#
मनोरञ्जन

रिया चक्रवर्ती प्रकरणले उनलाई नभई समाजको विकृति र स्त्री द्वेषलाई पर्दाफास गरेको हो

  एजेन्सी   २९ भाद्र २०७७, सोमबार १७:२५

रिया चक्रवर्ती गिरफ्तार भइन् । पछिल्लो ८५ दिनदेखि अनेक टिभी च्यानल जसरी एक महिलामाथि बर्सिए, त्यो हेर्दा यस्तो लाग्छ कि रियामाथि आरोप लगाइनु र अन्त्यमा उनको गिरफ्तारी हुनु सन् २०२० को सबैभन्दा महत्वपूर्ण घटना थियो ।

के कोभिड–१९, के लकडाउन, के प्रवासी मजदुरको भोकमरीको अत्यधिक समस्या, के देशको अर्थव्यवस्थामा अभूतपूर्व क्षती, के चीनको लद्दाखमा अतिक्रमण, एक्ली रिया सबैमाथि भारी भइन् ।

यो गिरफ्तारीमा के कुरा विशेष थियो ? के यो देशको पहिलो गिरफ्तारी थियो ? के यो देशको पहिलो लागूऔषध मुद्दा थियो ? होइन !

नयाँ सरकारी आँकडा अनुसार सन् २०१८ मा एनडीपीएस एक्स अनुसार ४९ हजार ४ सय ५० मुद्दा दर्ता थिए जसमा कूल ६०,१५६ गिरफ्तारी भएका थिए । त्यसो भए यो गिरफ्तारीमा यस्तो हंगामा किन ?

तर केही च्यानलका अनुसार ‘बिहारका छोरा’ लाई न्याय दिलाउनु भन्दा अरु केही कुरा पनि महत्वपूर्ण थिएन र यसका लागि रियाको गिरफ्तारी आवश्यक थियो ।

तसर्थ मेरो सुझाव यो छ कि सरकारले ‘कोरोना वारियर्स’ लाई झैं यी ‘रिया वारियर्स’ ले पनि उनलाई पक्राउ गराउनका लागि यति घोर श्रम गरेका छन्, तसर्थ समस्त देशवासी एक साँझ आफ्नो बालकोनीमा उभिएर थाली बजाएर बेमौसमी दियो बालेर उनीहरुप्रति आफ्नो हार्दिक आभार व्यक्त गरोस् ।

च्यानलका उद्घोषकले यस्तो व्यवहार गरिहेको थिए कि उनीहरुलाई स्टूडियोमा नै हिस्टेरियाको अट्याक आयो – एक प्राणीले त ‘मलाई ड्रग्स देउ, मलाई ड्रग्स देउ’ को नारा लगाउन थाले ।

सानोभन्दा सानो कुरालाई पनि यसरी दमदार तरिकाले पेश गरिँदै छ कि एंकर–रुपधारी जासुस महोदय केसको खुलासा गर्नै लागेका छन् ।

वास्तविकता यो हो कि एक नायकको अस्वभाविक मृत्यु वा उनकी पूर्व प्रेमिकाको त्यसमा कथित भूमिका मुख्य मुद्दा थिएन ।

वास्तवमा यो प्रकरणमा मानिसहरुले यति विघ्न रुची लिनु जनमानसको सामूहिक अवचेतनमा लुकेको विकृति र मिसोजिनी (स्त्री द्वेष) को प्रमाण र परिणाम दुबै थिए ।

करोडौं दर्शक रियाको रगतका यसरी प्यासी भइरहेका थिए कि यस्तो लागिरहेको थियो कि मृत्युको नाच चलिरहेको छ ।

यो देशले सामाजिक प्रगतिको जति पनि झुटो दाबी गरेपनि जब महिलाको कुरा आउँछ तब बहुसंख्य मानिसहरुलाई सासु–बुहारी टाइपका टिभी सिरियलमा देखिने डेढ किलो गहनाले लादिएका, सिउँदोमा डेढ सय ग्राम सिन्दुर लगाएका, दिनभरी केही काम गर्नुको साटो षड्यन्त्र रच्ने वा सासुको षड्यन्त्रसँग संघर्ष गर्दै समय बिताउनेहरु र राती सुत्दा पनि कांजीवरम साडी लगाएर सुत्ने आर्दश महिला नै मन पर्छन् ।

एक यस्ती युवती, जो आफ्नो तरिकाले बाँच्न चाहन्थिन्, जो विवाह नगरीकनै युवकसँग सँगै बस्न सहज थिइन् र जसले आफ्नो मर्जीले उसँग सम्बन्ध तोडिदिइन् पनि, मानिसहरुलाई असाध्यै मन परिनन् ।

उनलाई विषकन्या, डायन, के के मात्रै भनिएन । जो घरको चार पर्खालमा कैद महिलालाई आदर्श स्त्री मान्छन् उनका लागि रियाको जीवनशैली नै उनी अपराधी हुनुको प्रमाण थियो ।

च्यानलले जनतालाई आफ्नो कहानी सुनाए । एक चालू युवतीले एक सोझो युवकलाई औषधी खुवाए वा बंगलामा कालो जादूबाट आफ्नो वशमा गरेर सबै पैसा हडपिन् र त्यसपछि उनलाई ठेगान लगाइदिइन् ।

मानिसहरुले कहानीलाई वेद वाक्य मानेर राम्रोसँग स्विकारे । अब जनताले यो सोध्न सक्दैनन् कि यस्तो कुन चाहिँ औषधी छ जसले एक ३४ वर्षका हट्टाकट्टा इन्जिनियरलाई वशमा पार्नका लागि महिनौंसम्म यत्तिकै दिन सकिन्छ ।

मिसोजिनी वा स्त्रीलाई निकृष्ट श्रेणीको मनुष्य मान्नु हाम्रो देशको अत्यन्त प्राचिन सामाजिक –सांस्कृतिक–धार्मिक परम्परा हो ।

आदि शंकराचार्यले आफ्नो ‘प्रश्नोत्तरी मणिरत्नमाला’ मा स्त्रीलाई नर्कको प्रधान द्वार भनिएको छ । ‘भज गोविन्दम’ मा उनले पुरुषलाई स्त्रीको स्तन र नाभीबाट मोहाविष्ट हुनबाट सावधान गरेका छन् ।

हाम्रो पूरा प्राचिन साहित्यमा स्त्रीले पुरुषलाई पतन मार्गमा लैजाने र उसलाई आध्यात्मिक उन्नती प्राप्त गर्न दिँदैनन् र स्त्रीको पूर्ण रुपमा त्याग गरेपछि मात्रै आध्यात्मिक उन्नती गर्न सक्ने बताइन्छ ।

हामी सबै अप्सराका ती कथासँग परिचित छन्, जसले ऋषि–मुनीलाई लोभ्याएर उनीहरुको तपस्या भंग गरिदिन्छन् । यो सबै मान्यताको परिणाम यो भयो कि पुरुषको अवचेतनामा स्त्रीका लागि सम्मान समाप्त भयो र उनको मनमा ग्रन्थी उत्पन्न भयो ।

यदि समस्त स्त्री ‘मोहिनी’ हुन्, उनीहरुको मुख्य उद्देश्य पुरुषलाई लोभ्याउनु हो भने तर्कका अनुसार उनीहरु यो मान्न बाध्य थिए कि उनीहरुका आमा पनि त्यस्तै थिए होलान् जसले उनीहिरुको पिताको धर्म भ्रष्ट पारेका छन् ।

 

जसले आफ्ना आमाको विषयमा यस्तो सोच्न सक्छन्, उनीहरुले अन्य महिलाको के सम्मान गर्लान् ?

यो पूरा प्रकरणमा मानिहरुले कानूनको एउटा साधारण कुरा पनि बुझिरहेका छैनन् । मान्नुहोस् कि रियामाथि सुशान्तका लागि ड्रग्स ल्याएको आरोप प्रमाणित भयो र यसका लागि उनलाई सजाय हुन्छ भने यसको अर्थ यो हो कि सुशान्त पनि यो अपराधमा बराबरको सहभागी थिए ।

हाम्रो समाजको मिसोजिनीलाई तपाईं अर्को भाषामा पनि बुझ्न सक्नुहुन्छ । मान्नुहोस् कि एक जोडी लिभ–इन सम्बन्धमा बस्छन् जसले ड्रग्स लिन्छन् । र पछि उनीहरुको सम्बन्ध टुट्छ ।

यदि केटाको सट्टा केटीले आत्महत्या गरेको भए पनि मानिसहरुले उसैलाई लागूऔषध दुर्व्यवसनी बताउँथे र केटालाई ‘त्यस्ती केटी’ बाट समय नै बच्न सकेको भन्दै स्याबासी पाउँथे ।

रिया पक्राउ मात्रै परेकी हुन् । अहिले उनको मुद्दामा उनीविरुद्ध चार्जशीट पनि पेश भएको छैन, यस्तोमा उनले सजाय पाउने त टाढाको कुरा ।

तरपनि अनेकौं च्यानलले रियाको सामूहिक निन्दा गर्नु र उनलाई लाज पचाएर खलनायिकाको रुपमा प्रस्तुत गर्नु शताब्दि पुरानो यस्तै मान्यताको परिणाम थियो ।

 

अब तपाईंले बुझ्नुभयो होला कि भरिएको सभामा द्रौपदीको अपमान गरिनु कुनै नौलो घटना थिएन । दुर्योधन र दुशासन अझै जीवित छन् र टिभी स्टुडियोमा पाइन्छन् ।

तपाईंले याद गर्नुभएको होला कि यी मानिसहरुले दर्शकलाई उत्तेजित गर्ने नियतले रियाको नीजि तस्बिर र भिडियो पनि असाध्यै देखाए जसमा उनी बिकिनी वा अन्य कपडामा थिइन् । यो सामूहिक भर्चुअल मोलेस्टेशन होइन भने के हो त ?

यी च्यानलले जनताको कानून सम्बन्धि अज्ञानको भरपुर फाइदा उठाए । नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियाले आफ्नो अपराध स्विकारेकी बताएको छ । यो आधारमा सबैले रियालाई दोषी माने ।

कसैले एकपटक पनि बताएनन् कि इन्डियन एभिडेन्स एक्स सेक्सन २५ अन्तर्गत प्रहरी समक्ष गरिएको अपराध स्विकृति अदालतमा मान्य हुँदैन । पुलिसको डरले कसैले जे पनि बोल्दा, त्यसको कुनै महत्व छैन ।

स्मरण रहोस् मध्यकालीन युरोपमा महिलालाई जादुगर बताएर यस्तै ‘विच ट्रायल’ हुन्थे जसका कारण पचासौं हजार महिलालाई खम्बामा बाँधेर जिउँदै जलाइन्थ्यो । त्यतिबेला पनि यातना दिएर महिलालाई अपराध स्विकार गर्न लगाइन्थ्यो ।

रियाको पनि मिडिया ट्रायल भएको होइन, विच ट्रायल भएको हो । यो पूरा प्रकरणमा च्यानलले र त्यहाँ आएर बढाई–चढाई बयान दिने प्रहरी अधिकारीले सर्वोच्च अदालतको तीन र केरल उच्च अदालतको एक आदेशको सरासर उल्लंघन गरेको छ ।

सर्वोच्च अदालतले अगस्ट २०१४, फेब्रुअरी २०१७ र सेप्टेम्बर २०१८ मा तथा केरल हाइकोर्टले अगस्ट २०२० मा स्पष्ट आदेश दिएका छन् कि अनुसन्धानको क्रममा मिडियाको ब्रिफिङमा नजाओस् ।

अदालतले यो पनि भनेको छ कि गिरफ्तार भएका व्यक्ति पछि गएर रिहा पनि हुनसक्छन् त्यसैले उनको अनुहार टिभीमा देखाउनु उनको प्रतिष्ठालाई सधैंका लागि ठेस् पुर्याउन सक्छ । तर यहाँ त च्यानलको हातमा हुँदो हो भने रियाको बेडरुमसम्म नै पुग्छन् ।

कोरोनाको समयमा जब जताततै सामाजिक दुरीको उपदेश दिइँदै छ, यस्तो समयमा यदि उक्त भीडभाडका कारण रियालाई कोरोना भयो भने यसका लागि को जिम्मेवार हुन्छन् ?

रियासँग जे पनि भएको छ, त्यसका लागि च्यानलमात्रै जिम्मेवार नभई, उनका दर्शक पनि त्यति नै जिम्मेवार हुन्छन् ।

तपाईंलाई थाहा होलाकी टिआरपीबाहेक यी च्यानलको आफ्नो राजनीतिक एजेन्डा पनि हुन्छ । तर उनीहरु मिडियाको सामाजिक दायित्व बताएर जानीजानी दर्शकको

अवचेतानामा लुकेको स्त्रीद्वेष र विकृतिलाई उचालिरहेका छन् ।

उनीहरुलाई थाहा थियो कि एक महिलालाई यसरी सामूहिक रुपमा प्रताडित भएको हेर्नु दर्शकलाई त्यसै आनन्दको अनुभूति भइरहेको छ जुन कुनैबेला अमेरिका र बेलायतमा मानिसहरुलाई सार्वजनिक रुपमा फाँसी दिएको हेर्दा लाग्थ्यो, जसका लागि उनीहरु मेलाजस्तै जुट्ने गर्दथे ।

पाठकले ध्यानमा याद राख्नुपर्छ कि रिया एक व्यक्ति हुन् । समाजमाथि यसले केही फरक पर्र्दैन कि उनी दोषी हुन्छिन् वा दोषमुक्त हुन्छन् ।

रियामाथि जे जति भयो त्यसले रियाको त्यति पर्दाफाश गरेन जति भारतीय समाजमा लुकेको विकृति र स्त्री द्वेषलाई पर्दाफास गरेर राखिदिएको छ ।

लेखक रिटायर्ट आइपीएस अधिकारी हुन् र केरलका प्रहरी महानिर्देशक र बीएसएफ र सिआरपीएफमा अतिरिक्त महानिर्देशकसमेत हुन् ।’

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु