भारतको राजधानी दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि जुलाई ५ सम्म सबै घरमा भाइरसको परीक्षण गरिने भएको छ । दिल्ली सरकारले बुधबार कोरोना भाइरसको रोकथामको साविकको रणनीतिमा परिमार्जन गर्दै सबै घरको परीक्षण गर्ने निर्णय सार्वजनिक गरेको हो ।

पछिल्ला दिनमा दिल्लीमा कोरोना संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । मंगलबार एकै दिनमा कोरोना भाइरसका ४ हजार नयाँ बिरामी थपिएका थिए । यो एक दिन संक्रमित भएको हालसम्मकै बढी हो ।

दिल्लीमा मात्र कुल संक्रमितको संख्या ७० हजार नाघेको छ । यही गतिमा संक्रमण फैलिँदै जाने हो भने केही दिनभित्रै राजधानी दिल्ली भारतकै सबैभन्दा उच्च संक्रमित राज्यमा दरिने अनुमान गरिएको छ । सबैभन्दा बढी संक्रमण महाराष्ट्र छ । त्यहाँ हालसम्म १ लाख ४२ हजार जनामा कोरोना भाइरस पुष्टि भएको छ । दिल्लीमा हालसम्म २ हजार ३ सय जनाभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ ।

संशोधित रणनीतिअनुसार ३० जुनभित्र संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र भनेर पहिचान भएका ‘कन्टेनमेन्ट जोन’ भित्र पर्ने सबै घरमा कोरोना संक्रमणको परीक्षण गरिने भएको छ । दिल्लीमा २ सय ६१ वटा ठाउँलाई ‘कन्टेनमेन्ट जोन’ तोकिएको छ । त्यसपछि जुलाई ६ सम्म सबै घरमा कोरोना भाइरसको परीक्षण गरिने छ । त्यसैगरी कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने, ‘कन्टेनमेन्ट जोन’ सम्बन्धी रणनीतिलाई समीक्षा गर्दै थप प्रभावकारी बनाउने र स्थानीय स्तरमा निगरानी बढाउने पनि नयाँ रणनीतिमा समेटिएको छ । विगत केही सातायता संक्रमण फैलिँदै गएका कारण नयाँ रणनीति ल्याइएको हो ।

विगत केही दिनयता कोरोना भाइरसको संक्रमण उच्च वृद्धिले भारतलाई पिरोल्न थालेको हो । भारतमा हालसम्म ४ लाख ७३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । बुधबार एकै दिन १६ हजार ९ सय २२ नयाँ बिरामी थपिएका छन् । जुन अहिलेसम्मको सबैभन्दा बढी हो । त्यसैगरी करिब १४ हजार ८ सयभन्दाको मृत्यु भइसकेको छ । भारत विश्वका कोरोना संक्रमित मुलुकहरूको संख्यामा चौथो स्थानमा छ । हालसम्म २ लाख ५८ हजारभन्दा बढी उपचार पछि निको पनि भइसकेका छन् ।

पछिल्लो दिनमा संक्रमण बढ्ने क्रमसँगै परीक्षणलाई पनि तीव्रता दिइएको छ । भारतको स्वास्थ्य तथा महिला कल्याण मन्त्रालयका अनुसार दैनिक रूपमा दुई लाखभन्दा बढी परीक्षण हुने गरेको छ । बुधबार मात्र दुई लाख बढीको परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार भारतमा हालसम्म ७५ लाखभन्दा बढीको कोरोना भाइरसको परीक्षण भएको छ ।

हालका दिनमा दिल्लीले पनि परीक्षण बढाउँदै लगेको छ । मंगलबार मात्र १७ हजारको परीक्षण गरिएको जनाइएको छ । परीक्षणको दायरा बढाइएका कारण पछिल्लो समय दिल्लीमा कोरोना संक्रमितको संख्या बढी थपिएको अनुमान छ । जबकि केही साता अघिसम्म पनि दैनिक सात हजारमात्र परीक्षण हुने गरेको छ ।

अहिलेकै गतिमा संक्रमण बढ्दै जाने हो भने जुलाई महिनाभित्र संक्रमितको संख्या साढे पाँच लाखभन्दा बढी नाघ्ने प्रक्षेपण दिल्ली सरकार भइसकेको छ । संक्रमणको उक्त प्रक्षेपणलाई आधार बनाउँदै जुलाईको अन्त्यसम्ममा अस्पतालमा करिब ८० हजार आइसोलेसन शय्या चाहिनेसमेत जनाइएको छ ।

यसरी संक्रमण फैलिनुमा लकडाउन खुकुलो हुनुलाई मुख्य कारण ठानिएको छ । भारत सरकारले गत १ जुनदेखि लकडाउनलाई चरणबद्ध रूपमा खुकुलो बनाउने निर्णय गरेको थियो । त्यसयता जनजीवन सामान्य बन्दै गएसँगै कोरोना भाइरसको संक्रमण पनि उच्चदरमा बढिरहेको हो । राजधानी दिल्लीमै संक्रमण बढ्दै गएपछि केन्द्रीय गृहमन्त्री अमित शाहले गत आइतबार मुख्यमन्त्री अरविन्द केजरीवाललगायतसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका थिए ।

संक्रमण बढ्ने क्रमसँगै बिरामीहरूको उपचारमा लापरबाही भएको भन्दै पछिल्लो समय दिल्ली सरकारको तीव्र आलोचना हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले अघिल्लो साता दिल्ली र केन्द्र सरकार दुवैलाई कोरोना संक्रमितको उपचारहरूमा पशुवत् व्यवहार गरिएको भन्दै तत्काल सुधार गर्न आदेश दिएको थियो । साथै कोरोना संक्रमित बिरामीहरूको उपचारमा निजी अस्पतालहरूले चर्को शुल्क लिँदासमेत कारबाही नगरेकोमा समेत दिल्ली सरकारको तीव्र विरोध भइरहेको छ ।

अदालतको आदेश र सर्वसाधारणबाट तीव्र आलोचना सुरु भएपछि केन्द्र र दिल्ली सरकारबीच विगत केही दिनयता स्वास्थ्य सेवा सुधारका लागि छलफल र बैठक तीव्र भएको छ ।

भारतमा जुन १ देखि लकडाउन खुकुलो बनाइएपछि संक्रमण पनि उच्च देखिएको हो । लकडाउनका कारण पूरै अर्थ व्यवस्था नै जोखिम पर्दै गएपछि ‘कोरोनासँगै जिउने’ रणनीति अपनाइएको हो । त्यही रणनीतिअनुरूप नै संक्रमणको जोखिम रहेका क्षेत्रहरूमा बाहेक सबै किसिमका आर्थिक गतिविधिहरूलाई खुला गरिएको छ । लामो दूरीका रेल सेवादेखि आन्तरिक हवाई उडान पनि सञ्चालनमा भएका छन् । त्यसैगरी राज्यहरूबीच बीच चल्ने यात्रुवाहक बस सेवाहरू पनि सुचारु भएको छ । यसरी लकडाउन खुकुलो हुनेक्रमसँगै मानिसहरूको आउजाउ बढेका कारण संक्रमण पनि तीव्र रूपमा फैलिँदै गएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले भारतमा कोरोना संक्रमणले आगामी कात्तिकसम्म सबैभन्दा उचाइमा पुग्ने बताएका छन् । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) लाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले कात्तिकको दोस्रो सातामा भारतमा कोरोना संक्रमण सबैभन्दा उच्च विन्दुमा पुग्ने उल्लेख गरेका छन् । स्मरण रहोस्, गत वर्ष नोभेम्बरमा नै कोरोना भाइरसको पहिलो केस पुष्टि भएको थियो ।

जापानी अनुसन्धान संस्था नोमुराले गरेको एक अध्ययनले पनि लकडाउन खुकुलो पारेसँगै भारतलाई संक्रमणको उच्च जोखिम भएको मुलुकमा सूचीकृत गरेको थियो । उक्त अध्ययनले जोखिम बढ्ने क्रमसँगै भारत, पाकिस्तानलगायतका विभिन्न पन्ध्र मुलुकले संक्रमणको दोस्रो चरणको सामना गर्नुपर्ने प्रक्षेपण पनि गरेको थियो । त्यसैगरी बढ्दो संक्रमणसँगै पुन: लकडाउन गर्नुपर्ने परिस्थिति बन्न सक्नेतर्फ पनि अध्ययनले औंल्याएको थियो ।

भारतमा हुने संक्रमणको उच्च वृद्धिले खुला सीमा भएका कारण नेपालमा पनि संक्रमण अझै फैलिने देखिन्छ । भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लामो समयको लकडाउनका कारण काम नपाएपछि भारतमा रहेका नेपालीहरू स्वदेश फर्किरहेका छन् । कान्तिपुर दैनिकमा सुरेरराज न्यौपानेले यो खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय