#
बिचार/ब्लग

सेलेब्रेटीलाई जे भने पनि हुन्छ, जे गरे नि हुन्छ !

  सृजना पोख्रेल   २ श्रावण २०७७, शुक्रबार २१:४४

सृजना पोख्रेल/ मानिलिनुस्, आज तपाईंको बिहे हुँदैछ। तपाईंका बेहुला मण्डपको धुवाँले आँखा पोलेको बहाना बनाउँदै तपाईंको बेहुली रूपलाई सुटुक्क चोरेर हेर्छन्।

तपाईं पनि उनलाई सुटुक्क हेर्दै मनमनै वाचा गर्नु हुन्छ- ‘हामीले हामीलाई भेट्नु अगाडिका सबै असफल प्रेमलाई यही मण्डपको आगोमा जलाइदिऊँ है?’

उनी बुझे जसरी मुसुक्क हाँस्छन्।

मण्डपमा तपाईं दुई चुपचाप कुरा गरिरहेकै बेला, एक्कासि अलिअलि कानेखुसी सुनिन्छ।

‘हो र..?’

‘छ्या!’

‘के जमाना आको यस्तो…!’

‘विचरा…!’

यस्तै यस्तै…। तर बिहेको खुसीअगाडि ती कानेखुसी गौण हुन्। तपाईं केही मतलब नगरी बिहेमै ध्यान दिनुहुन्छ।

बेलुका बल्ल फुर्सद भयो।

‘अब हेरौं, कसले शुभकामना दिएछ! फेसबुकमा फोटो पनि राख्नुपर्‍यो,’ भन्दै दुवैले कुम जोडेर मोबाइल पकड्नुभएको मात्रै के थियो, तपाईंको होश उडेर हातबाट मोबाइल खस्यो। फोटो हेर्दा जोडिएका कुम हल्लिएर छुटे।

फेसबुक त जताततै तपाईंको भूतपूर्व प्रेमी र तपाईंका फोटाले पो भरिएछ। काकाकी छोरीले बिहेको बधाइ दिन पोस्ट गरेकी रहिछन्। त्यसमा पनि सबैजनाले त्यही पुरानो फोटो कमेन्ट गर्दै मजाक बनाउन व्यस्त छन्। एकातिर नयाँ जिन्दगीको चित्र तपाईंलाई पर्खिरहेको छ, अर्कातिर पुरानो फोटोले चरित्र गिज्याउँदै स्पष्टिकरण मागिरहेको रहेछ।

अघि तपाईंको अनुहार हेरिरहेका श्रीमान अहिले खाटमा झरेको मोबाइल हेर्दै झुकिरहेका छन्। जिन्दगीको सबभन्दा महत्वपूर्ण रातमा अब तपाईं रमाइरहन सक्नुहुन्छ?

बिहे त भइसक्यो, टुट्ने कुरा भएन। फेरि बिहेअगाडि नै तपाईंको हुनेवाला श्रीमानलाई पुरानो सम्बन्धबारे सबै थाहा थियो।

तपाईंले मन खोलेर आफ्नो पूर्व सम्बन्धबारे भन्दै गर्दा उनैले भनेका हुन्, ‘विगत सबैको हुन्छ। मेरो पनि थियो। के भयो त? अब हामी हाम्रो अगाडिको जीवन सोच्ने नि। बरू फेसबुक कतैतिर पुराना फोटा भए डिलिट गर्दिनू। अब हामी पछाडि फर्केर कहिल्यै नहेर्ने ल?’

नबुझ्ने मान्छे भएको भए, सम्बन्ध यहीँ सकिन सक्थ्यो। तर जति बुझ्झकी भए पनि, यसरी खिल्ली उडाएका कमेन्ट पढेर अब हाँसीखुसी रहन सकिन्छ र? मण्डपका ती कानेखुसी कसरी नसुनिएजस्तो गर्नु अब? पछाडि कसरी नहेर्नु?

साथमा खुब साथ दिने मान्छे हुनसक्छ। पूरै परिवारले ‘केही छैन, मतलब नगर्’ पनि भन्न सक्छ। तर अलिकति त मतलब हुन्छ। मान्छेको मन न हो, दुख्छ। रूने काँध पाए, रून्छ।

तीन महिनाअगाडि नायिका प्रियंका कार्कीसँग यस्तै भयो। बिहेको दिन थियो। अब जिन्दगीको ताजा सुरूआत गरियो भनेर यता उनी बिहेमा व्यस्त थिइन्, उता फेसबुकभर उनका पूर्व श्रीमानसँगका फोटा छ्याप्छ्याप्ती भए।

पुराना फोटो राख्दै, गिज्याउँदै धेरैले लेखेका थिए-

‘नयाँ बिहे कति टिक्छ, लु हेरौं न!’

‘यो पनि त्यस्तै त हो नि।’

मन मिलेर गरेको नयाँ बिहेको फोटा आउनै बाँकी थियो। मन नमिलेर पछाडि छाडेका पुराना फोटा लगभग भाइरल भइदिए।

फोटा फैलाउन कसले र किन सुरू गर्‍यो? कसैलाई थाहा छैन। सोधिखोजी गर्न न फुर्सद छ, न सम्भव।

त्यसरी आफ्नो बिहेका दिन, त्यस्तै फोटामा आफ्नो अनुहार देखेको भए, हाम्रो मन कति निमोठिन्थ्यो होला!

तर सेलेब्रेटीको अनुहार देखेपछि हाम्रो मन निमोठिएन, बरू फुरूंग भयो। नयाँ ‘मिम मटेरियल’ भेटियो। हामी फोटामा थरिथरिका मिम बनाउँदै, सेयर गर्दै, हाँस्न व्यस्त भयौं।

प्रियंका कार्कीले लगाउने कपडा हाम्राभन्दा खुब महँगा होलान्। तर भित्र, उनी हामीजस्तै हाडछालाकै मान्छे हुन्। बिहे अलि रंगीन थियो होला, तर बिहेका वचन हाम्रा जस्तै सादा र पवित्र हुन्।

हाम्रो जस्तै खुसी, उस्तै खास दिन हो सायद। हाम्रो जस्तै मन हो, हामीलाई जस्तै दुख्छ।

फरक के भयो भने, उनको मनले हामी जसरी दुःख मनाउन पाएन। रूने मन र रूने काँध दुवै थिए होला, तर उनले आफूलाई दुखेको कुरा दुःख हो नभनेरै पचाइन्। हामीलाई जे कुरा सोच्दामात्रै कहाली लाग्छ, त्यो उनले भोगेरै पचाई सकिछन्। पागल हुनुभन्दा पचाएकै राम्रो हो क्यार!

एकजना नाम चलेका अग्रज हाँस्यकलाकार छन्, मनोज गजुरेल। विगत केही वर्षमा उनको चर्चा दुई चरणमा बढ्यो।

एउटा, उनको डिभोर्सपछि। अर्को, कार्यक्रम ‘कमेडी च्याम्पियन’मा निर्णायक बनिसकेपछि।

चर्चा एउटा उपहार बोकेर आयो। एकदिन थाहै नपाई कमेडी च्याम्पियनले मनोजको वैवाहिक सम्बन्धलाई सर्कसको जोकर बनाइदियो।

उनको ‘डिभोर्स विषय’ कार्यक्रमको प्रोमो नै राख्न सकिने ‘पन्चलाइन’ सावित भयो। पन्चलाइन सुनेर हामी सब हाँस्यौं।

तर यसरी हाँसो चल्दा, न त्यो जोक सुनाएर हसाउँनेले सम्झिए, न जोक सुनेर हाँस्ने हामीले सोच्यौं, न त मनोज गजुरेल आफैंले भन्न सके- त्यो कमेडीको ट्वाक्क मसाला विषय बनाइएको बिहेबाट एउटी छोरी पनि जन्मिएकी छन् जसलाई सायद त्यो मसला मनपर्दैन।बरु पिरो भएर आँखा पोल्दो हो।

मन नमिलेर आमाबुवा छुट्न सक्छन्। गजुरेलकी समझदार छोरीले त्यो त पक्का बुझिन् होला। तर उनीभन्दा पाका हामी कोहीले समझदार भएर सोचेनौं। बुझेनौं कि छुटेका आमाबुवाको खिस्सी गर्दै अरू हाँसेको देख्दा छोरीलाई हाँसो लाग्दैन, अप्ठ्यारो लाग्छ।

‘जोक बनाउनेले कुभलो चिताएर पो त्यसो गरे कि,’ त्यस्तो सोचिएको हुँदै होइन। मनोज गजुरेल आफैंलाई पनि छोरीको माया, चिन्ता नहुने हुँदैन। बाहिर अरूले ‘हाहा’ गर्दा भित्र उनको मन कतै कुँडिएको पनि हुनसक्छ। तर उनले मुखै फोरेर केही भन्न सकेनन्। अरू कसैले पनि सोचेन।

किनकी सेलेब्रेटी आफैंले थाहै नपाई स्वीकार गरिसकेका छन्- सेलेब्रेटी भनेका सार्वजनिक सम्पत्ति हुन्। सार्वजनिक सम्पत्तिको निजी जीवन हुँदैन।’

हो, मनोज गजुरेल पक्का सेलेब्रेटी हुन्। केही अन्तर्वार्तापछि उनकी श्रीमती पनि केही समयलाई सेलेब्रेटी नै भइन् होला। तर उनीहरूकी छोरीका लागि, ती दुवै सेलेब्रेटी होइनन्, आमाबुवा हुन्। त्यो जोकको पन्चलाइन सार्वजनिक सम्पत्ति होइन, उनको परिवार हो।

केही महिनाअघि गायक रामकृष्ण ढकालको बिहेबारे हल्ला फिँजियो। कसैले डिभोर्स फाइल गरेकै भए पनि निजी विषयको त्यसरी समाचार बनाउन मिल्दैन। तर सेलेब्रेटीको निजी जिन्दगी त सबैको साझा खेलौना हो, जसरी खेलाए पनि हुन्छ।

हाम्रा लागि, हाम्रा आफ्ना बच्चाको दिमाग पो कच्चा हुन्छ, असर पर्छ, चनाखो हुनुपर्छ। सेलेब्रेटी र उनीहरूका छोराछोरीलाई त, जे भने पनि हुन्छ, जे गरे नि हुन्छ।

हामीले चिनेर र सम्मान दिएर नै उनीहरू चर्चित भएका हुन्। उनीहरूले बोल्ने कुरा र गर्ने कामले एक्कैचोटि धेरैलाई असर गर्ने भएकाले उनीहरू अलि बढी जिम्मेवार हुनुपर्छ। त्यसमा दुई मत छँदै छैन।

तर हामी सेलेब्रेटीलाई यसरी यतिसम्म मनपर्दी भनिदिन्छौं, मानौं उनीहरू हामीले चिनेका मान्छे होइनन्, किनेका वस्तु हुन्। हाम्रा लागि उनीहरूको न परिवार हुन्छ, न इज्जत, न हाम्रोजस्तो दुख्ने मन!

गायक यशकुमार र बाबु बोगटीले फिल्म ‘बाटो मुनिको फूल-२’ मा मन बगाएर एउटा मन छुने गीत गाएका छन्-

‘हामी त ढुंगाको मान्छे, जे भने नि हुन्छ, जे गरे नि हुन्छ। कहाँ यो मन रुन्छ!’

कहिलेकाहीँ एक्लै बसेर सुने भने थुप्रै सेलेब्रेटीलाई यी चार लाइन आफैंले गाएजस्तो लाग्छ होला। आफ्नै लागि लेखेजस्तो लाग्छ होला। कति त सुन्दै एक्लै रूँदा पनि हुन्।

एक महिनाअगाडि वर्षा राउत कति रोइन् होला जब बोल्न नजानेर सानो गल्ती गरेकै भरमा उनलाई अपराधी जसरी सजाय दिइयो, हेर्नै नसकिने अश्लील फोटो बनाइयो!

अहिले साम्राज्ञी शाह कति रून्छिन् होला जब बोल्ने हिम्मत गरेर मन पोखेकै भरमा उनलाई चरित्रहिनजसरी गाली गरिँदैछ!

अनि नबोलेरै, गल्ती नगरेरै, अनुहारकै भरमा ‘आँपे’ भनेर हरेक दिन उडाएको सुन्दा, आयुष्मान देशराज जोशीको मन पनि कुनै बेला खुब रोयो होला।

तर हाम्रो व्याख्यामा यिनीहरू कोही रून मिल्दैन।

हाम्रो तर्क भन्छ, ‘अलिअलि त पचाउनुपर्छ नि। सेलेब्रेटी भएपछि सार्वजनिक सम्पत्ति भइन्छ। सेलेब्रेटीको जिन्दगी उनीहरूको मात्रै होइन, पब्लिकको हो।’

खुब बाठो छ हाम्रो यो ‘पब्लिक’। सेलेब्रेटीको जिन्दगीमाथिको हक फिल्टरले छानीछानी सार्वजनिक सम्पत्ति बनाएको छ। यो पब्लिकले सेलेब्रेटीलाई यति सार्वजनिक बनायो कि गाली गरेर ज्यानै लिन सकियोस्। तर त्यति चाहिँ निजी छोडिदियो कि उनीहरू टाट पल्टिँदा, आफूले ऋण कत्ति बाँड्न नपरोस्।

पब्लिक चाहन्छ, सेलेब्रेटी त्यति धेरै आफ्ना होऊन्, जति बेला अवार्ड जितेर आउँछन्, आफ्नै चेलिबेटी भनेर गर्व गर्न सकियोस्। अनि त्यति धेरै पराई रहून्, सानो गल्ती गरे भने आफ्ना चेलिबेटीले सुन्नै नसक्ने गाली गर्न सकियोस्।

पहिलो त यो पब्लिकका बीचमा सेलेब्रेटी चिन्न गाह्रो छ। बन्न, त्योभन्दा झन् मुश्किल। तर बन्नु र चिन्नुभन्दा कठिन अर्कै छ- सेलेब्रेटी भइसकेपछि आफ्ना छोराछोरी/आमाबुवालाई डरलाग्दो असर नपारी बचाउन। अनि आफ्नै दिमागलाई बहुलाउन नदिई बाँच्न।

यही बाँच्न नदिने पब्लिकबीच एउटा प्रसिद्ध आशीर्वाद छ, ‘खुब प्रगति गर्नू नानी। ठूलो मान्छे बन्नू, लोकले चिनोस्।’

आशीर्वादको ग्रेडिङ हुने हो भने, यो ए-प्लस पाउने आशीर्वाद हो। पुस्तौं पुरानो, हरेक पुस्तामा ‘पपुलर’।

बुझिने भाषामा, लोकले चिन्ने बन्नु भनेको सेलेब्रेटी बन्नु नै हो। हामीले जस्तै यो आशिष आफ्ना हजुरबा-हजुरआमाबाट सेलेब्रेटीकै छोराछोरीले पनि पाउँदा हुन्। मनोज गजुरेलकी छोरीले पनि यो आशिष पाउँदी हुन्। रामकृष्ण ढकालकी छोरीले पाउँदी हुन्।

ती अश्लील गाली पाउने, मजाक बनाइने सबै सेलेब्रेटीका छोराछोरी, भाञ्जाभाञ्जी, भतिजाभतिजी सबैले यो आशीर्वाद पाउँदा हुन्- ‘खुब प्रगति गर्नू नानी। ठूलो मान्छे बन्नू, लोकले चिनोस्।’

धन्न, आजसम्म कोही बच्चाले त्यो आशीर्वाद पाउनेबित्तिकै आशिष दिनेलाई यस्ता प्रश्न सोधेका छैनन् –

‘कति जनाले चिनेपछि लोकले चिन्ने भइन्छ?’

‘लोकले चिनेर म लोकको हुन्छु कि लोक मेरो?’

‘लोकले चिनेपछि मेरो जिन्दगी कति मेरो रहन्छ?’

‘धेरैले चिन्ने मान्छेमा, सबैको हक लाग्छ?’

‘लोकले रूवाएर म मरेँ भने लोकलाई पाप लाग्छ?’

धन्न सोधेका छैनन्। नसोधून् पनि।

किनकी प्रश्न सोधिहाले भने, आफूलाई लोकले चिनेकै कारण सुन्नुपरेका अश्लील गाली, आफूमाथि गरिएका भद्दा मजाक सम्झिएर ती सेलेब्रेटीले आफ्ना बच्चालाई के जवाफ देलान्?

किनकी प्रश्न सोधिहाले भने, लोकले चिन्ने मान्छेलाई आफूले गरेका गाली सम्झेर, आफूले सेयर गरेका भद्दा ‘मिम’ सम्झिएर, हामी हाम्रा बच्चाहरूलाई के जवाफ दिउँला?

ट्विटर @SrijanArt

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु