#

१० अर्ब स्वाहा ! तर बढेकोबढ्यै छ कोरोनाको जोखिम


डा. रवीन्द्र पाण्डे/ जीवन भागदौडमा चलिरहेको थियो । पूँजीवादले हामीलाई यसरी कजाएको थियो कि; भोक, निद्रा, व्यक्तिगत जीवन, पारिवारिक जीवन, आराम, आत्मचिन्तनलगायत जीवनका विविध पाटा बिर्सेर हामीहरू मृगतृष्णाको यात्रामा फर्किन नमिल्ने दुरीतर्फ अग्रसर थियौं । हाम्रा तृष्णा र महत्त्वाकांक्षाका उचाइ दिन प्रतिदिन अग्लिरहेका थिए । जीवनका शितलता हिउँ जसरी पग्लिरहेका थिए । सफलतामा सन्तुष्टि थिएन, असन्तुष्टि मात्र थियो । आर्जन गरेका पैसा, सुन, जग्गा, घर, शेयर, व्यवसाय आदिले नपुगेर हामीहरू आकुलब्याकुल भइरहेका थियौं । भोगको तृष्णामा हाम्रा ओठ सधैँ सुकेका थिए, हाम्रा नजर सधैँ झुकेका थिए ।

विश्वमा एकाएक आएको अप्रिय कोरोनाभाइरस (कोभिड- १९)ले हाम्रो तृष्णाको पहाडलाई गर्ल्यामगुर्लुम ढालेको छ । भुसुनाभन्दा हजारौं गुणा सानो भाइरसले जतिसुकै शक्तिशाली हुँ भन्नेको घमण्ड, कथित सामर्थ्य, कथित शक्ति र कथित विकासलाई खुट्टाले कुल्चेर धुलोपिठो गरेको छ । त्यति मात्र होइन विज्ञानको दबदबालाई लोप्पा खुवाएको छ । कोरोनाभाइरस संसारले विकास गरेको हवाइजहाज, पानीजहाज, रेल तथा बसमा चढेर २१३ वटा देशमा पुग्न सफल भएको छ, प्रविधिको ढाडमा टेकेर अर्थतन्त्रको टाउकोमा हान्न सफल भएको छ ।

चीनको वुहानबाट छुटेको कोरोनाभाइरस सार्स, मर्स तथा इबोलाजस्तै स्थानीय प्रकोपमा सीमित हुनेछ अनि गर्मी महिना लागेपछि अन्त्य हुनेछ भन्ने धेरैको विश्वास थियो । त्यसैले यसलाई ‘चाइनिज भाइरस’ भनेर नजरअन्दाज गरिएको थियो । नजरअन्दाजको परिणाम यति भयाबह होला भनेर कसैले पनि कल्पना गरेको थिएन । तर यो भाइरस निकै ज्याद्रो रहेछ । विश्वले यसको असली रूप देखिसक्यो कि कोरोनाभाइरस छिट्टै जानेवाला छैन भनेर ।

नेपालमा दोस्रो केस देख्नेबित्तिकै लकडाउन भयो । अहिले हेर्दा लाग्छ, हामीले लकडाउन अति छिटो गरेका रहेछौं । एयरपोर्ट तथा सिमाना सिल गरेको भए लकडाउनलाई २ महिनापछि धकेल्न सकिँदो रहेछ । ७ दिनको समयसीमा तोकेर भारत लगायत मुलुकबाट नागरिकलाई घरफिर्तीको मौका दिएको भए संक्रमणको यो रूप देख्नुपर्ने थिएन । सबैले बुझेको तर भन्न नमिल्ने अर्को कारण नक्साको चुच्चो हो, जसले लाखौं नेपालीलाई घरफिर्ताको वातावरण निर्माण गर्‍यो ।

कमसेकम स्वास्थ्य मन्त्रालयमा यो टीम रहेसम्म कोरोना संक्रमण नियन्त्रणको नाममा अर्बौं खर्च गर्ने तर संक्रमितको संख्या बढिरहने ‘प्रगति’ भइरहनेमा हामी नेपाली ढुक्क हुने स्थिति छ ।
हेर्दाहेर्दै कोरोनाभाइरस आजको मितिसम्म ७१ जिल्लामा पुगिसकेको छ । यो १५ दिनमा झन्डै २ लाख नेपाली भारतबाट नेपाल आए । उताको असुरक्षित यात्रा, यताको परीक्षण तथा क्वारेन्टाइनको बिजोगका कारण संक्रमणमा रासायनिक मल हाल्ने काम भयो । अध्ययनबाट भन्न सकिन्छ, नेपालमा भर्खर कोरोना संक्रमणको आउटब्रेक भएको छ । दु:खका साथ भन्नुपर्छ, हाम्रो स्वास्थ्य मन्त्रालय दिनप्रतिदिन निरीह बन्दैछ ।

क्वारेन्टाइनमा परीक्षण नगरी वा गाह्रो लक्षण देखिए आरडीटी टेस्ट गरेर संक्रमितलाई घर पठाउने निर्णय गर्नु भनेको दुवै हात उठाएर आत्मसमर्पण गर्नु हो । कोभिड संक्रमण निदानका लागि उपयोगी नहुने र्‍यापिड टेस्टमा स्वास्थ्य मन्त्रालय किन रमाएको छ भनेर बुझ्न कठिन छैन ।

कमसेकम स्वास्थ्य मन्त्रालयमा यो टीम रहेसम्म कोरोना संक्रमण नियन्त्रणको नाममा अर्बौं खर्च गर्ने तर संक्रमितको संख्या बढिरहने ‘प्रगति’ भइरहनेमा हामी नेपाली ढुक्क हुने स्थिति छ ।

लकडाउन अनिश्चितकालका लागि गर्न सकिँदैन । जनचेतना प्रसार, मनोसामाजिक परामर्श विस्तार, रोजगारी र राहतको ग्यारेन्टी तथा डुबेका क्षेत्रलाई भरथेग दिने सरकारी सान्त्वना प्रभावकारी ढंगले भएको भए यो लकडाउनको अवधिमा झन्डै १२ सय नागरिकले आत्महत्या गर्नुपर्ने थिएन । यो देशमा कोरोना संक्रमणबाहेक अरू पनि रोग छन् भन्ने बुझेको भए दर्जनौं सुत्केरीले ज्यान गुमाउनु पर्ने थिएन, लाखौँ बालबालिका खोपबाट वञ्चित हुनुपर्ने थिएन तथा लाखौँ दीर्घरोगीले परीक्षण र उपचार नपाएर तड्पिनुपर्ने थिएन । स्वास्थ्य मन्त्रालय गम्भीर नहुने हो भने कोभिडबाहेकका समस्याले हजारौं नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।

अवस्था यही रूपमा रहेमा भिखमरी तथा भोकमरीले मुलुक आक्रान्त हुनेछ । खेतीको सिजन छ, कोरोनाको त्रासले किसानका नौनारी गलेका छन्, मार्क्सवादका भाष्यकार इमान्दार भएर भन्दैछन्– फेसबुकमा कमेन्ट गर्नभन्दा काम गर्न धेरै गाह्रो रहेछ । अहिले किसानलाई कुर्सी दिनुपर्दैन, विलासी गाडी दिनुपर्दैन, एक बोरा रासायनिक मल, २ बोरा बिउ, ३ बोरा आत्मबल र बजारीकरणको ग्यारेन्टी दिए पुग्छ । बाँझा जमिनमा पसिना बगाउने हिम्मतलाई अनुदान र सहुलियत ऋण दिए पुग्छ ।

‘यथा राजा तथा प्रजा’ भनेझैँ अग्लो कुर्सीमा बस्ने हरेक राजाहरूले कम्तिमा यो महामारीको अवधिमा मैले १ पैसा भ्रष्टाचार गर्दिनँ, २ पैसा कमिसन खान्न तथा कसैले ३ पैसा भ्रष्टाचार/कमिसन/कालोबजारी गरेमा ४ मिनेटभित्र बर्खास्त गर्छु भनेर कारवाही अघि बढाउने हो भने गरीबका खुन र पसिना चुस्ने जुकाहरूले प्रजालाई चुस्ने थिएनन् । सुशासन र मितव्ययिता झरना जस्तै हुन्छ अर्थात् माथिबाट तल बग्छ । सरकार पिपलको रुख हुनुपर्छ । सबैलाई टुसुक्क बस्ने काख दिने, सबैलाई शीतल हावा दिने अनि आफ्नो र अर्काको नभन्ने ।

कोरोना संक्रमितलाई आईसीयू\भेन्टिलेटरमा धेरै खर्च गर्नुपरेको छैन, क्वारेन्टाइनको हालत दयनीय छ, परीक्षणको दायरा र गतिले कछुवासँग मित लगाएको छ, जनचेतनामा ठोस काम भएको छैन तर १० अर्ब कोरोनाका नाममा प्रत्यक्ष पाचन भएको छ । सबै जनतालाई जस्तै मलाई पनि बुझ्ने रहर छ, सरकार! हिसाब मिलेन, भूलचुक धेरै भयो कि ? लौन ! भुलचुक लेनदेन गरौं !

जनता गणितमा अब्बल छन् । सांसद विकास कोष, विलासी गाडी तथा सामग्री खरिद, अनावश्यक आयोग र तलबभत्ता हजम गर्ने तमाम पद खारेजी गरे राज्यको ढुकुटी बलियो हुनेछ । रेमिट्यान्स र भन्सार कर केचानाकलनमा भएको समयमा खर्च सगरमाथाको शिखरमा पुग्दा अर्थतन्त्रको सन्तुलन कति दिन रहला सरकार ?

यो १५ दिनमा झन्डै २ लाख नेपाली भारतबाट नेपाल आए । उताको असुरक्षित यात्रा, यताको परीक्षण तथा क्वारेन्टाइनको बिजोगका कारण संक्रमणमा रासायनिक मल हाल्ने काम भयो । अध्ययनबाट भन्न सकिन्छ, नेपालमा भर्खर कोरोना संक्रमणको आउटब्रेक भएको छ । दु:खका साथ भन्नुपर्छ, हाम्रो स्वास्थ्य मन्त्रालय दिनप्रतिदिन निरीह बन्दैछ ।
समाज चिन्ता, तनाब र डिप्रेसनको भासमा जाँदैछ । ज्वरो आएर घरमा सुत्नु र डिप्रेसन भएर घरमा सुत्नुको अर्थतन्त्रमा आकाश र जमिनको फरक छ । मन अस्थिपञ्जर हो, शरीर त केवल मासुको थुप्रो हो । अस्थिपञ्जर भाँचियो भने मासुको थुप्रो घर, समाज र देशलाई महंगो हुन्छ । सुशाशन, जनताप्रति उत्तरदायित्व, पारदर्शिता, पुरस्कार र दण्डको व्यवस्था तथा न्यायपूर्ण समाजको निर्माण गर्न राज्य तत्पर भए जनता, समाज र देशको अस्थिपञ्जर बलियो हुनेछ । हामी पिर्कामा बस्नेले बुझेको कुरा घुम्ने कुर्सीमा बस्नेले किन नबुझेको होला ?

कोरोना कहरको जिम्मा पशुपतिनाथलाई दिनु हुँदैन । अहिलेसम्म कोरोना संक्रमण सक्रिय उमेरका व्यक्तिमा देखिएकाले मात्र हाम्रो इम्युनिटीले काम गरेको हो । जब ती जवान संक्रमितले आफ्ना हजुरबुवा, हजुरआमा, बुवा, आमा तथा दीर्घरोगीलाई थाहै नपाइ रोग सार्छन्, त्यसपछि हाम्रो अंक गणितले फेल खानेछ । त्यो समूहलाई कसरी सुरक्षित राख्ने ? भन्ने रणनीति बनाउन ढिला हुँदैछ । भनिन्छ, विपद् बाजा बजाएर आउँदैन । यसपटकको विपद बाजा मात्र होइन सहनाई बजाएर आएको छ । सहनाई कर्णप्रिय मात्र हुँदैन, कारुणिक पनि हुन्छ ।

सरकार ! विभेदले वर्गसंघर्ष चर्काउँछ । जमिनबाट आउने नागरिकलाई भेडाबाख्रा कोचेजस्तै कालकोठरीमा राख्ने तर हवाइजहाजमार्फत आएका नागरिकलाई होटल र परीक्षणको व्यवस्था गर्दा कतै दोहोरो मापदण्ड त भएन ? आकाशबाट आउने नागरिकभन्दा उम्लिएको अलकत्रामा पाइला नाप्दै आउने नागरिक जोखिममा छन् । उनीहरूलाई सीमा जिल्लाका होटेल, पार्टी प्यालेस, स्कूल, सरकारी तथा सामुदायिक भवनमा राखेर तथा संक्रमणरहित बनाएर गाउँमा पठाउन सम्भव छ । यो सुरक्षित विधि छाडेर उनीहरूलाई संक्रमणदूत किन बनाउने ? राज्यले यो व्यवस्था गर्न सक्छ, सक्नुपर्छ ।

संकटमा सबैले सरकारलाई सहयोग गर्नुपर्छ । म बलियो सरकारको कट्टर समर्थक हुँ । तर त्यो सहयोग केही व्यक्ति मोटाउन नभएर नागरिकलाई बचाउनका लागि गर्नुपर्छ ।

त्यो सहयोग सरकारको थाक्रो चढेर थाक्रोलाई खोक्रो बनाउनेविरुद्ध हुनुपर्छ । सार्वजनिक पदमा बसेका हरेक व्यक्तिको चेकजाँच गरियोस्, कात्रोमा कसले कतिवटा खल्ती सिलाएको छ भनेर ! लोकान्तर बाट साभार

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु