#

बिद्वान कालिदास आजित भएर किन परे बृद्धाको चरणमा ?


काठमाडौं । कालिदास संस्कृत भाषाका सबैभन्दा महान् कवि र नाटककार थिए । कालिदास काली र शिवका पनि भक्त थिए। उनले पौराणिक कथाहरू र दर्शनलाई आधार मानेर रचनाहरू गरेका छन् । कुनै बेला कालिदास मूर्ख थिए । कालिदासले विद्योत्मासँग विवाह गरेका थिए। कालिदासको मूर्ख स्वभावका कारण विद्योत्मा साह्रै दुखी थिइन्। उनले कालिदासलाई घरबाट निकालिदिइन् र सच्चा पण्डित नबनी घरमा नफर्कन भनिन् ।

कालन्तरमा कालिदासले कालीको आर्शीवादले बिद्वान बने । बिद्वतता प्राप्त गरिसके पछि पनि कालिदासलाई आफ्नो बिद्वतताप्रति ज्यादै अहंकार थियो । एकपटक कुनै आदिबासी गाउँमा जादै गर्दा कालिदासलाई असाध्यै तिर्खा लाग्यो । उनले पानी बोकेर आउँदै गरेको एकजना बृद्धालाई देखे ।

कालिदासले बृद्धाको नजिक गएर भने,’आमा मलाई पानी पिउन दिनुहोस् , तपाईलाई ठूलो पुन्य प्राप्त हुनेछ ।’
बृद्धाले भनिन,’ बाबु म तिमीलाई चिन्दै चिन्दिन पहिले आफ्नो परिचय देउ । म अबश्य पनि तिमीलाई पानी दिन्छु ।’
कालिदासले भने,’ म पथिक हूँ, कृपया अब पानी पिलाउनु होस् ।’
बृद्धाले भनिन्,’ तिमी पथिक कसरी हुन सक्छौ? पथिक त केवल दुई मात्र छन् एक सूर्य अर्को चन्द्रमा । जो कहिल्यै पनि रोकिदैनन् । सधै घुमिरहन्छन् , तिमी यी दुई मध्ये कुन हौ पहिले मलाई सत्य बताउ ।’
कालिदासले भने,’म पाहुना हुँ, कृपया मलाई पानी पिलाउनु होस् ।’
बृद्धाले भनिन्,’ तिमी पाहुना कसरी हुन सक्छौ? संसारमा दुई मात्र पाहुना छन् । पहिलो धन, दोस्रो यौवन । यी जानमा समय लगाउँदैनन् , सत्य बताउ तिमी को हौ?’

बृद्धसँगको तर्कले पराजित कालिदास हताश भइसकेका थिए । कालिदासले भने, ‘म सहनशील हूँ, अब त पानी पिलाउनु होस् ।’

बृद्धाले भनिन्,’होइन, सहनशील त दुई मात्र छन् । पहिलो, धरती जो पापी-पुण्यात्मा सबैका बोझ सहन्छ । उसको छाती चिरेर बिउ उम्रन्छ तबमात्र अनाजको भण्डार बन्छ । दोस्रो रूख जसलाई ढुंगाले हान्दा समेत मिठो फल दिने गर्छ । तिमी सहनशील होइनौं, साँचो बताउ तिमी को हौं ?’

कालिदास लगभग मूर्छित स्थितिमा आउँन थाले । तर्क-बितर्कबाट निराश हुँदै उनले भने,’ म हठी हूँ । अब त पानी पिलाउनु होस् आमा ।’ बृद्धाले भनिन्,’ फेरी असत्य । हठी त दुई मात्र छन् । पहिला नङ र दोस्रो कपाल । जति काटेपनि बढ्न छाड्दैन, सत्य भन ब्राह्मण तिमी को हौ?’

कालिदास पूर्ण रुपमा अपमानित एबम् पराजित भइसकेका थिए । अन्तमा आजित भएर कालिदासले भने,’ त्यसो भए म मूर्ख हुँ ।’

बृद्धाले भनिन,’होइन तिमी मूर्ख कसरी हुन सक्छौ? मूर्ख त दुई मात्र हुन्छन् । पहिलो शासक जो बिना योग्यता सबै माथि शासन गर्दछ । दोस्रो शासकका सल्लाहकार जो शासकलाई प्रसन्न पार्नका लागि ग़लत तथ्यमाथि पनि तर्क गर्दछन् र गलतलाई सही सिद्ध गर्ने चेष्टा गर्दछन् ।’

कालिदास केही बोल्ने स्थितिमा थिएनन् । अन्तमा उनी नतमस्तक हुँदै बृद्धाको चरणमा शिर राख्दै पानीको लागि अनुनयविनय गर्न थाले ।

बृद्धाले भनिन्,’उठ बाबु । शिक्षाबाट ज्ञान प्राप्त हुन्छ । अहंकार होइन , हामीले शिक्षाको बलले प्राप्त गरेको मान एवम् प्रतिष्ठालाई नै आफ्नो उपलब्धि ठानेर कहिल्यै अहंकार गर्नु हुँदैन ।’ कालिदासलाई आफ्नो गल्ती महसुस भयो र उनी पानी पिएपछि बृद्धासँग कृ्तज्ञ हुदै आफ्नो गन्ततव्य तर्फ लागे ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु