#
बिचार/ब्लग

म विदेशबाट आएँ भन्दैमा छिमेकीले मेरो घरको बाटो हिँड्न छाड्नु पर्छ र ?

  सवाल नेपाल   ३० असार २०७७, मंगलवार १९:२८

श्रेया गजमेर, झापा (होम क्वरेण्टीनबाट) ।
वैदेशिक रोजगारी, आफन्त भेटघाट तथा घुमफिरको लागि नेपाल बाहिर रहेकाहरु कोरोनाको जोखिममा मात्र परेनन् । सीमा नाका र उडानहरु बन्द हुँदा जहाँ थियौं, त्यही रोकियौं । तर ढिलै भए पनि समस्यामा परेकाको स्वदेश फिर्तीका लागि सरकारले पहल गरेपछि हामी आफ्नो देश, आफ्नो घरमा फर्कन सफल भयौं ।

अहिले नेपाल मात्र होइन विश्व नै कोरोनासँग लडिरहेको छ । यो कुरा सबैलाई थाहा छ । तर यो बेलामा थाहा हुँद हुँदै पनि हेलचेक्राईं गरेका कुरा भने धेरै छन् ।

कोरोना र यसबाट बच्ने उपायसहित सावधानीका बारेमा विभिन्न सञ्चारमाध्यमदेखि जताजतैबाट सचेत गराइएकै छ । धेरैले बुझेका पछि छन् । आफ्नो स्वास्थ्यको ख्याल राखेका छन् । तर बुझेर पनि वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ भनेझैं क्वरेण्टीनमा बसेर पीसीआर जाँचको रिपोर्ट नेगेटिभ लिएर गाउँ जाँदा पनि गाउँलेबाट गरिने व्यवहार देखेर आफैंलाई कहिलेकाहीँ हाम्रो चेतनाको स्तरदेखि आश्चर्य लाग्छ ।

हो हामी विदेशबाट नै आएको हौं । तर हामीले सरकारले तोकेको सबै नियम पालना गरेर, जाँच गरेर क्वरेण्टीनमा बसेर रिपोर्ट नेगेटिभ लिएर आएका छौं ।

तर यहाँ होम क्वरेण्टीनमा बस्दा आफ्नैले हामीसँग गरेको व्यवहार देख्दा उदेक लाग्छ । उनीहरुले त हामी नै कोरोना भाइरस हौं झैं व्यवहार गर्छन् । के विदेशबाट आउने सबै कोरोना भाइरस हुन र ? यस्तो त कतै भएको जस्तो लाग्दैन । तर यहाँ भएको छ ।

विदेशबाट फर्कने पनि अलिकति बुझ्ने म जतिकोलाई गाह्रो नहोला । किनकी मैले मेरो समाज र म आफूलाई बुझेको छु । तर विदेशमा कामका लागि गएका तर दुःख सहेर, दुःखमा परेर आफ्नो घर आइपुग्नेलाई आफ्नैले यस्तो व्यवहार गर्दा कस्तो लाग्ला ?

परदेशमा छँदा मेरो गाउँ जान पाए त मेरो मान्छे, मेरो माटो, मेरो देश भनेर छाती फुलाएर फर्कनेलाई किन यस्तो गर्नुहुन्छ ? परदेशमा छँदा आफ्नो गाउँ, आफन्त र देश सम्झेर दुःखसँग लड्ने आँट गर्नेलाई यहाँ आउँदा तिनैले रुखो व्यवहार गर्दा कस्तो लाग्दो हो ? तपाईँहरु सोच्न पनि सक्नुहुन्न ।

परदेशमा पनि दुःख, स्वदेशमा पनि अपमान । कतिपयलाई तपाईँहरुले गरेकै व्यवहारले आत्महत्या गर्न बाध्य बनाउन सक्छ । मानसिक तनाव हुन्छ । स्थिति जस्तो पनि हुन सक्छ । त्यसैले म भन्छु, विदेशबाट फर्कने हामीलाई माया गर्न नसके पनि घृणा नगरौं ।

विदेशबाट आउने हामीलाई सुरक्षाकर्मीदेखि स्वास्थ्यकर्मी लगायत सबैले माया, सदभाव अनि सकारात्मक सोचाइको विकास गराउनुभयो । विभिन्न क्रियाकलाप गराएर क्वरेण्टीनमा बस्दा हँसाउनुभयो । कोरोनाको रिपोर्ट नेगेटिभ आउनमा सहयोग गर्नुभयो । कसैलाई सङ्क्रमण भएमा उपचारमा खटिनुभयो । कोरोनालाई जित्न सक्ने बनाउनुभयो ।

तर तपाईँहरुलाई नै गाउँ समाजमा गरिने व्यवहारले अचम्म लाग्छ । यस्तो अमानवीय व्यवहारले मन कस्तो हुन्छ होला ? अनि कस्तो मानसिक असर पर्छ होला ? म त सोच्न पनि सक्दिनँ । गाउँसमाजले एक पटक सोचोस् भन्ने लाग्छ मलाई ।

हामी कोरोना नेगेटिभ भएपछि मात्र घरमा आएका हौं । किनकी तपाईँलाई जति आफ्नो स्वास्थ्यको माया छ, त्यति नै मलाई पनि मेरो परिवार र मेरो समाजको माया छ ।

तर म विदेशबाट आएको भन्दैमा बोलचाल नै बन्द गर्नुपर्ने अनि मेरो घरको आसपास नै आउन नहुने किन होला ? के नेपाली समाज अब यो अवस्थामा आइपुगेकै हो त ? हाम्रो मानवीय मूल्य, मान्यता, सामाजिक सद्भाव, भाइचारा कोरोनासँगै सकिएको हो त ?

गाउँ समाज अनि देश भनेको हामी आफैं नै हौं । त्यसैले विभिन्न समस्याका बाबजुत पनि आफ्नो घर, आफ्नो परिवार सम्झेर आएका म जस्ता आम नेपालीलाई मानसिक तनाव दिनुको सट्टा हौसला अनि सकारात्मक सल्लाह सुझाव दिए कति जाति हुन्थ्यो !

कोरोना त्यस्तो जटिल रोग होइन भन्ने मलाई लाग्छ । सकारात्मक सोचाइ अनि राम्रो खानपानबाट यो रोगलाई सजिलै जित्न सकिन्छ । घर परिवार, गाउँ समाजबाट गरिने भेदभाव र अपमानले कमजोर बनाउँछ । त्यसैले विदेशबाट फर्किने हुन् या अरु कोही, कसैलाई पनि यस्तो विभेद नगरौं । सकिन्छ माया बाँडौं, सकिंदैन भेदभाव नगरौं ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु