झापा। झापाको मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन स्थानीयवासीको अवरोध नभएको स्थानीय नागरिक सरोकार समाजले जनाएको छ। कोभिड अस्पताल नागरिक सरोकार समाज भद्रपुरले पत्रकार सम्मेलन गरी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कोभिड अस्पताल बनाउन सरकारलाई आग्रह गरेको हो।

समाजका अध्यक्ष भक्त खवासले झापामा कोरोना संक्रमित बढिरहेको बताउँदै सुरक्षित कोभिड अस्पताल बनाउन ढीला गर्न नहुने बताए। उनले भने, “कोभिड अस्पतालबाट स्थानीय क्षेत्रमा सङ्क्रमण नफैलियोस्, विपन्नहरुको उपचारको भरोसायोग्य केन्द्र मेची अञ्चल अस्पतालको सेवामा कुनै पनि प्रकारको अवरोध उत्पन्न नहोस् र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिमको अस्पताल बनाउन ढीला नगरियोस् ।”

प्रदेश १ सरकारले कोराना अस्पताल बनाउन गरेको निर्णय स्वागतयोग्य भएपनि कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले स्थानको चयन गर्दा स्थानीय सरोकारवालाहरुसँग कुनै परामर्श नगरेकामा उनले गुनासो गरे।

मेची अञ्चल अस्पतालका पूर्वअध्यक्ष छत्र अधिकारीले कोभिड अस्पताल बनाउँदा त्रसित हुन नहुने बताए। उनले भने, “पुरानो अस्पतालको सेवामा समेत कुनै अवरोध आउनुहुन्न, राज्यले ग्यारेन्टी गरेर कोभिड अस्पताल बनाए आपत्ति हुँदैन ।”

कोभिड अस्पताल बनाउन अवरोध पुर्‍याएको भन्दै भइरहेको प्रचारप्रति गम्भीर आपत्ति प्रकट गर्दै समाजको नेतृत्वले स्थानीय सरोकारवालाहरुका तर्फबाट कहिल्यै पनि कोभिड अस्पतालको विरोध नगरिएको जनाएको छ।

झापामा हालसम्ममा १११ जनामा कोरोना संक्रमित फेला परेका छन्। तीमध्ये १०० जना कचनकवल गाउँपालिकाका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय