण्डौ – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय नाघेको छ । मङ्गलबार पछिल्लो रिपोर्ट अनुसार उपत्यकामा पाँच जनासहित थप २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार काठमाण्डौमा तीन जना, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै झापामा नौ, कपिलवस्तुमा चार, सलार्हीमा दुई, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, लमजुङ, सिन्धुली र नवलपरासीमा एक–एक गरी जम्मा २७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

आज २४ जना पुरुष र तीन जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा चार सय दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबैको परीक्षणमा आएका व्यक्तिको खोजी सुरु भएको पनि प्रवक्ता देवकोटाको भनाइ छ । आज ललितपुर र सिन्धुलीमा एक एक जना थपिएसँगै सङ्क्रमित भएका जिल्लाको सङ्ख्या ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश ५ मा एक सय ७६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश २ मा एक सय ३६ जना, प्रदेश १ मा ५४ जना, वाग्मती प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी प्रदेशमा चार जना र कर्णाली प्रदेशमा एक जना गरी चार सय दुई जनामा कोरोना पुष्टि भएको हो । दुई जनाको ज्यान गएको छ भने ३७ जना निको भएका छन् ।

गएकाे २४ घण्टामा दुई हजार दुई सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय चार जनाको नमुना परीक्षण गरिएको छ । यस्तै गएकाे २४ घण्टामा पाँच हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडीटी परीक्षण भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा नाै हजार चार सय ७३, प्रदेश नम्बर २ मा नाै हजार दुई सय १६, वाग्मती प्रदेशमा १३ हजार एक सय ९७ र गण्डकी प्रदेशमा ६ हजार नाै सय ५७ जनाको आरडीटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा नाै हजार तीन सय ५३, कर्णाली प्रदेशमा सात हजार पाँच सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार आठ सय ७० जनाको आरडीटी परीक्षण भएको छ ।

उपत्यकामा १७ र बाहिर चार सय ४० जना गरी ४ सय ५७ जना आइसोलेशनमा रहेका छन् । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा एक सय ३७ र वाग्मती प्रदेशमा ७८ (उपत्यका १७ सहित) जना आइसोलेशनमा रहेका छन् । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा एक सय ८८, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा ११ जना आइसोलेशनमा रहेका छन् ।

अहिले देशभरिका क्वरेण्टीनमा २१ हजार ६ सय २३ जना रहेका छन् । प्रदेश नम्बर १ मा एक हजार एक सय ७८, प्रदेश नम्बर २ मा तीन हजार चार सय ८१, वाग्मती प्रदेशमा तीन सय ३२ र गण्डकीमा तीन सय ५९ जना क्वरेण्टीनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा एक हजार नाै सय ३६ जना क्वरेण्टीनमा रहेका छन् ।

अब कोरोनाको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको प्रवक्ता देवकाेटाले बताउनुभयो । सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रित गरी कम्तीमा १०/१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय