#
बिचार/ब्लग

भारतीय मिडिया: जति कोटायो, त्यति गन्हाउछ !

  नवीन गुरुङ   ९ जेष्ठ २०७७, शुक्रबार १२:३७

नवीन गुरुङ/ नेपाल सरकारले भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतका अधिकांस मिडिया (टेलिभिजन च्यानलहरु) नेपालमाथि खनिन् थालेका छन् । विभिन्न उत्तेजक र अतिरञ्जित आधारहिन समाचार प्रोपोगाण्डहरु र भ्रम छर्न हतास देखिएका छन् ।

यसैबिच, नेपालमा पनि पुनः भारतीय च्यानल बहिष्कार गरौं भन्ने आवाज उठ्न थालेको छ । सामाजिक संजालदेखि कतिपय नेपाली मिडियासम्म यो पक्षमा देखिन्छन् ।

भावनात्मक हिसाबले, विरोधको अभिव्यक्तिको स्वरूप प्रकट भारतीय च्यानल बहिस्कार गरौं भन्ने आवाजमा हरेक देशप्रेमी सहमत हुन निसन्देहः जरुरी छ ।

देशप्रेमको हिसाबले यो प्रसंग उठाएउनु जायज र प्रशंसानीय मान्न सकिन्छ । किन्तु, बहिष्कार विरोधको अभिव्यक्ति हुन सक्छ तर, सफल रणनीति नै चै किञ्चित मान्न सकिन्न ।

व्यक्तिगत रुपमा, नैतिक, सामाजिक, राजनीतिक वा, भावना र राष्ट्रियताका कारण, भारतीय च्यानल बहिस्कार गरौं भन्ने सवालमा म समेत सहमत हुन सक्छु ।

यधपि, नेपालमा भारतीय च्यानलहरु बहिष्कार गरेर वा ती च्यानलहरुमाथि प्रतिबन्ध लगाएर (वा, बन्द गरेर) हामीले हाम्रौं सीमामाथिको भारतीय अतिक्रमण (सिधा भन्दा, उसको हेपाह प्रवृति) को अन्त्य गर्न सक्छौं कि भन्ने नेपाली जनमानसको दृष्टिकोण हो भने त्यो भ्रममा चै म भद्र असहमति प्रकट गर्दछु ।

भारतीय च्यानल जतिसुकै खराब होस् (भए पनि) उसको बहिष्कार हामीले भारतलाई दिने सशक्त जवाफी उत्तर होईन । र, अढानका साथ भन्छु, त्यो हुनु पनि हुदैन ।

किनकी, यो कदमले भारत र भारतीय मिडियामाथि त्यति ठूलो प्रभाव वा असर पर्देन । न आर्थिक हिसाबले साम्राज्यवादी भारतलाई ठूलो नोकशानी पुराउछ, न भारतीय मिडियाको अतिवादी प्रोपोगाण्डा रोकिन्छ ।

नेपाल लोकतन्त्रमा विश्वास गर्छ । नेपाल वाक र प्रेस स्वतन्त्रतामा विश्वास गर्छ । यसको अर्थ, नेपाल कुनै पनि पक्षको विचार, विवेक र बौद्धिकतालाई सुन्छ ।

वाक स्वतन्त्रतामा विश्वास राख्ने नेपाल र विश्वलाई सुन्ने हामी नेपालीले कुनै पनि बहानामा कुनै पनि (त्यो भारतीय च्यानललाई नै किन नहोस् !) मिडिया बहिष्कार गछौं भने त्यो लोकतन्त्र र प्रेस स्वतन्त्रताको खिलाफ मात्र हुदैन, हाम्रौं आफ्नै मुल्य र मान्यता विरुद्ध पनि हुन जान्छ ।

यसर्थ, विरोधको अभिव्यक्तिको स्वरूप बहिष्कार भावनात्मक रुपमा जायज लागे पनि विश्वपरिवेश, लोकतन्त्र, प्रेस स्वतन्त्रताका कारण र हाम्रैं आफ्नो मुल्य र मान्यताका आधारमा पनि कालन्तरमा उचित ठहराउन सक्ने छैनौं ।

त्यसमाथि, भारतीय च्यानललाई बहिष्कार गर्दा भारत र उसका लाचार मिडियाले “लोकतान्त्रिक मुलुक नेपालमा मिडियामाथि बन्देज !” भनेर मसलादार समाचार बनाउने अर्को आधार पाउछन् । यो मौंका उनीहरु सधैं खोजीरहेका हुन्छन् ।

विश्वलाई पनि थाहा छ, भारतीय मिडियाका तिकड्म । परन्तु, यति हुदाँहुदै पनि भारतीय मिडियालाई किन बहिष्कार गरिएन ? प्रश्न स्वभाविक उठ्न सक्छ । यदि उत्तेजित रुपमा अभद्र र असभ्य भाषामा उत्तर दिने हो भने, नेपाली उखान छ कि- गु जति कोटायो, त्यति गन्हाउछ ।

विश्वासनियता गुमाईसकेका भारतीय मिडिया च्यानलहरुसँग कोही डराएका होईनन्, मात्र नेपाली उखान सम्झेर चुप बसेका हुन् ।

नेपाली मिडियाले आफ्नो देशको विचार, समाचार र सूचनाहरुलाई अझ सशक्त बनाउन जरुरी देखिन्छ ।

भारतीय मिडियाको उत्तेजक र अतिरञ्जित आधारहिन समाचार प्रोपोगाण्डहरुलाई पछारेर नेपाली मिडियाले अत्यन्तै प्रभावकारी ढंगबाट आम नेपाली तथा विश्वमा सत्य र तथ्यलाई प्रष्ट देखाउन, सुनाउन र बुझाउन सक्नु पर्दछ ।

भारतीय च्यानल (मिडिया) बहिष्कार भन्दा पनि नेपालीमाथि प्रविधिबाट उसका मनोवैज्ञानिक मानसिक नियन्त्रण जरैबाट परिवर्तन (ब्रेनवाशिंग) गर्न अत्यावश्यक देखिन्छ ।

नेपाली मिडियाले प्रभावकारी रुपमा आम नेपालीको दृष्टिकोण, विश्वास, र व्यवहारलाई राष्ट्रियताको सवालमा यदि प्रभावित गर्न सक्यो भने नेपालीको चिन्तन, चेतना र विवेकमा कहिले नढगमगाउने, कहिले विचलित नहुने र डर, धम्की, त्रास, लोभ, लाभ, प्रलोभन वा स्वार्थमा नपर्ने र सम्झौंता नगर्ने सच्चा देश प्रेमको किल्ला गाढ्न निश्चित रुपमा सफल हुनेछ ।

परिणामतः भारतीय च्यानलको प्रोपोगाण्डा (संगठित प्रचार) फिका साबित हुनेछ । नेपाली मिडिया बलिया भए भारतीय मिडिया बहिष्कार गरिरहनु पर्दैन । यसर्थ, हामी बलिया हुने तर्फ सोचौं ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु