काठमाण्डौं। सरकारले अहिलेको स्वरुपकै लकडाउनलाई आगामी श्रावण ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए ।

हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राखिने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए । गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।

सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् ।

तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न प्रतिबन्ध लगाइएको छ । सरकारले कोरोना संक्रमणबाट बच्न भन्दै गत चैत्र ११ गते देखि लकडाउन जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय