#
बिचार/ब्लग

कोरोना विरुद्धको औषधि : कहाँ पुग्यो खोपको प्रक्रिया, कहिले आइपुग्ला नेपाल ?

  डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)   २५ भाद्र २०७७, बिहीबार १४:३२

निष्क्रिय भाइरस वा यसको जिन वा प्रोटिनको अंशलाई अर्को कमजोर भाइरसमा राखेर खोप निर्माण गरिन्छ । जब खोप स्वस्थ व्यक्तिलाई दिइन्छ, व्यक्तिको शरीरले भाइरस विरुद्धको एन्टिबडी विकास गर्दछ । एकपटक एन्टिबडी सक्रिय भएपछि भाइरस हाम्रो शरीरभित्र पस्यो भने हाम्रो रोग प्रतिरोध प्रणालीले त्यो भाइरसलाई पहिचान गर्दछ । त्यसपछि एन्टिबडी उत्पादन गरेर भाइरसलाई नष्ट गर्दछ ।

एक पटक खोप लगाएपछि यसले १ वर्ष वा सम्पूर्ण जीवनको लागि काम गर्न सक्दछ । यदि सीमित समय काम गर्‍यो भने खोपको ‘बुस्टर डोज’ दिनुपर्दछ । भाइरसमा आनुवंशिक परिवर्तन हुन सक्दछ, त्यसैले हाम्रो प्रतिरक्षा शक्तिलाई सम्झाउन फेरि खोप दिनुपर्ने हुन्छ ।

भाइरस विरुद्धको औषधि किन प्रभावकारी हुँदैनन् ?

भाइरस शरीर बाहिर बाँच्न सक्दैनन् । तिनीहरूसँग जीनोम डीएनए वा आरएनए हुन्छन् । तर स्वतन्त्र रूपमा बढ्न सक्दैनन् । भाइरसहरु बाँच्नका लागि हाम्रो कोष आवश्यक पर्दछ । भाइरसले हाम्रा कोष प्रयोग गरेर आफ्ना गतिविधि तथा संख्या बढाउने काम गर्दछन् । त्यसकारण हाम्रो कोषलाई हानी नगर्ने तर भाइरसलाई नष्ट गर्ने औषधि बनाउन गाह्रो हुन्छ ।

अर्को कुरा भाइरसले आफ्नो स्वरूप परिवर्तन गरिरहन्छन् । एउटा स्वरूपको लागि तयार गरिएको औषधि वा खोपले अर्को स्वरूप धारण गरेको भाइरसलाई नष्ट गर्न सक्दैनन् । भाइरसहरू हाम्रो कोषभित्र लुक्ने भएकाले एन्टिबडी उत्पादन गर्न गाह्रो हुन्छ ।

‘ब्याक्टेरिया’ आफैंमा जीवित हुने तथा आफ्नै प्रणाली हुने भएकाले हाम्रो कोषलाई हानी नगरी ब्याक्टेरिया मार्न सकिन्छ । तर भाइरस हाम्रो कोषभित्र प्रवेश गरेर हाम्रै प्रणाली प्रयोग गरेर अस्तित्वमा रहने भएकाले भाइरस विरुद्धको औषधिले हाम्रो कोषलाई पनि नष्ट गर्ने जोखिम हुन्छ ।

अहिले विश्वमै कोभिड १९ विरुद्ध प्रयोग गरिएको एन्टिभाइरल औषधि रेमडेसेभिर चर्चामा आएजति प्रभावकारी छैन । अनुसन्धानले देखाएको छ, रेमडेसेभिरको प्रयोगले १५ दिनको अस्पताल बसाइलाई घटाएर ११ दिनमा पुर्‍याउन मद्दत गरेको छ ।

कोरोना भाइरस विरुद्धको खोप आउन किन ढिलो भएको हो ?

सामान्यतया प्रक्रियासम्मत खोप बन्नको लागि ४ देखि १० वर्ष लाग्दछ । अहिले कोरोना संक्रमणको महामारी विश्वभर फैलिएको हुँदा हरेक देश ठूलो क्षतिमा छन् । जनजीवन सामान्य छैन । तसर्थ विकसित देशले ‘फास्ट ट्रयाक’बाट खोप बनाउनको लागि एकातर्फ खर्बाैं डलर लगानी गरेका छन् भने अर्कोतर्फ प्रक्रिया छोटो गराएर अघि बढ्न सहजीकरण गरेका छन् ।

खोपको लागि सहयोग र समन्वय गर्ने संस्थाहरु

जनावरमा खोपको परीक्षण गरेर परिणाम हेर्दै खोप प्रभावकारी बनाउँदै अर्को जनावरमा प्रयोग गर्ने लामो प्रक्रिया छोटो बनाएका छन् । मान्छेमा परीक्षण गर्दै नतिजा अनुसार खोपलाई प्रशोधन गर्दै यथेष्ट समय लिएर गर्नुपर्ने अनुसन्धानलाई पनि ‘फास्ट ट्रयाक’मा अघिं बढाएका छन् । कोरोनाको खोपमा काम गरिरहेका विश्वका १७० ल्याबमध्ये ३४ वटा ल्याबले मान्छेमा परीक्षण गरिरहेका छन् । तीमध्ये ८ वटा ल्याबले तेस्रो फेज अर्थात अन्तिम फेजको परीक्षणमा छन् । ती ल्याबले डिसेम्बरसम्म केही करोड डोज उत्पादन गर्ने जनाएका छन् भने फुल फेजमा खोपको उत्पादन तथा वितरण हुन २०२१ को मध्यसम्म लाग्ने बताएका छन् ।

फास्ट ट्रयाकबाट काम गरेको हुँदा कोरोना भाइरस विरुद्धको खोप कति प्रभावकारी हुने हो भन्ने विषयमा वैज्ञानिकबीच मतान्तर देखिएको छ ।

तथापि बेलायतको अक्सफोर्ड युनिभर्सिटी, अमेरिकाको मोडेर्ना, जर्मनीको बायोटेकको फाइजर, चीनको क्यान्सिनो तथा सिनोफार्म, रुसको गामेलिया लगायतका केही खोप छिटो आउने विश्वास गरिएको छ । इनोभियो, युनिभर्सिटी अफ क्वीन्सल्यान्ड इन अस्ट्रेलिया, जोनसन यान्ड जोनसन, सनोफी लगायतका संस्थाले पनि आशालाग्दो रूपमा खोप परीक्षण गरिरहेका छन् ।

पहिलो चरणको खोप कसले पाउँछ ?

खोप उत्पादक कम्पनीले ज्येष्ठ नागरिक, दीर्घ बिरामी, बालबालिका, ‘इम्युनो कम्प्रोमाइज’ भएका व्यक्ति, अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी, शिक्षक, जोखिम क्षेत्रमा काम गर्ने कामदार तथा वृद्धाश्रममा बस्ने व्यक्तिलाई पहिलो चरणमा खोप दिने बताएका छन् । यथेष्ट मात्रामा खोप उत्पादन भएपछि आम नागरिकलाई अभियानको रूपमा खोप दिने बताइएको छ ।

बालबालिका तथा युवामा जुन डोजले काम गर्छ, ज्येष्ठ नागरिकलाई त्यही डोजले काम नगर्न सक्छ । यस्तो अवस्थामा ‘बुस्टर डोज’को आवश्यकता पर्न सक्छ । अमेरिकाले पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम वर्गमा रहेका व्यक्तिलाई खोप दिने जनाएको छ भने दोस्रो चरणमा शिक्षक, होमलेस सेल्टरमा रहने, अत्यावश्यक कामदार तथा कैदीलाई दिने बताएको छ । तेस्रो चरणमा बालबालिकालाई र चौथो चरणमा वयस्कलाई दिने प्राथमिकता निर्धारण गरेको छ । प्रारम्भिक लक्ष्य २०२१ को अन्त्यसम्म २ अर्ब डोज उत्पादन गर्ने तथा उच्च जोखिम र जोखिममा पर्ने वर्गको साथै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई खोप दिने गाभीले बताएको छ ।

खोपको मूल्य तथा वितरण

विकसित देशमा खोपको मूल्य तुलनात्मक रूपमा उच्च हुनेछ भने नाफारहित संस्था गाभी (ग्लोबल एलाइन्स अफ भ्याक्सिनेसन एण्ड इम्युनिजेसन) ले अल्पविकसित ९२ वटा देशमा निःशुल्क वा नगण्य शुल्कमा खोप उपलब्ध गराउने छ । यसको लागि बिल गेट्स एण्ड मेलिन्दा फाउन्डेसन लगायतका दाताले गाभीलाई अर्बाैं डलर डोनेसन गरेका छन् । टेक्सासए एण्ड एम युनिभर्सिटिका वैज्ञानिक डा. देवेन्द्र पाण्डेका अनुसार बालबालिकालाई आधारभूत खोप दिँदा अमेरिका लगायत देशमा ११०० डलर खर्च हुन्छ भने उक्त संस्थाको डोनेसनका कारण एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकामा ती खोपलाई जम्मा २ डलरमा उपलब्ध गराइएको छ ।

नेपाल पनि गाभीको सदस्य राष्ट्र हो । नेपालले पनि कोरोना भाइरस विरुद्धको खोप निःशुल्क वा एकदम सस्तो मूल्यमा पाउनेछ । युनिसेफले खोप व्यवस्थापन तथा वितरणमा सहयोग गर्ने जनाएको छ ।

करीब ७०% जनसंख्यालाई खोप लगाउन सकेमा बाँकी ३०% व्यक्तिले ‘हर्ड इम्युनिटी’ विकास गर्ने जनाइएको छ । छोटो समयमा विश्वका ७०% जनतालाई खोप पुर्‍याउनु निकै कठिन हुनेछ ।

खोप र सुरक्षा

खोप उत्पादन भएपछि खोपले कति प्रतिशत काम गर्छ ? कुन–कुन वर्गलाई काम गर्छ ? यसको नकारात्मक असर के के हुन्छन् ? कति वर्ष काम गर्छ ? लगायतका धेरै प्रश्नको उत्तर पाउन खोप लगाएको केही वर्ष लाग्नेछ । चीनले आफ्नो देशमा बनेका खोपले ३ वर्षसम्म सुरक्षा दिने बताएको छ । चीनले हजारौंलाई आफ्ना खोप दिइएकोमा कसैमा नकारात्मक प्रभाव वा संक्रमण नभएको जनाएको छ । विज्ञले फ्लु भ्याक्सिनले जस्तै १ वर्ष काम गर्न सक्ने र त्यसपछि ‘बुस्टर डोज’ लगाउनुपर्ने बताएका छन् ।

अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तीसौं हजारमा गरिरहेको परीक्षणमा १ जना व्यक्तिमा गम्भीर असर देखिएकाले हाललाई परीक्षण स्थगित गरेको छ । यसको विस्तृत अध्ययनपछि आवश्यक परे प्रशोधन गरेर खोप परीक्षणलाई निरन्तरता दिनेछ्र ।

विश्व स्वास्थ्य संगठनले खोपले सबै चरण सफलतापूर्वक पार गरेका तथा वैज्ञानिक दृष्टिकोणले सुरक्षित र प्रभावकारी खोपलाई मात्र आम मानिसमा लगाउन स्वीकृति दिने बताएको छ । २०२१ को मध्यसम्म खोप निर्माण भएर वितरण हुने विश्व स्वास्थ्य संगठनले आशा व्यक्त गरेको छ ।

खोप र राजनीति

अमेरिकामा राष्ट्रपतिको चुनाव आगामी नोभेम्बरमा छ । त्यसअघि केही करोड अमेरिकनलाई खोप दिने प्रयत्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सक्रिय छन् । उनले अर्बाैं डलर विभिन्न खोप निर्माता कम्पनीसँग अंशियारको रूपमा लगानी गरेर आफ्नो हिस्सा सुरक्षित गरेका छन् । उनको यो हतारलाई अमेरिकाभित्र तथा बाहिर आलोचना गरिएको छ । खोपले आफ्नो प्रक्रियाको लागि लिने समय घटाउँदा खोप प्रभावकारी तथा सुरक्षित नहुने वैज्ञानिकहरूले बताएका छन् ।

रुसी राष्ट्रपति पुटिनले अक्टुबर ११ मा रुसले खोपको आविष्कार गरेको दावी गरेका थिए । साथै रुसले स्पुत्निक–भीखोपको बुकिङ पनि शुरू गरेको छ । पुटिनको घोषणापछि खोप निर्माणमा संलग्न वैज्ञानिक तथा अन्य देशका विज्ञले आलोचना गरेका थिए । जम्मा ३८ जनामा पहिलो र दोस्रो चरणको मात्र ‘क्लिनिकल ट्रायल’ गरिएको, वैज्ञानिक जर्नलमा पियर रिभ्यु प्रकाशन नगरेको तथा तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ नगरेको भनेर खोपको आलोचना भएको थियो ।

अहिले रुसले खोपको दोस्रो चरणको ‘क्लिनिकल ट्रायल’को रिपोर्ट वैज्ञानिक जर्नलमा प्रकाशित गरेको छ । साथै तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ शुरू गर्ने जनाएको छ ।

पश्चिमा वैज्ञानिकले चीनले विकास गरेको खोप पारदर्शी नभएको बारम्बार भनिरहेका छन् । भारतले अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको खोप, रुसले विकास गरेको खोप तथा स्वयं आफूले निर्माण गरिरहेको खोपलाई ‘खोप कूटनीति’ अनुसार छिमेकी देशलाई वितरण गर्ने विश्लेषकको मत छ ।

खोप निर्माणमा लगानी गरेका राष्ट्रहरू, खोप किन्न सक्ने राष्ट्रहरू तथा अल्पविकसित राष्ट्रहरू जसले खोप किन्न सक्दैनन् यी ३ वर्गका देशलाई कसरी समानुपातिक ढंगले वितरण गर्ने भन्ने विषयको नेतृत्व कोभ्याक्सले गरेको छ । अल्पविकसित राष्ट्रलाई आफ्नो जनसंख्याको २०% खोप पहिलो चरणमा प्रदान गरिने गाभी तथा कोभ्याक्सले जनाएका छन् । उत्पादन बढ्दै गएपछि बाँकी खोप उपलब्ध गराउने रणनीति गाभी, कोभ्याक्स लगायत संघसंस्थाले अपनाएका छन् ।

कोरोना भाइरस विरुद्धको खोप आएपछि यो महामारीबाट विश्वले मुक्ति पाउनेछ । त्यो बेलासम्मको लागि सबै नागरिकले जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो जीवन तथा जीविका बचाउनुको विकल्प छैन । यदि सबै नागरिकले सही तरिकाले अनिवार्य रूपमा मास्क लगाउने तथा भीडभाड नगर्ने हो भने यो महामारी छिट्टै नै नियन्त्रणमा आउनेछ । जनस्वास्थ्यका मापदण्डलाई हामीले जीवनशैलीको रुपमा अवलम्बन गर्‍यौं भने खोप आउन ढिलो भएपनि हामीलाई जोखिम हुने छैन ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु