#

विश्वका यी नेता : सरल जीवन, उच्च प्रतिष्ठा


विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा समेत पढाउँछन् । उनीहरूलाई साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु बेतुक लाग्छ । राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन् । यस्ता नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् ।

कोलिन्डा ग्राभर, क्रोएसियाकी पूर्वराष्ट्रपति

कोलिन्डाको सामान्य जीवनशैली संसारभर चर्चित छ । राष्ट्रपति हुँदा पनि उनले घरको काम आफैँ गर्थिन् । केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो । ०१८ को विश्वकप फुटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा खेलाडीको हौसला बढाउन रसिया पुगेकी तत्कालीन राष्ट्रपति विश्वचर्चित भएकी थिइन् । उनी इकोनोमिक क्लासको टिकटमा रसिया पुगेकी थिइन् । त्यति मात्र होइन, प्याराफिटमा पनि भिआइपी सिट छाडेर उनी सामान्य दर्शकसँगै बसिन् । पानी पर्दा पनि छाता खोजिनन् । मैदानमै पुगेर खेलाडीलाई हौसला दिन पनि पछि परिनन् ।

मार्क रुटी, नेदरल्यान्ड्सका प्रधानमन्त्री

प्रधानमन्त्री रुटी सडकमा निस्कँदा अगाडि-पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन्, किनकि उनी आफैँ साइकल चढेरै कार्यालय आउजाउ गर्छन् । अहिले पनि उनी स्मार्टफोन होइन, नोकियाको सामान्य बार फोन चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् ।

बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति
राष्ट्रपतिबाट अवकाश पाएपछि ओबामा आफ्नै फाउन्डेसनमार्फत समाजसेवामा सक्रिय छन् । बिरामी बालबालिकालाई भेट्न अस्पताल पुग्छन्, युद्धपीडितलाई भेट्न घर–घर पुग्छन् । उनी सर्वसाधारणकै शैलीमा सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् । कहिलेकाहीँ सडकपेटीमा बेच्न राखिएका फलफूलको मज्जा लिन्छन् । सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् ।

जस्टिन ट्र्युडो, क्यानडाका प्रधानमन्त्री

प्रधानमन्त्री जस्टिन शरणार्थीका प्रिय नेता नै हुन् । सिरिया द्वन्द्वबाट विस्थापित ५० हजार आप्रवासीलाई उनले क्यानडामा स्वागत गरिसकेका छन् । ४५ वर्षीय जस्टिन शासनसत्तामा आएसँगै सन् २०१६ मा क्यानडाले ४० वर्षयताकै सबैभन्दा धेरै शरणार्थीलाई देशमा प्रवेश गराएको छ । कतिपयलाई लिन त विमानस्थल नै पुगे । शरणार्थीलाई न्यानो कोट लगाइदिएर स्वागत गरे । उनी आफ्नो आवागमनको समयमा ‘भिआइपी सान’ साइरन बजाउँदै अन्य यात्रुलाई रोकेर दुःख दिन रुचाउँदैनन् । भारत भ्रमण आएका वेला पनि उनले सामान्य होटेलमा खाना खाएका थिए ।

इमरान खान, पाकिस्तानका प्रधानमन्त्री

सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकारप्रमुखका सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे भवनमा सारे । त्यति मात्र होइन, प्रधानमन्त्री कार्यालयका रूपमा सञ्चालित भवनमा शिक्षालय सञ्चालन गरे ।

प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैँसी लिलामीमा बिक्री गरे । आफ्नो सचिवालयमा दुईवटा गाडी मात्रै राखे । आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रूपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसहित सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे ।

जुली एनी गेन्टर, न्युजिल्यान्डकी यातायातमन्त्री

जुली साइकल चलाउन वकालत गर्छिन् । आफू पनि साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् । सुत्केरी बेथाले च्याप्दा पनि उनी साइकल चलाउँदै अस्पताल पुगिन् र बच्चा जन्माइन् । उनको सामान्य जीवनशैलीको सञ्चारमाध्यमले सधैँ चर्चा गर्छन् ।

आन्द्रेस म्यानुअल लोपेज, मेक्सिकोका राष्ट्रपति

सन् २०१८ मा राष्ट्रपति भएलगत्तै आन्द्रेसले आफ्नो पारिश्रमिक ६० प्रतिशत कटौती गरेर मासिक चार हजार तीन सय अमेरिकी डलर मात्रै लिने निर्णय गरे । उनको निर्णयको अनुसरण गर्दै अन्य मन्त्री र कर्मचारीले तलब कटौती गर्दा राज्य कोषलाई फाइदा भयो । उनले राष्ट्रपतिनिवासलाई सांस्कृतिक केन्द्र बनाए । पूर्वराष्ट्रपतिको पेन्सन पनि कटौती गर्ने निर्णय गरे ।

एपिजे अब्दुल कलाम, भारतका पूर्वराष्ट्रपति

एपिजे अब्दुल कलाम भारतको राष्ट्रपति छँदा आफ्नो निवासमा आउने निजी पाहुनालाई चिया र खाजा आफ्नै खर्चमा खुवाउँथे । राष्ट्रपति हुनुअघि उनी एउटा कोठा भाडामा लिएर सामान्य जीवन बिताउँथे । राष्ट्रपतिनिवासबाट बिदा भएपछि पनि सरल जीवन बिताए ।

उनले ट्विटरमा आफूलाई फलो गर्ने सर्वसाधारणलाई जन्मदिन र अन्य अवसरमा शुभकामना दिने गरेका थिए । आमसर्वसाधारणले झैँ सामान्य रेस्टुरेन्टमा पुगेर मिठाई र चाट खान्थे । एकपटक समारोहका दौरान मञ्चमै आएर एक बालिकाले उनीसँग हात मिलाउन अनुरोध गरेकी थिइन् । कलामले मुस्कुराउँदै उनको अभिवादन स्विकारेर हात मिलाएका थिए । यस्ता धेरै अवसरमा कलाम सादगी देखिए । कलामले अन्तिम सास पनि एउटा कक्षाकोठामा फेरेका थिए जहाँ उनले विद्यार्थीलाई पढाइरहेका थिए ।

भारतका पहिला राष्ट्रपति डा.राजेन्द्रप्रसाद (राजेन्द्र बाबु भनिन्थ्यो, २६ जनवरी १९६० देखि १३ मई १९६२ सम्म) को जीवनशैलीबारे तत्कालीन काँग्रेस आइका नेता भीष्मनारायण सिंहका किस्सा भारतीय राजनीतिक इतिहासका पुस्तकमा पढ्न पाइन्छ । भीष्मनारायण राष्ट्रपति राजेन्द्रलाई भेटन गैरहन्थे । उनका अनुसार राष्ट्रपति राजेन्द्र लामोसमय च्यातिएको ‘बेड कभर’मै सुत्थे ।

राष्ट्रपति कार्यालयको व्यवस्थापनमा खटिएका कर्मचारीहरुले भीष्मनारायणसँग भन्थे, ‘बेड कभर च्यातिएको छ । धेरै पुरानो छ । तपाईंले राजेन्द्र बाबुसँग बदल्न भनिदिनु प¥यो ।’ कर्मचारीले भनेपछि एक दिन भीष्मनारायणले राष्ट्रपति राजेन्द्रप्रसादलाई भनेका थिए, ‘कर्मचारीले धेरै गुनासो गरे, बेड कभर बदल्नुपर्ने भयो ।’

राष्ट्रपति राजेन्द्रप्रसादलेले जवाफ दिए, ‘मेरो लागि सवैभन्दा ठूलो शहर पटना (उनी विहारमा जन्मेका कारण) हो । म कलकत्तामा बसेँ, जहाँ मजदुरहरु बोरा विछाएर सडक पेटिमा सुतिरहेका छन् । यही देशमा मजदुर सडक पेटिमा बोरोमा सुत्न सक्छन भने राष्ट्रपति भवनभित्र राष्ट्रपति उस्तै तरिकाले बस्छ भने यसमा के समस्या भयो ?’

जोसे मोहिका, उरुग्वेका पूर्वराष्ट्रपति

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मोहिका साधारण जीवनका पर्याय हुन् । सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति छँदा उनलाई ‘संसारकै गरिब राष्ट्रप्रमुख’ भनिएको थियो । अवकाशपछि सरकारले उपलब्ध गराएको आवास छाडेर उनी आफ्नी श्रीमतीसँगै सानो घरमा सरे ।

त्यहाँ उनले फूल रोपेका छन्, आफैँ बजार लगेर बेच्छन्, आम्दानीले घरखर्च चलाउँछन् । पूर्वराष्ट्रपति भएका नाताले पाउने तलब (१२ हजार अमेरिकी डलर) मध्ये ९० प्रतिशत रकम उनले समाजसेवामा खर्चने गरेका छन् । ‘संसारका गरिब व्यक्तिहरू ती हुन् जसले केवल खर्चिलो जीवनशैली बिताउने लक्ष्यले काम गर्छन् र सधैँ असन्तुष्ट रहन्छन्,’ उनको भनाइ छ ।

जोयसी बान्डा, मालाबीकी पूर्वराष्ट्रपति

सन् २०१२ देखि २०१४ सम्म मालाबीमा राष्ट्रपति थिइन् बान्डा  । आफ्नो देशको आर्थिक अवस्था सुधार्न उनले मितव्ययी कार्यक्रम ल्याइन् र त्यसको सुरुवात आफैँबाट गरिन् । यी प्रथम महिला राष्ट्रपतिले राष्ट्रपतिका लागि प्रयोग हुने जेटप्लेन र ६० वटा मर्सिडिज कार बेच्ने निर्णय गरेकी थिइन् । नया पत्रीका बाट

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु