काठमाडौं- प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशका सचिव मधुसुदन बुर्लाकोटी साउन ३० गते कोरोना संक्रमित भए। होम आइसोलेसनमा बसेको करिब दुई सातापछि उनी भदौ १० गते संक्रमणमुक्त भएका छन्।

पहिलो दिन हल्का शरीर दुखाइबाहेक उनलाई अन्य दिन कुनै पनि लक्षण देखिएन। त्यसैले सावधानी अपनाउँदै होम आइसोलनमा बसे। होम आइसोलेसनमा रहँदा उनले मेडिकल उपचार गरेनन्। विभिन्न जडिबुटीको प्रयोग गरे र खानपानमा ध्यान दिए।

सचिव बुर्लाकोटी भन्छन्, ‘गुर्जो, बेसारपानी लगायत जडिबुटी खाएँ, बाहिर उपचार गरिनँ। निकै सावधानीपूर्वक होम आइसोलेसनमा बसेको थिएँ।’

करिब दुई साताको होम आइसोलेसन बसाइमा उनले केही तिता व्यवहारको अनुभव गरेका छन्। भन्छन्, ‘मलाई कोरोना भएपछि शिक्षित वर्गबाटै फरक व्यवहार पाएँ। सधैं सम्झिरहने साथीभाइले समेत कोरोना हुँदा कुरा गरेनन्।’

कोरोना संक्रमितहरु सामाजिक तिरस्कारको डरले पनि कमजोर हुने गरेको बुर्लाकोटी बताउँछन्। संक्रमण भएको बेलामा आफन्त तथा सामाजिक हौसला आवश्यक पर्ने उनको भनाइ छ।

संक्रमणमुक्त भएपछि उनी आफ्नो प्लाज्मा दान गर्न तयार छन्। भन्छन्- ‘मेरो रगत बि पोजिटिभ हो। अन्य संक्रमितको जीवन बचाउन म मेरो प्लाज्मा दान गर्न तयार छु।’

कोरोना संक्रमण कसरी भयो? होम आइसोलेसनमा रहँदा उनले केके उपाय र सावधानी अपनाए लगायत विषयमा उनले स्वास्थ्यखबरसँग आफ्ना अनुभव साटेका छन्। प्रदेश सचिव बुर्लाकोटीको अनुभव उनकै शब्दमाः

मलाई साउन ३० गते कोरोना देखिएको थियो। भदौ १० गते गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको छ।

कोरोना के–कसरी सर्छ भन्ने कुरामा म जानकार नै थिएँ। मैले आवश्यक सतर्कता पनि अपनाएकै हो। जानेसम्म आफूलाई सुरक्षित राख्न खोजेकै हो। कार्यालयमा कतिपय मानिससँग कामको सिलसिलामा भेट्नु पनि पर्छ। तर म कहाँ चुकें थाहा नै पाइनँ।

कोरोना लाग्ने बित्तिकै मरिहालिन्छ भन्ने एक किसिमको भ्रममा छौं हामी। तर त्यसो होइन। कोरोना पोजेटिभ हुँदा म झसंग भएको थिएँ। तर यसलाई जित्न सकिन्छ र जित्छु भन्ने आत्मविश्वासले म अघि बढें।

मलाई सुरुको दिनमा शरीर हल्का दुखेको थियो। तर त्यसपछि अरु कुनै पनि लक्षण देखिएन। त्यसैले होम आइसोलेसनमा बसें।

होम आइसोलेसनमा बस्दा मैले बाहिरको मेडिकल औषधि प्रयोग गरिनँ। गुर्जो, सञ्जीवनी, तेजपत्ता, तुल्सीको पात, बेसार र अदुवाको पानी खान्थें। तातो पानी खान्थें। अन्य आयुर्वेद औषधि पनि खाएँ।

कोरोना संक्रमितलाई हौसला र मनोबल आवश्यक पर्छ। समाजले यसको ठिक उल्टो व्यवहार गर्छ। मलाई अरु बेला धेरै जनाले फोन गर्थे। तर कोरोना संक्रमण भएदेखि सधैंजसो फोन गर्ने साथीभाइले पनि फोनबाटै कोरोना सर्ने जसरी व्यवहार गरे। बोल्न समेत खोजेनन्। मलाई त्यस्तो व्यवहार गर्नेहरु पढेलेखेका र शिक्षित नै हुन्।

त्यसैले कोरोना संक्रमित भाइरसले भन्दा पनि सामाजिक तिरस्कारको डरले आत्तिएर बढी बिरामी भएको जस्तो लाग्यो। संक्रमितलाई परिवार र समाजको साथ चाहिन्छ, तिरस्कार होइन।

यो १३ दिनको होम आइसोलेसनको बसाइमा मैले आफन्तको साथ र सहयोगको कति महत्वपूर्ण हुने रहेछ भन्ने अनुभव गरेको छु। त्यसैले यदि मेरो कोही आफन्त संक्रमित भए तिरस्कार होइन, हौसला दिन सम्भव भए भेट्न नै जान्छु।

संक्रमणको जोखिम र सम्भावना सबैलाई छ। त्यसैले हामी आतंकित हुने होइन, तिरस्कार गर्ने होइन, हौसला र मनोबल बढाउन आवश्यक छ। संक्रमितले पनि कोरोनालाई जित्छु भनेर आत्मविश्वास राख्नु जरुरी छ।

म अहिले संक्रमणमुक्त भएको छ। अब म मेरो प्लाज्मा दान गर्न तयार छु। स्वास्थ खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर