कैलाली । नेपाली भूभाग अतिक्रमणबाट हुन जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्बास नगरपालिकाका गोविन्द गौतम शहीद भएको चार वर्ष बिते पनि सीमा विवाद झन् बढ्दै गएको छ ।

कञ्चनपुरका विभिन्न स्थानमा भारतले सीमा अतिक्रमणको प्रयास जारी राखेको छ । पछिल्लो समय भारतले बेलौरी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने पर्चुईस्थित हुलाकी सडक निर्माणमा अवरोध गर्दै आएको छ ।

भारतले दावी गरेको क्षेत्रमा कयौं नेपालीको लालपुर्जासहितको जमिन पर्दछ । जमिनको नक्सा, लालपुर्जासमेत हुँदा पनि भारतले उक्त जमिनलाई आफ्नो दावी गर्न थालेपछि बेलौरीबासी तनावमा छन् ।

कसरी सुरु भयो विवाद ?
बेलौरी–८ का वडाध्यक्ष नन्दकुमार रानाका अनुसार नेपालतर्फ निर्माणाधीन हुलाकी सडकको विवादित क्षेत्र दुई देशको सीमा क्षेत्र (दशगजा) बाट २० देखि ३० मिटर उत्तरतर्फ पर्दछ ।

‘दशगजा र रिफ्रेन्स पिलरभन्दा उत्तरतर्फ स्थानीय बासिन्दाका नम्बरी जमिन पर्दछ,’ उनले भने, ‘त्यो भन्दा उत्तरतिर हुलाकी सडक निर्माण भइरहेको छ, त्यो सडकसमेत भारतीय जमिनमा पर्छ भनेर उनीहरु (भारतीय पक्ष) ले सडक निर्माणमा अवरोध गरेका छन् ।’

मुख्य सीमास्तम्भ नभएको परिस्थितिको फाइदा उठाउँदै भारतीय पक्षले नेपाली भूभाग अतिक्रमणको प्रयास गरेको उनको बुझाइ छ । ‘सुतिया नदीमै मुख्य सीमास्तम्भ पर्ने भएकाले त्यहाँ दुवै पक्षको सहमतिमा साइडमा रिफ्रेन्स पिलर राखिएको हो, अहिले उनीहरु रिफ्रेन्स पिलरलाई नै मुख्य सीमास्तम्भ भएको दावी गरिरहेका छन् ।’

पटक–पटक छलफल
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा औपचारिक वार्ताको तयारी भइरहेको बताउँछन् । ‘भारतले दावी गरेको ठाउँमा हाम्रा नेपालीको जग्गा छ, ती जग्गाको नक्सा छ र हामीसँग लालपूर्जा पनि छ,’ उनले भने, ‘संयुक्त सर्वे टोली राखेर यी तथ्य र प्रमाणका आधारमा समाधान खोज्नुपर्छ, यसका लागि समय लाग्छ ।’

सशस्त्र प्रहरी बलका एसपी बीरबहादुर साहु सीमा विवादबारे स्थानीय तहमा भारतीय पक्षसँग चरणवद्ध रुपमा अनौपचारिक वार्ता भइरहेको बताउँछन् । तथ्य, प्रमाणको आधारमा आफूहरुले कुरा गरेको र औपचारिक वार्तामा सरकारकै निर्देशनका आधारमा कुरा राख्ने उनको भनाइ छ ।

स्थानीयबासीद्वारा विरोध
बेलौरीका बासिन्दा तथा उखु किसान हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्द ठकुरीका अनुसार नेपाल–भारत सीमा निर्धारण गर्ने संयुक्त टोलीले नयाँ पिल्लर गाड्ने तयारी गरिरहँदा स्थानीयबासिन्दाले केही गडबड भइरहेको थाहा पाएर नयाँ पिल्लर कुन क्षेत्रमा पर्छ भनेर सोधखोज गरेका थिए । सोही क्रममा नेपाली भूभागमा सीमा स्तम्भ गाड्ने तयारी भइरहेको थाहा पाएर स्थानीयबासीले विरोध गरेका थिए ।
त्यस यता, भारतीय पक्षले उक्त क्षेत्र आफ्नो भूभाग रहेको दावी गर्न थालेको हो ।

‘हामीले नेपाली टोलीलाई कुन क्षेत्र भारतको र कुन क्षेत्र नेपालको हो भनी पटक–पटक बुझ्न खोज्दा राष्ट्रिय सुरक्षाको बिषयमा जानकारी दिन नमिल्ने भनेर टार्ने गरेको थियो,’ उनले भने, ‘भारतीय पक्ष बारम्बार यहाँ निरीक्षण गर्न आउँछ र यो जमिन भारतमा पर्छ भनेर दावी गर्छ ।’

२०२४, २०३६, २०५१, २०५६ सालमा नापी गरेका पूर्जा आफूहरुसँग रहेको उनको भनाइ छ ।

कालापानी र लालबकैयासँग कनेक्सन
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको र उक्त नक्सालाई संविधानको अनुसूचीमा समेट्न संविधानसमेत संशोधन गरिसकेको अवस्थामा भारतले ठाउँ–ठाउँमा सीमा विवाद सिर्जना गरिरहेको पाइन्छ ।

यसै क्रममा कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा सीमा विवाद चर्किन थालेको हो । पछिल्लो समय रौतहटमा लालबकैया नदीमा तटबन्ध गर्ने बहानामा भारतले दशगजासँगै बनाएको बाँध मर्मत गर्दा दशगजाकै झण्डै दुईसय मिटर लम्बाई मिचेको तथ्य प्रकाशमा आएको थियो ।

युक्त सर्वे टोलीले नै उक्त क्षेत्रमा भारतीय पक्षबाट दशगजा अतिक्रमण भएको तथ्य पत्ता लगाएको हो । सो क्षेत्रमा करिब करिब निर्माण सम्पन्न भइसकेको बाँध भत्काउनु पर्ने अवस्था आएका कारण पनि भारतले ठाउँ–ठाउँमा यतिबेला सीमा विवाद चर्काउन थालेको छ । रातो पाटि बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर