अनुवाद : रोहेज खतिवडा

Barack Obama

अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समय अनुसार शनिबार दिँउसो ‘एचबिसियु’ अन्तर्गतका कलेजबाट पास भएका विद्यार्थीहरूलाई भिडियोमार्फत सम्बोधन गरे। एचबिसियु १९६४ नागरिक अधिकार ऐन आउनुभन्दा पहिले अश्वेत अमेरिकीका लागि खुलेका कलेज र विश्वविद्यालयहरू हुन्। यसवर्ष ७८ शैक्षिक संस्थाका लगभग २७ हजार विद्यार्थी दिक्षान्त भए। यिनै विद्यार्थीलाई ओबामाको प्रत्यक्ष भिडियो सम्बोधनको नेपाली पाठ :

सबैलाई नमस्ते ! एचबिसियुबाट पास सबैलाई बधाई। म र मिचेल दुवैले तपाईंहरूको सफलतामा धेरै गौरव महशुस गरेका छौं।

जस्तोसुकै अवस्थामा भए पनि कलेज पास गर्नु ठूलो उपलब्धि हो। यहाँसम्म आइपुग्न धेरैले निकै संघर्ष गर्नुभएको छ। तपाईंहरूले कक्षाभित्र र बाहिरका विभिन्न चुनौतिलाई सफलताका साथ पार लगाउनु भयो। कतिपयले कलेजको फि जुटाउन निकै सास्ती भोग्नुपर्‍यो। तपाईंहरूमध्ये कतिपय त कलेज पास गर्ने परिवारकै पहिलो सदस्य पनि हुनुहुन्छ होला।

तपाईंले यो समेस्टर आधा जति त ‘जुम विश्वविद्यालय’मा पढ्नुभयो होला। यो अनुभव तपाईंहरूसँग छ। यसमा तपाईंले गर्व गर्नुपर्छ। बुवाआमा, हजुरबुवाहजुरआमा, प्राध्यापक, मेन्टर, काकाकाकी, दिदीबहिनी, दाजुभाइ, अनि ती दाजुभाइ जो आफ्ना दाजुभाइ हुन् भन्ने तपाईंलाई राम्रोसँग थाहा छैन, ज-जसले तपाईंलाई सहयोग गर्नुभएको छ, उहाँहरूले तपाईंमाथि गर्व गर्नुहुनेछ। त्यसैले आज उहाँहरूप्रति कृतज्ञता अर्पण गर्नुहोस्।

मलाई थाहा छ, यो दिक्षान्त तपाईंले वर्षौंदेखि कल्पना गरेको दिक्षान्तजस्तो छैन। एचबिसियु प्राज्ञिक लगावका साथै यसको महान् उद्देश्यका लागि प्रख्यात छ, जसलाई कसरी पुरा गर्ने भन्ने पनि यहाँका विद्यार्थीलाई थाहा छ। त्यसैले यहाँको दिक्षान्तको महत्व पनि छ।

तर यो सामान्य समय होइन। तपाईंको सामु विध्वंशकारी विश्वव्याधी र भयानक आर्थिक मन्दीको माझबाट आफ्नो बाटो पहिल्याउनु पर्ने चुनौति छ। यो आदर्श समय होइन। इमान्दार भएर भन्दा यो र यस्ता रोगले यो मुलुकमा भएको असमानतालाई अझ प्रष्ट पारेको छ। साथै, अफ्रिकी अमेरिकी समुदायले इतिहास देखि नै व्यहोर्दै आएको अतिरिक्त भारलाई पनि अझ स्पष्ट पारेको छ।

कोभिड-१९को असमान प्रभाव हाम्रो समुदायले व्यहोरेको हामीले देखिरहेका छौं। जसरी एउटा अश्वेत व्यक्ति ‘जगिङ’मा निस्किएको बेला बाटोमा कसैले रोकेर केही उल्टोपुल्टो कुरा सोध्न सक्छ । अनि उसलाई जवाफ चित्त बुझेन भने गोली हान्न सक्छ।

यस्तो अन्याय नयाँ होइन। तपाईंको पुस्ता यो अन्यायको अन्त्य हुनुपर्छ भनेर जसरी उठ्नु भएको छ, यो नयाँ हो । अब पुरानो ढर्राले काम गर्दैन, त्यसैले यथास्थितिको अन्त्य हुनुपर्छ भनेर जसरी जाग्नु भएको छ, यो नयाँ हो। । तपाईंका वरिपरिका सबै भोक र रोगले ग्रस्त छन् भने तपाईंले जति कमाए पनि त्यसको अर्थ हुँदैन। हाम्रो समाज र लोकतन्त्रले त्यतिबेला मात्रै काम गर्छ, जतिबेला हामी आफ्नोबारे मात्रै नसोचेर एकअर्काको बारेमा सोच्न थाल्छौं।

सबैभन्दा महत्वपूर्ण कुरा, यो विश्वव्याधीले धेरैजसो कार्यकारीहरूले जे गरिरहेका थिए, त्यो विचारमा लागेको पर्दा पुरै हटाइदिएको छ। तीमध्ये कतिपयले त कार्यकारीको भूमिका समेत निभाइरहेका छैनन्।

यदी यो संसार उन्नत हुनेछ भने तपाईंहरूको कारणले हुनेछ। अहिले अचानक हरेक कुराको लागि अवसर खुलेको जस्तो पनि देखिएको छ। यो तपाईंहरूले अग्रसरता लिने समय हो। अहिले कसैले पनि तपाईंलाई पालो पर्खेर बस्नुस् भन्न सक्दैन। कसैले पनि तपाईंलाई ‘हामीले सधैं यसरी गर्दै आएका थियौं’ भन्न सक्दैन। आफ्नो पुस्ताको विश्वलाई कस्तो बनाउने भनेर काम गर्ने तपाईंको समय यही हो।

यो जिम्मेवारी पुरा गर्न तपाईंहरू खरो उत्रिनुहुनेछ भन्नेमा म विश्वस्त छु। मलाई आशा छ तपाईंहरूसँग त्यस्तो दृष्टीकोण छ, जसमा भय र द्वेष छैन।

अफ्रिकी अमेरिकीका रूपमा तपाईंले विश्वका अरू थुप्रै युवाले भन्दा धेरै अवसर पाउनु भएको छ। यतिमात्रै होइन, एचबिसियुको शिक्षाले तपाईंलाई यो संसार कस्तो हुनुपर्ने थियो भन्ने पनि देखाएको छ।

तपाईंले यो देशको जुनसुकै शैक्षिक संस्था पनि छनोट गर्न सक्नुहुन्थ्यो। तर तपाईंले एचबिसियु नै रोज्नु भएको छ, किनभने यसले तपाईंलाई परिवर्तनको बाटो देखाउन सक्छ। तपाईं त्यस्ता मान्छेको पदचाप पछ्याउँदै हुनुहुन्छ, जसले यो व्यवस्थालाई भित्रैदेखि हल्लाएका थिए। थरगुड मार्शल र डा.किंगजस्ता नागरिक अधिकारका अगुवा , टोनी मोरिसन र स्पाइक ली जस्ता आख्याानकारको पदचाप तपाईंले पछ्याउन थाल्नु भएको छ।

तपाईंले मेडिसिन वा इन्जिनियरिङ रोज्नु भएको छ, किनभने तपाईं सेवा र नेतृत्व दुवै गर्न चाहनुहुन्छ। तपाईंले एकदमै राम्रो विषय छनौट गर्नुभएको छ।

तपाईंले महशुस गरे पनि नगरे पनि, सन् १९६०को दशकको नागरिक अधिकारको पुस्ताले भन्दा तपाईंले धेरै ‘रोड म्याप’, धेरै आदर्श व्यक्ति, र धेरै स्रोतसाधन पाउनु भएको छ। मेरो पुस्ताको तुलनामा तपाईंले धेरै उपकरण, प्रविधी र तीक्ष्णता पाउनु भएको छ। संसारलाई बदल्ने न्यायको योद्धा बन्न तपाईं जत्ति बलियो ठाउँमा अरू कुनै पुस्ता थिएन।

अब म तपाईंहरूले तपाईंको हातमा आएको यो शक्ति केका लागि प्रयोग गर्ने भन्ने बताउँछु । तपाईंहरूमध्ये कतिपयले परिवर्तनका लागि यसअघि नै यसको प्रयोग शुरू गरिसक्नु भएको छ। तै पनि, म तपाईंलाई तीनवटा सुझाव दिन चाहन्छु ।

पहिलो, तपाईं वास्तविक रूपमै समुदायको तल्लो तहसम्म जानुस् । समुदायका वास्तविक मानिसहरूलाई भेट्नुस्। एकदमै आधारभूत तहबाटै काम गर्नुस्।

समानता र न्यायको लडाईं चेतना, संवेदना, लगावका साथै उचित आक्रोसबाट सुरू हुन्छ। अनलाइनमा मात्रै सक्रिय नुहुनुस्। आवश्यकता अनुसार रणनीति, कार्यक्रम, संगठन, जुलुस र भोट सबै बदल्नुस्, जुनस्तरमा यसअघि कहिल्यै नभएको होस्। यो अभियानलाई माथिल्लो स्तरमा लैजान तपाईंभन्दा राम्रो अवस्थामा अरू कोही छँदैछैन।

स्वास्थ्य सेवामा असमानताको अन्त्य होस् वा आपराधिक घटनामा न्याय र मतदानको अधिकार होस्, यसका लागि तपाईंहरू लडिरहनु भएको छ। यसलाई जारी राख्नुस् ।

दोस्रो, यो सबै तपाईंले एक्लै गर्नसक्नुहुन्न। अर्थपूर्ण परिवर्तनका लागि साझा उद्देश्य भएकाहरूसँगको सहकार्य आवश्यक हुन्छ। अफ्रिकी अमेरिकीका रूपमा हामी अन्याय, असमानता र संघर्षसँग अभ्यस्त छौं। तर, अरू सीमान्तकृत र विभेदमा पारिएकाको अनुभवसँग जोडिएर हामीले आफ्नो अभियानलाई थप जिवन्त बनाउन सक्छौं। मलाई वा मेरो समुदायलाई के हुन्छ भन्नुभन्दा पनि संघर्षका मैदानमा रहेका हरेकको पक्षमा उभिनुस्। आप्रवासी, शरणार्थी, गाउँका गरिबहरू, तेस्रो लिङ्गी तथा समलिङ्गी समुदाय, हरेक पृष्ठभूमिका न्युन आय भएका मजदुरहरू, समान कामका लागि समान ज्याला नपाउने वा आफ्नै कामको बोझ र विभेले थिचिएका महिलाहरू, यी सबैको न्यायका लागि उभिनुस्। चाहे उनीहरू श्वेत हुन् वा अश्वेत, दक्षिण अमेरिकी हुन् वा आदिवासी अमेरिकी। फेनी लो ह्यामरले भनेको जस्तै, ‘सबै स्वतन्त्र नभएसम्म कोही पनि स्वतन्त्र हुँदैन।’

आर्थिक र वातावरणीय न्याय, सबैका लागि स्वास्थ्य सेवाजस्ता मुद्धामा अन्तिममा यो देशका सबै एक ठाउँमा हुन्छन्। त्यसैले, शक्तिमा हुनेहरूले तपाईंहरूमा फाटो ल्याउने माध्यमहरू खोजिरहन्छन्। किनभने त्यसले नै परिवर्तनलाई रोक्न सक्छ। तपाईंले जुन व्यवस्था पाउनु भएको छ त्यसले धनी र शक्तिशालीको मात्रै सेवा गर्छ, त्यसबाहेक अरू कसैको वास्ता गर्दैन। त्यसैले आफ्नो काल्पनिकी फैलानुहोस् । मानिसहरूलाई जोड्नुस्। र, उन्नत संसार बनाउन तपाईंको अभियानमा साथ दिने सहयोगीहरू जुटाउनुस्।

अन्त्यमा, एचबिसियुबाट दिक्षान्त गरेसँगै तपाईंले आफू यो दशको आफू यो देशको एउटा सबैभन्दा गौरवशाली परम्पराको हिस्सा भएको भुल्नु हुँदैन। जसको अर्थ, तपाईंहरू सबै अहिले नै आदर्श व्यक्ति बनिसक्नु भएको छ। यो लोकतन्त्रमा तपाईंको सहभागिता, सत्यको पक्षमा उभिने तपाईंको साहस, तपाईंले बनाउने सम्बन्धहरूले धेरै प्रभाव पार्ने छन्। यदी तपाईं निष्क्रिय रहनुभयो भने पनि त्यसको अर्को अर्थ लाग्नेछ। तपाईंपछिको पुस्ताको लागि मात्रै होइन, तपाईंका बुवाआमा, तपाईंका दौंतरी र यो देशको लागि नै यसले फरक पार्ने छ। उनीहरूले तपाईंको नेतृत्व पाउनु पर्छ। लामोसमयदेखि यो देशले तपाईंहरूको प्रतिक्षा गरिरहेको थियो।

यो शक्ति तपाईंसँग छ। न्याय, समानता र खुशीका लागि चम्किन सक्ने शक्ति तपाईंसँग छ। अब तपाईंसँग प्रमाणपत्र छ। यसलाई कसरी प्रयोग गर्ने तपाईंकै हातमा छ। हामी तपाईंप्रति विश्वास्त छौं।

मलाई तपाईंमाथि गर्व छ। र, जब तपाईं संसार परिवर्तनको यात्रामा निस्कनु हुन्छ, त्यतिबेला बतासझैं हामी तपाईंको पछिपछि हुनेछौं।

बधाई, क्लास २०२०।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय