#
सवाल संवाद

मार्सल आर्टमा ब्ल्याक बेल्ट पो त ! कसको आँट ?

  सवाल नेपाल   १९ असार २०७७, शुक्रबार २१:२१

विगत २० वर्षदेखि रंगमंचमा सक्रिय कलाकार सरिता गिरीले २०० भन्दा बढी नाटक गरे सकेकी छन्। नाटकमा अनेकन् चरित्र निभाइसकेकी उनी राम्रो अभिनय कौशलका बाबजुद फिल्ममा भने खासै जम्न सकेकी छैनन्। पछिल्लो समय ‘आमा’ फिल्ममा उनको अभिनयको चौतर्फी तारिफ भयो। उनै सरिता गिरीसँग उनको नाट्य अनुभव, फिल्मी यात्रा अनि जीवन भोगाइ लगायतका सन्दर्भमा ईश्वरकुमारले गरेको अन्तरंगः

‘आमा’ फिल्मका कारण चर्चामा हुनुहुन्छ, कस्तो लागिरहेको छ ?
‘आमा’मा मेरो कामलाई दर्शकले खुब मन पराइदिनु भयो। निक्कै खुसी छु।

‘आमा’ साँच्चै फापेकै हो तपाईलाई ?
हाहा… त्यस्तै भन्नुप-यो। मेरा पहिलो फिल्म ‘गुरुदक्षिणा’मा पनि म रमित ढुंगाना, जो मेरो काका पनि हुनुहुन्छ, उहाँकी आमा बनेकी थिएँ। त्यसबाट मैले उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड जितेकी थिएँ। अहिले ‘आमा’बाट पनि आमाकै भूमिकाले मलाई फेरि चिनायो।

मातृत्वको अनुभव नै नगर्नु भएको मान्छे, चरित्र निभाउन कत्तिको चुनौती थियो ?
यो संयोग नै भन्नु पर्छ। ‘आमा’मा देखिएका तीन किसिमका आमाहरुले मातृत्वको अनुभव गर्न पाएका छैनन् तर सबैले मिहिनेत गरेका छौँ झैँ लाग्छ। जहाँसम्म मेरो कुरा छ, चरित्रका बारेमा जहिल्यै सिरियस नै रहन्छु। यो चरित्र मेरालागि राम्रो अनुभव भयो। अवसर र चुनौती दुवै थियो। उसो त मलाई चुनौतीपूर्ण चरित्र निर्वाह गर्न मजा लाग्छ। मैले मेरो भूमिकालाई न्याय गर्न सक्दो कोसिस गरेकी थिएँ। दर्शकले मन पनि पराइदिनुभयो। त्यसैले केही हदसम्म न्याय गरेँ जस्तो लाग्छ। यो मेरालागि जिन्दगीको अविस्मरणीय चरित्र हो।

आमा चलचित्रमा कसरी जोडिनु भयो ?
‘वधशाला’मा मैले छोटो भूमिका निर्वाह गरेकी थिएँ। दीपेन्द्रजीले त्यसबेला नोटिस गर्नुभएको रहेछ। एक दिन उहाँको प्रडक्सनबाट फोन आयो। भेट्न गएँ। सरिताजी यो भूमिका तपाईंका लागि हो, पढ्नुस् अनि मसँग झगडा गर्न आउनुस् भनेर दीपेन्द्रजीले खाम दिनुभयो। त्यो रात निद्रा नै परेन। भोलि पल्ट म खाम (साइनिङ एमाउन्ट) फिर्ता गर्न तयार भएकी थिएँ। तर पछि छलफल गरेर सात ड्राफ्टमा फाइनल भएको स्क्रिप्टको बाह्रौं ड्राफ्ट पनि बनायौँ। अन्ततः फिल्म राम्रो पनि बन्यो।

तपाईंंको अभिनयको तारिफ सदैव हुने गरेको छ। दुई सय बढी नाटक पनि गर्नु भएको तर फिल्म चैँ किन औँलामै गन्न सकिने ?  
सायद म सुन्दर नभएर होला। मेरो शारीरिक अवस्था अनुसारको चरित्र फिट नभएर पनि हुन सक्छ वा निर्देशकहरुलाई ज्युज्यु गर्न नजानेर पनि हो कि !

यो संयोग नै भन्नु पर्छ। ‘आमा’मा देखिएका तीन किसिमका आमाहरुले मातृत्वको अनुभव गर्न पाएका छैनन् तर सबैले मिहिनेत गरेका छौँ झैँ लाग्छ। जहाँसम्म मेरो कुरा छ, चरित्रका बारेमा जहिल्यै सिरियस नै रहन्छु। यो चरित्र मेरालागि राम्रो अनुभव भयो। अवसर र चुनौती दुवै थियो।

फिल्ममा कस्ता चरित्र निर्वाह गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ? कि आमा फाप्छ भनेर आमाकै मात्र भूमिका निर्वाह गरिरहनु हुन्छ ?
भूमिका जस्तोसुकै भए पनि न्याय गर्ने कोसिस रहने नै छ। आमा होस् वा अन्य कुनै चरित्र। जुनै पनि चरित्र निभाउन सक्दो कोसिस गर्नेछु, यो वा त्यो भन्ने छैन तर म मार्सल आर्टको विद्यार्थी भएका कारण एक्सन प्रधान चरित्रहरु गर्न मन छ।

साँची तपाईंले ‘नबिर्सेको झरी’लाई बिर्सनु भयो कि सम्झनामै छ ?
कहाँ बिर्सनु नि ? मैले यही छोटो फिल्ममार्फत पहिलो पल्ट क्यामरा फेस गरेकी थिएँ। त्यस बेला हामी सबै गुरुकूलका विद्यार्थीहरु त्यस फिल्ममा थियौँ।

गुरुकुलमा चैँ कसरी आइपुग्नु भयो नि ?
म वीरेन्द्र हमाल अंकलसँग नाटक गर्दै थिएँ। सुनील (पोखरेल)सरले आवास सहितको नाटकघरको कुरा सुनाउनु भयो। अनि म लगायत १४ जनाको टोली सुनील सरसँग जोडिन पुग्यौँ। त्यसपछि मैले त्यहीँबाट नाटक बुझेँ, जीवनलाई महसुस गर्न थालेँ अनि रंगमञ्चलाइ प्रेम गर्न थालेँ।

तपाईं आफूलाई वीरेन्द्र हमालको विद्यार्थी भन्दा गर्व लाग्छ कि सुनील पोखरेलको ?
दुवै जना मेरो लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ। एक हातका औँलाहरुजस्तै हुनुहुन्छ उहाँहरु। एक बिना म डूँडी हुन्छु, त्यसैले दुवै जनाको चेली भन्न पाउँदा खुसी लाग्छ तर विज वीरेन्द्र हमालले रोप्नु भए पनि मलजल र संरक्षण सुनील पोखरेलले गर्नुभयो। उहाँहरुको विद्यार्थी हुन पाउनु मेरालागि भाग्यकै कुरा हो।

तपाईं त नाटकमा रमाउने मान्छे, सिनेमा मोह कसरी पलायो ?
मोह भन्दा पनि एउटा कलाकारले नाटक, सिनेमा जता भए पनि अभिनय नै गर्ने  हो। करिब २० वर्षदेखि म रंगमञ्चमा निरन्तर सक्रिय छु। अब फिल्ममा पनि काम गर्नुपर्छ भन्ने मनमा लाग्यो र सिनेमा गर्न थालेँ।

दयाहाङ राई, सौगात मल्ल, बिपिन कार्की लगायतका तपाईका साथीहरुको लोकप्रियता देखेर सिनेमाप्रति लोभिनु भएको हो ?
हामी सबै गुरुकुलका विद्यार्थी हौँ। हामीले सँगै संघर्ष गरेका थियौँ। अहिले पनि गर्दैछौँ। उनीहरु उनीहरुको ठाउँमा छन्, म मेरो ठाउँमा छु। त्यसरी साथीभाइको लोकप्रियता देखेर लोभिएको होइन। नाटकको कालो पर्दाभित्र धेरै चरित्र बाँचेँ, फिल्मको सेतो पर्दामा पनि चरित्र ज्यून मन लाग्यो र फिल्ममा आएँ।

थिएटरमा श्रमशोषण छैन नै त भन्न नसकिएला तर म चैँ परेको छु जस्तो लाग्दैन। जति पनि नाटकमा काम गरेकी छु, धेरथोर पारिश्रमिक पाएकै छु।

अब त टिकिएला नि है, फिल्ममा ?
हाहा…। त्यस्तो टिक्ने नटिक्ने त म के जानुँ र ? तर मैले जति पनि चरित्र निर्वाह गर्ने अवसर पाउँछु, दर्शकलाई निराश बनाउँदिनँ। बस्, म यत्ति चाहिँ भन्न सक्छु।

तपाईं चरित्रमा यति घुस्नु हुन्छ कि स्कुटी हाँक्दा पनि बर्बराउँदै हिँड्नु हुन्छ रे नि ? सवारी साधन चलाउँदा किन त्यस्तो लापरवाही ?
मैले निर्वाह गर्ने पात्रको बारेमा सोच्दै हिँड्छु। त्यस बेला म एक्लै बोलिरहेकी हुन्छु। धेरै साथीभाइले गाली पनि गर्नुहुन्छ तर मलाई मजा लाग्छ। स्कुटी चलाउँदै, दायाँबायाँ हेर्दै, चरित्रको बारेमा सोच्दै हिँड्न। यो मेरो तरिका हो।

बजारमा तपाईलाई त लेडी विपिन भन्दा रहेछन् नि ?
हो र ? त्यो त म जान्दिनँ तर विपिन र ममा केही समानता छन्। ऊ पनि चरित्र निर्माणमा खुब मिहिनेत गर्छ, म पनि कोसिस गर्छु।

नाटक गरेर अहिलेसम्म कति देश घुम्नु भयो ?
८–१० वटा घुमियो।

टन्नै पैसा पनि कमाउनु भयो होला है ?
मैले कमाएको भनेको दर्शकको माया मात्र हो।

अनि बिहे कहिले गर्ने नि ? कि मिथिला शर्माबाट प्रभावित हुनुहुन्छ ?
बिहे एकदिन त गर्छु तर कुन दिन, त्यो चैँ थाहा छैन। हाहा… मिथिला दिबाट अरु कुरामा प्रभावित भए पनि यो कुरामा चैँ छैन है ! बिहेका लागि सही समयको पर्खाइमा छु।

केटा आफैँले खोज्नु भएको छ कि परिवारले खोज्दिनु पर्ने हो ?
परिवारले नै खोज्दिनु प-यो नि ! एरेन्ज म्यारिज गर्ने हो। त्यो पनि झमझम बाजा बजाएर।

अनि तपाईं त कुनै समय प्रेममा हुनुहुन्थ्यो नि, होइन र ?
भूतकालका कुरा भूतजस्तै हुन्छन्। वर्तमानमा जिउनुको विकल्प छैन। पञ्चे बाजा ठोकेर बिहे गर्ने हो। बरु त्यो बेला निम्ता गर्न भुलेँ भने सम्झिएर भए पनि आउनुहोला। हाहा..

बच्चामा त केटा जस्तो हुनुहुन्थ्यो रे नि ? त्यसमाथि मार्सल आर्टमा ब्ल्याक बेल्ट ! साथीहरुलाई कत्तिको पिट्नुभयो नि ?
म अलि फरक खाले नै थिएँ बच्चामा। खासै केटीजस्तो भएर बस्दिनँ थिएँ।  मार्सल आटमा ब्ल्याक बेल्ट आफ्नो सुरक्षा र रुचिका कारण सिकेकी हुँ, लडाईं झगडा गर्न होइन। त्यै पनि म शान्ति चाहने मान्छे हुँ। मलाइ लडाईं झगडा खासै मन पर्दैन।

शान्ति खोज्दै विपश्यना पनि खुब धाउनु हुन्छ रे ?
बेलाबेला जाने गर्छु। चरित्रको ह्याङ पनि त हटाउनु प-यो नि ! एउटा कलाकारले राम्रो काम गर्न उसको शारीरिक, मानसिक अवस्था पनि त राम्रो हुनु पर्छ !

तपाईं नाटकमा कसरी आउनु भयो नि ?
मेरो बुवा र वीरेन्द्र (हमाल) अंकल साथी हुनुहुन्थ्यो। वीरेन्द्र अंकलले मलाई सानै उमेरदेखि नै कला क्षेत्रमा ल्याउन चाहिरहनु भएको थियो। २०५५ सालमा एसएलसी सकेपछि फुर्सद सदुपयोग गर्न म नाचघरमा नाटक सिक्न गएँ। त्यसपछि नाटकको रस पस्यो। केही अवार्ड पनि पाएँ, आत्मबल पनि बढ्यो र आजसम्म यसैमा निरन्तर छु।

पहिलो अवार्ड राष्ट्रव्यापी नाटक प्रतियोगितामा उत्कृष्ट बालअभिनेत्रीमा पाउनु भएको थियो नि होइन ?
हो त ! त्यस बेलाको घटना म कहिले बिर्सन सक्दिनँ। हाम्रो नाटक ‘पत्थरको कथा’बाट नै उत्कृष्ट निर्देशक, अभिनेत्री, अभिनेता पाउने पक्का भयो भन्ने जानकारी घोषणा हुने अघिल्लो दिन नै आयो। त्यसपछि हामीले त्यो रात पार्टीसमेत ग¥यौँ तर भोलिपल्ट त नतिजा अर्कै आयो। मैले त उत्कृष्ट बालअभिनेत्रीको पो अवार्ड पाएँ ! भित्रभित्र साटासाट भएर उत्कृष्ट अभिनेत्री लगायतका अवार्ड पाल्पाले लग्यो। त्यसबेला उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने अभिनेत्री आज यो फिल्डमा नै हुनुहुन्न। पछि हरिहर शर्माले ‘मैले तिम्लाई उत्कृष्ट अभिनेत्रीको अवार्ड नदिएर गल्ती गरेछु सरिता’ भन्नुभयो। उक्त घटनाले मन अहिले पनि तीतो हुन्छ। कलामा राजनीति गर्नु ठीक हो त ?

अनि त्यसै बेला हरिहर शर्माले भनेको अर्को कुरा सत्य निस्कियो नि, है ?
हो। उहाँले त्यै पोखरा नाटक प्रतियोगितामा हाम्रो रिहर्सलमा मेरो अभिनय हेरेर ‘तिमी लामो रेसको घोडा हौ, अभिनय नछाड्नू’ भन्नुभएको थियो। १०/१५ वर्षपछि उहाँले ‘मैले सही भनेको रैछु नि होइन सरिता ?’ भनेर त्यो घटना सम्झाउनु हुन्थ्यो। उहाँजस्तो वरिष्ठ मान्छेको प्रेरणाले पनि मलाई आजको दिनसम्म नाटकमा टिक्न ऊर्जा दिइरहेको छ।

तपाईंले चार वटा एकल नाटक गर्नु भयो, जम्मै नाटक नारीवादी छन्। संयोग हो कि छानेरै गर्नुभएको हो ?
संयोग हो। तर नारीवाद भनेर पुरुषको कुरै नभएका होइनन्। ती नाटकहरु अलि बढी नारीको पक्षमा ढल्किएका भने छन्।

अनि तपाईंको आफ्नै जग्गामा आवास सहितको नाटकघर बनाउने सपना कहाँ पुग्यो ?
प्रयत्नरत छु। जीवनको अन्तिम समयमा भए पनि यो सपना पूरा गर्ने आँट छ। सबैको साथ पाएँ भने चाँडै साकार पनि होला।

तपाईंले २० बर्ष रंगमचमा बिताउनु भयो, श्रमशोषणमा कत्तिको पर्नुभयो ?
परेँ पनि, तर परिनँ पनि। नाटकले व्यापार गरे पैसा राम्रो नै आउँछ। व्यापार नगरे पैसा हुँदैन अनि शोषण जस्तो देखिने हो। तर थिएटरमा श्रमशोषण छैन नै त भन्न नसकिएला तर म चैँ परेको छु जस्तो लाग्दैन। जति पनि नाटकमा काम गरेकी छु, धेरथोर पारिश्रमिक पाएकै छु।

अनि नेपाली नाटक कुन अवस्थामा छ जस्तो लाग्छ ?
हामी धेरै अघि बढिसकेका छौँ। अझै बढ्ने छौँ। सिक्दैछौँ। बुझ्दैछाँै। यसरी नै अघि बढिरहनु जरुरी छ। एक दिन अवश्य पनि म नाटक गर्छु भनेर गर्वले भन्ने दिन आउनेछ। म आशावादी छु।

अनि रंगमञ्चमा मीटू काण्डले एक समय खुब चर्चा पायो। तपाईं चैँ मीटूमा पर्नु भयो कि भएन त ?
म परिनँ। मार्सल आर्टमा ब्ल्याक बेल्ट पो त ! कसको आँट ? हाहा..

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु