लकडाउन गरेको आज ७८ दिन भयो । चीनले यही अवधिको लकडाउनमा कोरोना संक्रमणमाथि विजय प्राप्त गरेको थियो । तर नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । के कारणले संक्रमण तथा मृतकको संख्या बढेको छ भनेर हामीले समीक्षा गर्नु जरुरी छ ।

– पहिलो डेढ महिना लकडाउन अत्यन्त सफल तथा प्रभावकारी भएको थियो । सरकार र नागरिकले लकडाउनलाई गम्भीरतापूर्वक लिएकाले हामी निकै सुरक्षित अवस्थामा थियौं, तर डेढ महिनापछि शक्तिको आडमा जथाभावी पास वितरण गर्ने, ठूला तथा साना गाडी रिजर्भ गरेर संक्रमित जिल्लाबाट राजधानी लगायतका ठाउँमा आवतजावत गर्ने तथा बिहान/बेलुका लकडाउन उल्लंघन गर्ने परिपाटी देखा पर्‍यो ।

– लकडाउनको अवधिमा न्यून आय भएका परिवारको पहिचान गरी पुग्दो राहत दिने काम भएको भए न्यून आय भएका व्यक्तिले काम र मामको खोजीमा भौँतारिनु पर्ने थिएन ।

– लकडाउन भनेको जो जहाँ छ, त्यहीँ रहनु हो । त्यहीँ रहनका लागि बाँच्ने वातावरण पहिलो शर्त हो, त्यो भएन ।

– लकडाउनको अवधिमा समुदायमा व्यापक रूपमा परीक्षणको दायरा बढाएर संक्रमितलाई आइसोलेसनमा राखेको भए लकडाउनको ठूलो सदुपयोग हुन्थ्यो ।

– भारतमा रहेका नेपालीलाई भित्र ल्याउने कुरामा हाम्रो योजना असफल रह्यो । उनीहरूलाई सिमानामा होल्डिङ गर्ने, PCR टेस्ट गर्ने, संक्रमितलाई आइसोलेसनमा राख्ने, संक्रमण नभएका व्यक्तिलाई सुरक्षित रूपमा आफ्नो थातथलो पुर्‍याएर होम क्वारेन्टाइनमा राख्ने रणनीति अपनाएको भए संक्रमित तथा मृतकको संख्या अत्यन्तै कम हुने थियो, हुनेछ ।

– क्वारेन्टाइन रोग फैलाउने केन्द्र बन्न सक्छन् भन्ने तथ्य बुझेर सुरक्षित एवं वैज्ञानिक ढंगले व्यवस्थापन गर्न नसक्नु, भारतबाट ४-५ लाख नेपाली नेपाल आउनसक्ने प्रक्षेपणअनुसार क्वारेन्टाइन केन्द्रको प्रबन्ध नगर्नु तथा क्वारेन्टाइनमा परीक्षण र आइसोलेसनलाई विलम्ब गर्नुका कारण धेरै जना संक्रमित भएका छन् ।

– अनुसन्धान र सर्भेका लागि मात्र काम लाग्ने RDT को संक्रमण निदानमा प्रयोग गर्ने सबैभन्दा ठूलो विडम्बना भयो र भइरहेको छ । र्‍यापिड टेस्टलाई पूर्ण रूपमा बन्द गरेर PCR र CT Scan लाई मात्र रोग निदानमा प्रयोग गरेको भए RDT ले दिएको गलत रिपोर्टका कारण हाम्रा गाउँघर संक्रमित हुने थिएनन् । संक्रमणको समयमा RDT खरिदबिक्री गर्ने पक्षबाहेक अन्य पक्षलाई उपयोगी छैन ।

– यो ७८ दिनमा प्रत्येक जिल्लामा १/१ वटा PCR Lab तथा ७ प्रदेशमा एकैपटक १५०० -२००० जाँच गर्न मिल्ने PCR ल्याब स्थापना गरेको भए, Lab तथा माइक्रोबायोलोजी पढेका जनशक्तिलाई नमूना लिने तथा परीक्षण गर्ने तालिम दिएको भए संक्रमितको छिटो पहिचान गरेर आइसोलेसनमा राख्न सकिन्थ्यो । यो काम तुरुन्त गर्नु उपयोगी हुन्छ ।

– भारत सरकार, बिहार/उत्तर प्रदेश/पश्चिम बंगाल तथा उत्तराखण्ड राज्य सरकारसँग कूटनैतिक च्यानल प्रयोग गरेर नेपालीको सुरक्षाबारे ठोस कदम चालेको भए संक्रमण नियन्त्रणमा ठूलो भूमिका हुने थियो ।

– रेडियो, टेलिभिजन, पत्रिका, सामाजिक सञ्जालमार्फत सुरक्षित अभ्यासका प्रभावकारी कार्यक्रम तथा विज्ञापन उत्पादन तथा प्रचार/प्रसार नहुनु ।

– हामी जनता निकै अनुशाशित भएर घरमै बस्नुपर्नेमा सरकारको नीति निर्देशन पालन नगर्नु ।

– राज्यले बस्ती, गल्ली तथा बिहान–बेलुका हुने भीडभाडलाई अनुगमन तथा नियन्त्रण नगर्नु ।

– एक पक्षले सरकारले राम्रा काम गरेपनि विरोध मात्र गर्नु अनि अर्को पक्षले सरकारले जति गल्ति, कमजोरी गरेपनि ढाकछोप तथा प्रोत्साहित गर्नु ।

– हामीले चीन, ताइवान, भियतनाम, भुटान, न्युजिल्यान्ड, आइसल्याण्ड, जापान, कोरियाजस्ता कोभिड नियन्त्रणमा सफल देशबाट पाठ नसिक्नु ।

– कोरोना नियन्त्रणको सारथि रहेको स्वास्थ्य मन्त्रालयको मिसन, भिजन, नेतृत्व क्षमता, मितव्ययिता, आर्थिक अनुशासनलगायत पक्ष सबैभन्दा कमजोर हुनु । विज्ञको सल्लाहमा नचल्नु ।

हामीले माथि उल्लेखित कमीकमजोरीलाई सच्याएर आगामी दिनमा कोरोना संक्रमण नियन्त्रणको ठोस रणनीति बनाउन सकिन्छ । एकता नै बल हो तसर्थ कोभिड– १९ नियन्त्रण अभियानमा सबैको सामूहिक प्रयत्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय