काठमाण्डाै – सरकारले शुक्रबारदेखि लकडाउन केही खुकुलो बनाएसँगै सडकमा भीडभाड बढेको छ । पछिल्ला केही दिनदेखि नै सडकमा मान्छेको ओहोरदोहोर हुन थालेकोमा शुक्रबारदेखि भने यो क्रम अझै बढेको छ । कोरोनाको जोखिम सकिएकोझैं गरी मान्छे सडकमा निस्केका छन् । कतिले मास्क पनि लगाएको देखिंदैन भने भौतिक दूरीको पालना पनि भएको छैन । त्यसमाथि दिनहुँ ठाउँठाउँमा सरकारविरुद्ध प्रदर्शन भैरहेको छ ।

सडकमा बढ्दो भीडभाड र दिनहुँको प्रदर्शनका कारण कोरोनाको जोखिम अझै बढ्ने र स्थिति भयावह हुन सक्ने जनस्वास्थ्यविदहरुले चेतावनी दिएका छन् । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सकेन भन्दै गरिने प्रदर्शनका कारण उल्टै कोरोनाको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन उनीहरुको आग्रह छ । यस्तै लकडाउन खुकुलो हुँदैमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कन परेमा पनि मास्क लगाउन, भौतिक दूरीको ख्याल गर्न जनस्वास्थ्यविदहरुले आग्रह गरेका छन् ।

‘हामीले पहिलेदेखि नै भौतिक दूरी कायम गर्नुपर्ने भन्दै आएका छौँ । अहिले कोरोना सङ्क्रमण समाप्त भइसकेको अवस्था होइन । भिडभाडमा जानु घातक छ भनेर सबैले बुझ्नुपर्यो’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयो, ‘रोगको विषयमा खेलाँची नगरौँ । जो बाहिर निस्कन्छ, उसैको माध्यमबाट सङ्क्रमण बढ्ने भएकोले अति आवश्यक कामबाहेक खचाखच भएर बाहिर ननिस्कन म सबैलाई अनुरोध गर्न चाहन्छु ।’

सरकारले जनजीवन सहज बनाउनको लागि लकडाउन खुकुलो बनाएको हो, कोरोनाको सङ्क्रमण कम भएकाले होइन । कोरोनाको जोखिम त झन् बढ्न थालेको छ । सङ्क्रमितको संख्या झन्झन् थपिंदैछ । त्यसैले सकभर घर बाहिर ननिस्कनु र निस्कनु परेमा पनि सावधानी अपनाउनुपर्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार भौतिक दूरी कायम गर्न सकियो भने सङ्क्रमण फैलिने सम्भावना कम हुन्छ । कोरोना भाइरसको जोखिम झन् बढेकाले जमघट र भीडभाड गर्दा स्थिति नियन्त्रण बाहिर जान सक्ने भएकाले विशेष सावधानी अपनाउन उहाँको आग्रह छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन सुझाव दिनुहुन्छ । ‘हामीले जे जे मापदण्ड अपनाउनुपर्ने भनेका छौँ, त्यो सबै पालना गरौँ । यदि सङ्क्रमणदर ह्वात्तै बढ्यो भने हामीले अरु उपायहरु खोज्नुपर्ने हुन सक्छ । पछिको बाटोलाई हेरेर पनि हामीले अहिले होसियार हुनुपर्ने बाध्यता छ । मापदण्ड पूरा गरेर मात्रै घरबाहिर निस्कन दिने भनिएको हो’ उहाँले भन्नुभयो ।

रुघाखोकी, ज्वरो र अरु स्वास्थ्य समस्या छ भने घर बाहिर ननिस्कन डाक्टरको सुझाव छ । यस्तै घर बाहिर निस्कनै परेको अवस्थामा पनि अर्को व्यक्तिभन्दा कम्तिमा दुई मिटर टाढै रहने, हातले आँखा, नाक र मुख नछुने, मास्क लगाउने, बेलाबेला साबुनपानीले मिचीमिची हात धोइरहने, स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय