सन्तोष शर्मा/ झापाको कनकाई नगरपालिका–२ स्थित निर्माणाधीन कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सर्वे शुरु गरेको छ । संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि अर्थ मन्त्रालयले रु दुई करोड उपलब्ध गराएपछि पाइपलाइन निर्माणका लागि सर्वे शुरु गरिएको संस्थाका प्रबन्ध निर्देशक दीपक चापागाईंले जानकारी दिनुभयो ।

“पहिलो चरणमा एक हजार घरमा पाइपबाट ग्यास पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “अर्थ मन्त्रालयबाट दुई करोड अनुदान पाएपछि काम अघि बढाएका छौँ ।” हालसम्म बायोग्यास प्लान्ट निर्माणको ७० प्रतिशत काम पूरा भइसकेको छ । डाइजेष्ट निर्माण सम्पन्न भइसकेको छ भने कन्ट्रोल प्यानल र सहायक पूर्वाधारको काम धमाधम भइरहेको छ । आगामी मङ्सिरसम्म बायोग्यास उत्पादन गरेर घरघरमा पु¥याउने लक्ष्यका साथ द्रुत गतिमा काम अघि बढिरहेको प्रबन्ध निर्देशक चापागाईंले बताउनुभयो ।

चार हजार घनमिटरको बायोग्यास प्लान्ट पूर्णक्षमतामा सञ्चालनमा आएपछि दुई हजार घरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सकिने संस्थाका अध्यक्ष मिनाल तिम्सिनाले बताउनुभयो । “पहिलो चरणमा कनकाई–२ र ३ का एक हजार घरमा ग्यास पु¥याउँछौँ”, उहाँले भन्नुभयो, “त्यसपछि थप विस्तार गर्दै लगिनेछ ।”

ग्यासका साथै दैनिक दश टन अग्र्यानिक मल उत्पादन हुने संस्थाका प्राविधिक जीवन श्रेष्ठले बताउनुभयो । प्लान्ट निर्माणका लागि बन्दाबन्दीका समयमा पनि ३०/३५ जनाले दैनिक १२ घण्टासम्म काम गरिरहेको उहाँले बताउनुभयो । लकडाउनका बेला पनि एक दिन काम रोकिएको छैन”, उहाँले भन्नुभयो, “निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ ।”

रु १६ करोड ३६ लाख ६७ हजारको लागतमा निर्माणाधीन प्लान्टका लागि विश्व बैंकले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत रु पाँच करोड ४८ लाख अनुदान दिएको छ । संस्थामा आबद्ध आठ सय शेयर सदस्यहरुले रु एक करोड ५० लाख लगानी गरेका छन् भने पाइपलाइन विस्तारका लागि अर्थ मन्त्रालयले रु दुई करोड अनुदान दिएको छ । संस्थामा कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले समेत लागत साझेदारी गरेका छन् । यी तीन स्थानीय तहबाट फोहर सङ्कलन गरिने प्रबन्ध निर्देशक चापागाईंले बताउनुभयो ।

स्थानीय तहबाट सङ्कलन गरिएको फोहर वर्गीकरण गरेर कुहिने फोहरबाट बायोग्यास, नकुहिने प्लाष्टिकजन्य फोहरबाट पुनः प्रयोग गर्न मिल्नेलाई नवीकरणीय गर्ने र प्रयोग गर्न नमिल्ने प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालिने योजना रहेको चापागार्इंले बताउनुभयो । फोहर सङ्कलनका लागि शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकासँग पनि छलफल अघि बढाइएको उहाँले बताउनुभयो ।

बायोग्यास प्लान्टको गत वैशाखमा अर्थमन्त्री डा युवराज खतिवडाले शिलान्यास गर्नुभएको थियो भने २०७५ साल जेठ १७ गते कम्पनी दर्ता गरेर संस्थाले काम अघि बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय