भारतको गुजरातको अहमदाबाद सिभिल अस्पतालमा आइतबार एउटा अचम्मको घटना घटित भयो ।यहाँ सुरुमा एक परिवारलाई कोभिड–१९ का कारण बिरामीको मृत्यु भइसकेको बताइयो । त्यसको भोलिपल्टै पुनः अस्पतालबाट बिरामीको कोरोना परीक्षण नेगेटिभ आएको र स्वास्थ्यमा सुधार भएका कारण घर लैजान सक्ने खबर प्राप्त भयो ।

उक्त फोन पछि परिवार जब बिरामीलाई लिन अस्पताल पुग्दा पुनः उनीहरुलाई बिरामीको मृत्यु भइसकेको भन्ने खबर दिइयो ।निकोल इलाकामा बस्ने देवराम (७१) लाई सास फेर्न समस्या भएपछि २८ मे मा अहमदाबाद सिभिल अस्पतालमा भर्ना गरिएको थियो । देवराम मधुमेहका पनि बिरामी थिए ।

अस्पताल प्रशासनले देवरामका ज्वाईं निलेश निकतेसँग एक सहमति पत्रमा हस्ताक्षर गर्न भन्यो जसमा उपचारको क्रममा बिरामीलाई केही भइहाले अस्पतालको जिम्मेवारी नहुने लेखिएको थियो ।

निलेशले बीबीसी गुजरातीलाई भने, ‘मेरा ससुरालाई सिभिल अस्पताल भर्ना गरिएको थियो जहाँ आजकाल कोभिड–१९ का बिरामीको उपचार चलिरहेको छ । त्यतिबेला उनको सुगर लेभल ५७५ थियो जुन अत्यधिक हो । जब अस्पताल प्रशासनले मलाई सहमति पत्रमा हस्ताक्षर गर्न भने तब मैले आफ्नो ससुरालाई हेर्ने जिद्दी गरेँ । त्यसपछि अस्पतालका कर्मचारीले उनीसँग भिडियो कल गराइदिए । त्यतिबेला उहाँ ठिक देखिनुभएको थियो । त्यसपछि मात्रै मैले हस्ताक्षर गरेँ ।’अन्तिम संस्कार पछि भनियो, बिरामीको स्थितीमा सुधार छ

निलेशका अनुसार त्यसपछि उपचार सुरु गरियो र उनलाई आफ्नो ससुरा ठिक हुने आशा थियो ।उनी भन्छन्, ‘अस्पतालको औपचारिकता पूरा गरेर हामी घर गएका थियौं । त्यसको भोलिपल्ट मेरो ससुराको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको खबर आयो । त्यसपछि जब मेरो परिवार अस्पताल पुग्यो तब हामीलाई निलो रङको पीपीई किटमा ढाकिएको एउटा शव सुम्पिइयो । त्यतिबेलासम्म हामीलाई उनी कोरोनाद्वारा संक्रमित भएको रिपोर्ट दिइएको थिएन । अस्पतालका कर्मचारीले हामीलाई उनको कपडा देखाएपछि ससुराको निधन भएको हामीले मान्यौं । त्यतिबेला हामीले उनको अनुहार हेरेका थिएनौं । त्यसपछि हामी अन्तिम संस्कारको तयारीमा व्यस्त भयौं ।’

घटना यत्तिमा मात्रै सिमित भएन । त्यसको भोलिपल्ट निलेशको परिवारलाई पुनः अस्पतालबाट फोन आयो । उनी भन्छन्, ‘मेरो ससुराको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको र उहाँलाई जनरल वार्डमा सारिन लागेको बताइयो । अस्पतालले हामीलाई उनलाई घर फिर्ता लैजान सल्लाह दिए ।’

अस्पतालको उक्त फोनले निलेशको परिवारमा त्रास फैलियो, अब उनीहरुले सोच्न थाले कि उनीहरुले देवरामको साटो कसको अन्तिम संस्कार गरे ।

डराएका निलेश र अन्य परिवारका सदस्य पुनः अस्पताल गए, अस्पतालका कर्मचारीले देवरामको मृत्यु भइसकेको बताए र यो प्रमाणित गर्नका लागि आफूहरुसँग कागजातसमेत भएको बताए । परिवारलाई बुझ्न गल्ती भएजस्तो लाग्यो तसर्थ घर फर्किए ।

अर्को एउटा मोडः

यसैबीच निलेशलाई पुनः अस्पतालबाट फोन आयो ।

उनी भन्छन्, ‘यो अस्पतालको तर्फबाट तेस्रो फोन थियो । यसपटक उनीहरुले मेरो ससुराको स्वास्थ्यमा सुधार भइरहेको छ र चिन्ता गर्नुपर्ने केही स्थिती नभएको बताए । जब हामीले उनलाई पछिल्ला दुई फोनबारे बताउँदै आफ्नो ससुराबारे सही जानकारी दिन आग्रह गर्दा उनको स्वास्थ्य अवस्थाबारे यो जानकारी पछिल्लो दुई घण्टा अघिको मात्रै भएको उनले बताए । अस्पतालका कर्मचारीले एकैछिनमा ससुराको मृत्यु भएको बताएका थिए र एकैछिनमा स्वास्थ्यमा सुधार आइरहेको पनि बताएका थिए ।’

अस्पतालका डीनले यो पूरा गडबडीको पुष्टि गरेका छन् । डाक्टर शशंक पांड्याले बीबीसीसँगको कुराकानीमा यो सबै गलत बुझाइका कारण भएको बताए ।

कसरी भयो गडबडी ?

देवरामलाई २८ मेमा सिभिल अस्पताल पुर्याइएको थियो । उनको लक्षण हेर्दै उनलाई गुजरात क्यान्सर रिसर्च इन्स्टिच्युटको कोभिड–१९ वार्डमा भर्ना गरियो जहाँ टेस्टिङका लागि स्याम्पल लिइयो ।

२९ मे दिउँसो देवरामको मृत्यु भयो र उनको शव परिवारलाई सुम्पिइयो । जब कोभिड–१९ का कुनै संदिग्ध व्यक्तिको मृत्यु हुन्छ तब उसलाई सुरक्षा कारणसहित पिपिई किटमा बेर्ने गरिन्छ । त्यसैले परिवारले देवरामको शवलाई पनि त्यसरी नै सुम्पिइयो ।

अन्य फोनवार्ताबारे डाक्टर पांड्याले भने, ‘मृत्यु हुँदासम्म देवराजको कोभिड–१९ को रिपोर्ट आएको थिएन । मृत्युपछि जब रिपोर्ट आयो तब कोरोनाभाइरस नेगेटिभ पाइयो । अस्पतालका कर्मचारीले कोरोनाभाइरस नेगेटिभ आएपछि उनको परिवारलाई फोन गरेर उनलाई जनरल वार्डमा सिफ्ट गर्न लागेको बताए । उनीहरुलाई देवराजको मृत्युबारे थाहा थिएन ।

डाक्टरले पांड्याले शव साटिएको भन्ने कुरालाई अस्विकार गरे र यसलाई दुर्भाग्यपूर्ण गलत बुझाईको रुपमा हेर्न आग्रह गरे । उनले निलेश र देवराजका परिवारका अन्य सदस्यसँग माफीसमेत मागे ।

निलेश अस्पताल प्रशासनको माफीबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘उनीहरुले हामीसँग माफी मागिसकेका छन् र हामी यो घटनालाई लामो समयसम्म तन्काउन चाहन्नौं । तर यो गलत बुझाईका कारण मेरो परिवार दोहोरो मानसिक तनावसँग जुग्रनुपर्यो । यस्तो कसैसँग पनि नहोस् भनेर प्रार्थना गर्छौं । ’ देवरामको परिवारमा उनकी श्रीमती, तीन छोरी, दुई ज्वाईं र एक नाती छन् ।स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय