#
बिचार/ब्लग

कोरोना महामारी र नेपालको भविष्य

  सवाल नेपाल   १६ भाद्र २०७७, मंगलवार १०:५०

हेमराज सुवेदी,
विश्व मानव जातिले नयाँवर्ष भव्यताका साथ मनाउने तरखर गर्दैै थिए । उनीहरु सन् २०१९लाई वाईवाई गर्दै २०२०को व्यग्र प्रतीक्षामा थिए । विश्वव्यापीकरणको असर कुनै राष्ट्र,भाषा,धर्म,जात विशेषमा मात्र नपरेर सम्पूर्ण मानव जातिमा पर्देछ,त्यसैले विश्वमानवका लागि त्यो रात अरु रातहरु भन्दा बेग्लै थियो । उनीहरुले सुन्दर भविश्यको कल्पना गरे,उमङ्गका साथ मनाए, ह्याप्पी न्यु इयर २०२० ।

नयाँवर्षबाट मानिसहरुमा नयाँनयाँ कामको थालनी,आविष्कार, सिलान्यास गर्ने योजना बन्दै गए । शक्तिराष्ट्रहरु महाशक्ति बन्ने सुन्दर कल्पनामा तल्लीन रहे । नयाँ खोज अविष्कार र अनुसन्धानमा लाग्नु मानवीय विशेषता हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त घोषणा नै गरे अमेरिका इज अल्वेज फस्ट(अमेरिका सधैं प्रथम) । हो, अमेरिका सधै नभए पनि द्वितीय विश्वयुद्ध पश्चात् सबै कुुरामा प्रथम नै थियो ।

त्यसो त चीन पनि आफ्नै सुरमा महाशक्ति बन्ने दाउमा अगाडि बढ्दो छ । सोभियत संघको विघटन पश्चात अमेरिका विश्वमा एकमात्र महाशक्तिको रुपमा स्थापित भएको छ ।उता जापान,इरान,भारत,रुस शक्ति राष्ट्रको दौडमा छन् । आज महाशक्ति र शक्ति राष्ट्रहरुमात्र होइन सम्पूर्ण मानव जातिमा नै प्रकृतिमाथि छोटो समयमा विजय प्राप्त गरेको दम्भ छ ।

हुन पनि समुन्द्रमा बाँध बाँध्न,चन्द्रमामा रकेट पु¥याउन, मङ्गल ग्रहमा बस्ती बसाउन मानव सफल भइसकेको छ । अझ रोबर्टको आविष्कारले त मानवजीवन निकै सहज बनेको छ । एक प्रकारले मानिसले प्रकृतिलाई आफ्नो नियन्त्रणमा लिएको छ ,मुठ्ठीमा अँठ्याएको छ । पहिलो गाँसमै ढुङ्गा भनेझै नयाँवर्ष २०२०को तेस्रो दिन इरानका सैन्य जनरल कासिम सुलेमानीलाई इराक गएको मौका छोपी अमेरिकाले ड्रोन आक्रमणबाट विमानस्थलमै मारिदियो । यस घटनाले विश्वमा तनाबको वातावरण सिर्जना भयो ।

अमेरिका र इरानबीच लामो समयदेखि देखापर्दे आएको शीतयुद्ध कतै युद्धमै परिणत हुने त होइन भन्ने भय र त्रास विश्व राजनीतिक रङ्गमञ्चमा देखा प¥यो । उता विश्वको दोस्रो शक्तिराष्ट्र चीन भने संसारले भव्य रुपले नयाँ वर्ष मनाइरहँदा गम्भीर चिन्तामा थियो । उसका आँखाहरु लोलाएका थिए,मनहरु टोलाएका थिए ,जब जनवरी पहिलो हप्ता नै बुहान सहरमा नयाँ महामारी देखा प¥यो ।

यस घट्नाले सुरुका दिनमा चीन विचलित बन्यो । उसले यस कुराको जानकारी विश्व स्वास्थ्य संगठन र विश्वजगत्लाई समेत नगराएको होइन तर सुरुमा दुनियाँले यो केवल चिनको मात्रै समस्या हो जस्तो व्यावहार ग¥यो । विस्तारै २ महिनाको समयावधिमा महामहारीले संसारलाई गाँज्यो । त्यसोे त ५ जनवरी २०२०मै कोरोनाकै कारण १ जना व्याक्तिको निधन भएपछि यस महामारीलाई अन्त फैलिन नदिन चीनले लकडाउनको रणनीति अपनायो यस कुरालाई सुरुका दिनमा पश्चिमी राष्ट्रहरुले बेवास्ता मात्रै गरेनन् खिल्लीसमेत उडाए जसका कारण रोगले फैलिने र फ्रस्टाउने मौका पायो ।

त्यसोत डिसेम्बर दोस्रो साता नै चिनियाँ डाक्टरले कोरोना महामारी पत्ता लगाउँदा समेत राज्यले यस कुराको जानकारी बाहिरी संसारलाई नदिएको कारण पनि रोगले फैलिने र फस्टाउने मौका पाएको हो । हिजोे कोरोना कहरको बेवास्ता गर्ने पश्चिमा राष्ट्रहरु नै आज बढी प्रताडित र पीडित छन् ।इटली,फ्रान्स,अमेरिका बेलायत भारत आदि विकसित राष्ट्रहरुले धेरै क्षति व्यहोर्नु परेको यस घडीमा विश्व स्वास्थ्य संगठनले यस महामारीलाई कोभिड–१९ नामाकरण गरेको छ ।

आज सात महिनामा ७ लाख भन्दा बढी मानिसको मृत्यु यसै रोगका कारण भएको छ । ३ करोड भन्दा बढी मानिसहरु यस रोगबाट संक्रमित छन् । हो,विश्व आज सुनसान छ ।शक्ति राष्ट्रहरुको तमासा रोकिएको छ,व्यापारिक भी.आइ.पीहरु लल्याकलुलुक भएका छन्।पृथ्वी टक्क अडिएको छ ।विज्ञान र प्रविधि ट्वाल्ल पर्दो छ ।

अन्तरिक्षमा प्लटिङ गर्न खोज्नेहरु पृथ्वीमै आफ्ना लागि ६फिट जमिनको सुरसार गर्देछन् । जे होस् आशाको त्यान्द्रो च्वाट्टै चुडिएको भने छैन ।आकाश शान्त छ । अझै सङ्लिदै गएको छ ।ओजन तह बाक्लिदैं गएको छ । पृथ्वीले भने हलुका सास फेरेको छ ।कोरोना भन्छ,ए मानव ! मलाई तिमी बाटो छेकेर रोक्न नखोेज बरु भाग,लुक,मसँग पौंठेजोरी खेल्न नखोज,नजर बन्दमा बस कित सधैंका लागि आफ्नो अस्तित्व मेटाऊ ।

त्यसैले विश्व भन्दैछ–लक डाउन ! लकडाउन !! लकडाउन !!! एकातिर मानिस त्रसित ,पीडित,विक्षिप्त बन्दैछ अर्कातिर प्रकृति निकै उन्मत्त हुँदैछ ।चराचुरुङगी र जनावरहरु स्वच्छन्द रुपले लुकामारी खेल्दै छन् । आकाश शान्त र सफा छ,मानिसको उपनिवेशबाट मुक्ति पाएका अनुभव गर्दैछ प्रकृति ।

धरतीमा अब ग्लोवल इमरजेन्सी सुरुभयो ।महामारीले दुनियाँ उदास छ,निराश छ ,ठप्प छ । मानिस त्रास र करुणमा बाँच्न विवश छ ।मृत्यु विभीषिकाबाट उम्कन छटपटाइरहेको मानव मौन छ,शान्त छ ,निरीह छ । उसका शास्त्राश्त्र र प्रविधिका कलपूर्जा खिया लागेजस्तै भएका छन् । सायद लकडाउनको मर्म सुरुमै बुझिएको भए इटली सहरले सुनसान हुनु पर्ने थिएन,पेरिस सधैं रङ्गैरङ्गमा मुस्कुराउथ्यो होला ! अमेरिका तुवाँलो लागेको बस्ती जस्तो उदास र निराश हुने थिएन सधैं फस्ट हुन्थ्यो नै होेला ।

हाय ! बिडम्बना !! मानिसको दम्भ दैवीशक्ति सामु घुँडा टेक्न बाध्य छ । प्राकृतिक तथा दैवी शक्तिलाई जस्तो सुकै आविष्कार र शस्त्रास्त्रले रोक्न र छेक्न सक्दैन । मानिस भने सयौं वर्षदेखि असफल प्रयत्न गर्देछ । जब प्रकृति आफूमाथि अत्याचार भएको अनुभव गर्छिन् सजायको लाठ्ठी बर्साई हाल्छिन् ।

आजको मानिस आधुनिक प्रविधिहरु र विश्व परम्पराले निर्देशित भविष्यका बिम्बहरुमा बाँचिरहेको छ। मानव जीवन अखण्ड समय र असीम धरतीका आख्यानहरुले निर्देशित छ । कुनै दिन कोरोना पनि आख्यान बन्नेछ । जसले असीम धरती,अखण्ड समय र बलवान् नियतिको गठजोर मानव भएर विवेकशील भविष्यले पुर्नेछ । कोरोनाबाट पीडित र प्रताडित सजीव मानवीय अनुभवहरु नै भोलि कलात्मक प्रकाशन बन्नेछन् मानवले विगतका गल्ति,अविवेक र अमानवता चटक्कै भुलेर बाँच र बाँच्न देऊको भावना आत्मसात गरोस् हिमालमा हिँउ जमी नै रहोस् ,चराचुरुङ्गी र कीटपतङ्गले पनि बाँच्न पाऊन् । मानिस आफ्नै घेरामा बसोस् । आकाश सफा होस्, प्रकृति सुन्दर होस् ,पशुपंक्षी स्वच्छन्दसँग रमाउनु । मानवीय क्रुर हस्तक्षेप बन्दहोस् । मानवले गरेका पटकपटका गल्तीले फेरि अर्को भुललाई सच्याउनु नपरोस् ।

कोरोना नेपालको लागि डर होइन अवसर हो । वि.सं २०७६ चैत्र ९ गतेदेखि नै सर्तकता अपनाउन थालेको नेपालले ११गतेबाट लकडाउन गरेको र त्यसको तेस्रो चरण पार गरिसक्दा त्यति ठूलो हानी नोक्सानी नहुन साँच्चै भगवान पशुपतिनाथ र प्र्रकृतिनाथकै कृपा हो । भौतिक प्राविधिक र आर्थिक रुपले नेपाल कोरोनाको सामना गर्न असमर्थ छ । स्वास्थ्य सामग्री,पर्याप्त चिकित्सकहरुको अभाव ,र आर्थिक विपन्नता कोरोना सामनाका लागि अभिसाप हुन्, त्यसैले नेपालको एकमात्र विकल्प लकडाउन हो , सामाजिक दुरी कायम गर्नु र सरसफाईमा ध्यान दिनु नै हो । हाम्रो छिमेकी राष्ट्र भारतले पनि २२ मार्च २०२० का दिन जनता कफ्र्यु लगाएर त्यसको निरन्तरता दिंदै २५ मार्च सम्म लगेर हाल सम्म विभिन्न चरणमा लकडाउन गरेको छ ।

संसार सकसमा उकुस मुकुस छ यस्तो जटिल परिस्थितिमा नेपालको अवस्था निकै जटिल र कटिल छ । कोरोनाको उद्गम स्थल चिन उत्तरी छिमेकी हो भने खुला सिमाना जोडिएको कारण नेपाल भारतका जनता निरन्तर आउजाउ गर्दैछन् । अत् ः उत्तर भन्दा दक्षिणतिरबाट नेपालले बढी खतरा मोल्नु पर्ने अवस्था छ ।

अवको नेपाली समाज पुर्नजागरण हुन सक्छ । यहाँ देवकोटा,सम र लेखनाथ जन्मन सक्छन ्।आर्थिक आत्म निर्भरता बढ्न सक्छ । कृषिको महत्व बढ्न सक्छ । नयाँनयाँ अविष्कारको सिर्जना हुन सक्छ । राजनीतिक र प्रशासनिक क्षेत्रमा समेत मितव्ययिता,पारदर्शिता र प्रभावकारितालाई उच्च प्रातथमिकतामा राख्नु पर्ने हुन सक्छ । एक्काइसौं शताब्दी एसियाली शताब्दी भएमा नेपाल विश्वका जनताको गन्तव्य हुन सक्छ त्यसैले कोरोना नेपालका लागि अभिसाप होइन बरदान हुन सक्छ ।

यदि लकडाउनलाई राम्ररी व्यवस्थापन गर्न सके नेपालीले जीवन निर्वाहका लागि विश्व बजारमा दौडिनु पर्ने छैन तर त्यसो नभएमा बेरोजगारी आपूर्तिको अभाव र पूँजीको कमीलाई व्यहोर्नु पर्ने छ । संसारभरि छरिएका युवा जमात नेपाल प्रवेश गरेपछिको सामाजिक र राजनीतिक उथलपूथल रोक्न गाह्रो हुन सक्छ ।

उपभोक्ता बादी संस्कृतिको अन्त्य हुने ,मानिसको स्वास्थ्य पहिलो प्राथमिकतामा पर्ने ,भू–मण्डलीकरणप्रति को विश्वास घट्ने, विश्व व्यवस्थामा परिवर्तन हुन सक्छ । संसार केही समय डरै डरमा पिल्सीने छ । अवको दशकमा पुँजीको दौड र रफ्तार अरवी घोडा जस्तो हुने छैन यी कुराहरुको व्यवस्थापन गर्नसके नेपालका लागि भने सम्भावना नै संभावना देखिन्छ तर धैर्यता आवश्यकता छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु