एजेन्सी- रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै संक्रमित विरामीहरुलाई निको पारेको थियो। ११ जूनदेखि संक्रमितहरुलाई दिइने भनिएको यो एन्टिभाइरस औषधि रुसको स्वास्थ्यमन्त्रालयले अस्पतालमा रहेका स‌क्रमितलाई दिनका लागि स्वीकृति दिइसकेको छ। एभिफ्याभिर नामको यो औषधि कोरोना भाइरसविरुद्ध सफल रहेको रुसी अधिकारीहरुको दाबी छ।

रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यसको जानकारी दिएका हुन्।

दिमित्रेभका अनुसार औषधि निर्माता कम्पनीले कोभिड– १९ विरुद्धको भनिएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गरिसक्ने छ।

अहिलेसम्म कोरोना भाइरसविरुद्ध कुनै औषधि वा खोप बनिसकेको छैन। विश्वका विभिन्न देशहरुले एन्टिभाइरल औषधिको परीक्षण गरिरहेका छन्। परीक्षणकै क्रममा रहेका केही यस्ता औषधिले आशा जगाए पनि ती औषधि विरामीलाई खुवाउनका लागि संवन्धित निकायबाट अझै स्वीकृति मिलिसकेको छैन

एभिफ्याभिर औषधि १९९० को दशकको अन्ततिर एक जापानी कम्पनीले विकसित गरेको थियो। आरडीआईएफका प्रमुख दिमित्रेभका अनुसार रुसका वैज्ञानिकले यो औषधिलाई परिस्कृत गरेर धेरै प्रभावकारी बनाएका छन्। यो औषधि मोडिफिकेशनको जानकारी आगामी सातासम्म सार्वजनिक गर्न सकिने उनको भनाई छ।

जापानमा पनि यो औषधिलाई एभिगान नामबाट परीक्षण गरिंदै छ । जापानी प्रधानमन्त्री शिंजो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२.८ करोड डलरको बजेट स्वीकृत गरेका छन्। यद्यपि, जापानले अझै यसलाई स्वीकृति प्राप्त औषधिको सूचीमा समावेश गरेको छैन।

तर रुसमा ३० मेमा यो औषधिलाई स्वीकृत औषधिको सूचीमा राखिएको छ। दिमित्रेभका अनुसार ३३० व्यक्तिमा परीक्षण गरिएको यो औषधिले संक्रमितलाई चार दिनमै कोरोनाबाट छुटकारा दिलाएको थियो। यो परिणाम आएलगत्तै रुसले पूर्व निर्धारित समय अगावै औषधिलाई प्रमाणित गरेको हो।

सामान्यतया यस्ता औषधिको क्लिनिकल ट्रयालमा महिनौं लाग्ने गर्छ। यो अवधिमा औषधि नियन्त्रित तरिकाले ठूलो संख्याका विरामीमा परीक्षण गरिन्छ। विरामीमा औषधिको राम्रो वा नराम्रो कस्तो प्रभाव पर्छ भन्ने कुराको गहन अध्ययन गरेर सन्तुष्ट भएपछि मात्रै औषधि आम उपयोगका लागि स्वीकृति दिइन्छ।

रुसमा ३३० जनामा मात्रै परीक्षण गरिएको यो औषधि ठूलो संख्याका विरामीको उपचारमा सफल हुन्छ कि हुँदैन भन्ने अनुमान अहिल्यै गर्न सकिंदैन।

यसअघि कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन नामक औलोको औषधिले पनि निकै आशा जगाएको थियो । तर, पछि यसले कोरोना भाइरस नियन्त्रणमा कुनै सहयोग नगर्ने भन्दै संक्रमित विरामीलाई यो औषधि दिन बन्द गरिएको छ। नेपाल समय बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर