काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले जनताले अधिकार नपाएका बेला राष्ट्रिय एकताको कल्पना नगर्न सुझाएका छन्।गैर सरकारी विधेयकको रुपमा आफ्ना मागहरु समेटेर संविधान संशोधन गर्न ठाकुर सहितका राजपाका नेताहरु शुक्रबार संघीय संसद सचिवालय गएका थिए। तर सचिवालयमा उनीहरुको विधेयक दर्ता भएन।

विधेयक दर्ता नभएपछि संसद सचिवालयबाट बाहिरिने क्रममा प्रतिक्रिया दिदैँ ठाकुरले भने – ‘यदि देशको एक भागको जनता आक्रोशित छ। उसले आफ्नो अधिकारको माग गरेको छ त्यसलाई सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस्।’
ठाकुर सहित राजपाका नेताहरु नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका मुद्दा बोकेर संविधान संशोधन दर्ता गर्न संसद सचिवालय पुगेका थिए। तर सचिवालयले संशोधन प्रस्ताव दर्ता गरेको छैन।

पढ्नुहोस् – के छ राजपाको संशोधनमा ?
सरकारले गत साता नेपालको नयाँ नक्सा अनुरुपको निशान छाप बनाउन संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो। लगत्तै प्रधानमन्त्रीले आव्हान गरेको सर्वदलीय बैठकमा समेत ठाकुरले आफूहरुले विगत देखि उठाउँदै आएको संविधान संशोधनको विषयलाई समेत एकसाथ समेट्न माग गरेका थिए।

ठाकुरले सरकारले ल्याएको संविधान संशोधन दर्ता भएकाले आफूहरुले पनि गैरसकारी विधेयक ल्याएको बताए। कांग्रेस र माओवादी सरकार भएका बेला मधेशका लागि संविधान संशोधन गर्ने गरि जुन संशोधन आएको थियो। त्यसबेला एमालेले भोट नदिदाँ अगाडि बढेन। त्यसलाई पुन दर्ता गराउन आएको हो’, ठाकुरले प्रश्न गरे, ‘सरकारको संविधान संशोधनको दर्ता हुने? हामी पनि संविधानसँग सम्बन्धित पक्ष हो। हामीले आवाज पनि उठायौँ। भन्यौँ पनि। हाम्रो पनि समस्या समाधानको अवसर हो।’ठाकुर लगायत राजपाका नेताहरु राजेन्द्र महतो, महिन्द्रराय यादव, अनिल झा, लक्ष्मणलाल कर्ण संशोधन प्रस्ताव लिएर संसद सचिवालय पुगेपनि सोही पार्टीसँग एकता टुङ्गो भएको समाजवादी पार्टीका कोहीपनि सचिवालय गएनन्। पत्रकारले बाबुराम भट्टराई र उपेन्द्र यादवहरु सहभागि नभएको विषयमा सोधेको प्रश्नमा उनले घुमाउरो पाराले पार्टीमा समस्या रहेको स्वीकारे।

‘समस्या मुखले त होइन भनेपनि कामले तपाँई हामीले देख्यौँ’, ठाकुरले भने, ‘उहाँहरु(बाबुराम भट्टराई र उपेन्द्र यादव)ले सपोर्ट गर्छौँ। दर्ता गराउनुहोस् भन्नुभयो।’ राजनीतिक सहमति बेगर दर्ता गराएको संविधान संशोधन अगाडि बढ्नेमा आशंका उब्जिएको पत्रकारको प्रश्नमा ठाकुरले ‘सर्वदलीय बैठकमै’ आफूहरुले कुरा राखेको बताए। हामीले सर्वदलीय बैठकमा पनि भनिसकेको छौँ। हाम्रो भावना पनि संविधान संशोधनसँग जोडिएको छ। यसलाई सम्बोधन गरेर संशोधन मार्फत् हामीहरुको जे समस्या छ त्यसलाई समाधान गर्नुहोस् यदि भएन भने जनता आक्रोशित हुन्छ, मधेश आक्रोशित हुन्छ। हाम्रो भनाई थियो – आक्रोशित जनता राष्ट्रिय एकताको पक्षमा जाँदैन।’

ठाकुरले बारम्बार सरकारले आफूहरुको माग सम्बोधन गर्छौं मात्र भन्ने गरेको बताए। ‘बारबार भन्नुहुन्छ संवादबाट समस्या समाधान गर्छौं तर यस्तो अवस्थामा संवाद पनि कठिन हुन्छ’, ठाकुरले भने, ‘किन तपाँईसँग संवाद गर्ने। जब तपाईं सुन्दै सुन्नुहुन्न भने संवाद कठिन हुन्छ।’उनले एक भागको जनता आक्रोशित भएका बेला राष्ट्रिय एकता कठिन हुने बताए। ‘यदि देशको एक भागको जनता आक्रोशित छ, उसले आफ्नो अधिकारको माग गरेको छ, त्यसलाई तपाईं सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस्।’

सरकारले ल्याएको नक्सा अनुसार निशान छाप बनाउने संविधान संशोधन विधेयकको पक्षमा उभिन कठिन हुने ठाकुरले बताए। विवाद अरु ठाउँमा पनि छ। मात्रै त्यहाँ (कालपानी–लिम्पियाधुरा)मा छैन। त्यो कुराहरु पनि अब उठ्छ। सुगौली सन्धीमा धेरै कुरा आएको छैन’, ठाकुरले भने, ‘त्यसै यहाँको शाशकहरुले पाएको छ। त्यो कुरा अब उठ्छ। त्यो पनि विवादको विषय बन्छ अब। छोड्दैनौँ हामी।’ उनले सुगौली सन्धिको कुन विषय उठाउने भन्ने खुलाएनन्। राजपाले शुक्रबार गैरसरकारी विधेयक मार्फत् संविधान संशोधन विधेयक दर्ता गर्ने प्रयास गरेको थियो। तर संसद सचिवालयले निर्णय दिन नसकेपछि विधेयक दर्ता हुन सकेन। सेतो पार्टीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय